ज्ञानेन्द्रको विज्ञप्ति, बाबुरामको रुवाई र नेपाली जनताको मनोदशा
हिजो ज्ञानेन्द्र शाहको बक्तब्य आयो। बक्तब्यमा उनले केहि जल्दाबल्दा कुरा उठाए। उनले जातीय सद्भाव भत्केको, देश अस्थिरताको चक्करमा फसेको जस्ता अहिलेका महत्वपूर्ण समस्याहरु बारे आफ्नो बक्तब्यमा उल्लेख गरे। अग्रगमन, परिबर्तन जस्ता नाराको आडमा राष्ट्रीयता कमजोर पार्ने खेल भैरहेको र अब त्यसको बिरुद्ध उत्रिनु पर्ने आह्वान समेत उनले गरे। उनले भनेका कुराले अहिले नेपालको राजनीतिमा एक किसिमको तरंग उत्पन्न गरेको छ। पक्ष र बिपक्षमा मात्र होइन तल्लो स्तरमा झरेर प्रतिक्रयाको ओइरो लागेको छ। एक सचेत नागरिकको हैसियतमा उनले बक्तब्य जारी गर्दा उफ्रिनु पर्ने कारण छैन भन्नेहरुको ठुलो जमात अहिले नेपाल र संसारभर फैलिएको छ। त्यस्तै प्रतिगामीले शिर उठाउन थालेको भनेर आलोचना पनि गरिएको छ।
पूर्ब प्रधानमंत्री बाबुराम भट्टराईले आफ्नो ट्विटरमा राजालाई गाली गरे। आफ्नो सत्ता फर्काउन बिदेश चहार्नेले राष्ट्रीयताको कुरा गर्न सुहाउँदैन भन्ने उनको आशय देखियो भने क्रांति पछि राजा यति स्वतंत्र भएको इतिहास कहीं नभएको उल्लेख गरेर राजालाई जेल नहालेकोमा त्यो कार्य उनीमाथिको कृपा भएको समेत आशय ब्यक्त गरेका छन। उनको यो ट्वीटको उत्तरमा धेरै मान्छेहरुले रीट्वीट गरेका छन। त्यस मध्य अधिकांशले पूर्ब राजालाई भन्दा बाबुरामलाई गाली गरेका छन। यसलाई उनले वा अरु कसैले जे जे भनेर कुतर्क गरे पनि नेपाली समाज अहिले बाबुरामहरुको राष्ट्रीयता प्रति त्यति सकारात्मक छैन। परिबर्तनको नाममा नेपालमा देखिएको विकृति बाबुरामहरुले लुकाएर लुक्न सक्ने अबस्था पनि छैन। नेपालको अहिलेको दर्दनाक अबस्थाको जवाफ नदिई ज्ञानेन्द्रको विज्ञप्तिको जवाफ दिएर प्रतिगमन वा अन्य कुनै नाममा जनतालाई तर्साउन सकिने अबस्था पक्कै छैन।
पक्कै एक नागरिकको रुपमा ज्ञानेन्द्र बोल्न स्वतन्त्र छन । उनको पुरानो हैसियतको कारण यसले अलि बढ़ी स्थान पाएको मात्र हो। उनले भनेका कुरा एक आम नेपालीको नजरबाट सतप्रतिशत सत्य छन। तर पूर्ब राजाको हैसियतमा भने उनले यो कुरा बोल्ने नैतिक धरातल बांकी छैन। नेपालमा लामो समय शाशन गरेको संस्थाले अहिले उत्पन्न परिस्थितिको जिम्मा पनि लिनु पर्छ। यो अबस्था आउनुमा अरु जसरी उनी पनि जिम्मेवार छन। आफ्नो हातमा सम्पूर्ण डाडु पनियों हुँदा केहि लछारपाटो लाउन नसक्नेले अहिले कुर्लेर कसैले पत्याउने वाला छैन। ज्ञानेन्द्रको नेतृत्वमा नेपालमा राजतन्त्रको पुनरागमन वा प्रतिक्रांति हुने संभावना शून्य छ। उनका अभिब्यक्तिले अर्को कुनै क्रान्तिको लागि आधार भने तयार पार्न सक्छ। अहिलेको परिबर्तनलाइ हामीले गरेको हो भनेर गफ गर्नेहरुको लागि भने यो चुनौती मात्र होइन खतराको घंटी पनि हो। नेपालमा गतिलो नेता भएको भए पक्कै परिस्थिति नयाँ भइसक्थ्यो।
अब नेपाली जनताले केहि गर्न ढीला भने भइसकेको छ। चरम भ्रस्टाचार, बेथिति र अस्थिरता ब्याप्त छ। सत्ता लगभग बिदेशीको हातमा छ। भारतीय राजदूत खुल्लमखुल्ला नेपालको राजनीतिमा हस्तक्षेप गर्छन। बिदेशी कूटनीतिज्ञहरु नेपालको संबिधान र नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेपकारी भूमिका खेल्छन। नेपाली जनता एक छाक खान नपुगेर बिदेशमा श्रम गर्न जान बाध्य छन। हरेक क्षेत्रमा मनपरी ब्याप्त छ।यति धेरै दल, समूह र संगठनहरु खुलेका छन कि तिनीहरुलाई सबैलाई चित्त बुझ्ने न संबिधान बन्छ न त नियम नै। मन परेन भने बन्द, चक्काजाम र ब्यक्ति हत्यामा लाग्छन। त्यसपछि बार्ता गरिन्छ र तिनका माग पूरा गरिन्छ। ती पूरा गरिएका मागहरु अर्को समूहको लागि नराम्रो हुन्छ। फेरी उनीहरुले आन्दोलन शुरू गर्छन। यसरी नै समस्या माथि समस्या थपिएका छन। कोही पनि आफ्नो पार्टी, संगठन, जात र क्षेत्र भन्दा देशलाई अगाडी राखेर काम गरेको पाइँदैन। आफ्नो मात्र स्वार्थ हेर्ने प्रबृति, सबै चीज आजै पाउनुपर्छ भन्ने खालको सोंचले समस्या झनझन बिकराल हुंदैछ।
यति हुँदा हुंदै पनि नेपालमा तत्काल केहि नयाँ भैहाल्ने परिस्थिति छैन। त्यसको कारण भरपर्दो कोही नहुनु नै हो। अंतिम बिकल्पको रुपमा कतिपयले सैनिक शाशनको समेत कुरा गर्छन तर नेपालको सेना पनि आफूमा आत्मनिर्भर छैन। हतियार मात्र होइन लगाउने कपड़ामा समेत बिदेशीको मुख ताक्नु पर्ने, तालीम अरुले नै दिनु पर्ने सेनाको लागि सत्ता चलाउने हदसम्मको क्षमता होला भन्नेमा धेरैलाई बिस्वास छैन। तर बढ्दै गएको अस्थिरता, छाड़ापन र बेथितिले मानिसहरु त्यो कल्पना समेत गर्न शुरू गरिसकेका छन।देश धराशायी हुन लागेको, सिक्किमिकरणको अंतिम रिहर्शल भैरहेको, धर्म, संस्कृति र सामजिक सद्भाव बिग्रिदै गएको बुझ्नेहरुको जमात ठुलो भइसकेको परिस्थितिमा “मरता क्या नहीं करता” भने जस्तै सैनिक शाशनको बिकल्प समेत स्वीकार्य नहोला भन्न सकिन्न। अब पनि नेपालका मै हुँ भन्ने नेताहरुले अरुलाई दोष थोपरर आफुले केहि नगर्ने हो भने त्यो दिन पक्कै आउनेछ। तर नेपाली जनता त्यो अंतिम बिकल्प प्रयोग गर्ने अबस्था नआओस भन्ने नै चाहन्छन।