अस्पताल सुधार गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन
भक्तपुर, २४ सङ्सिर । स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । आज भक्तपुर अस्पतालको निरीक्षणमा पुग्नुभएका मन्त्री थापाले अस्पताल अव्यवस्थितरुपमा चलिरहेको र अस्पताल फोहोर भएको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिनुभएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका प्रशासन शाखाका कर्मचारीलाई अस्पतालका सेवाहरूमा सुधार गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री थापाले अस्पताललाई सेवा विस्तार गर्न, अस्पतालको सेवामा सुधार गर्न आवश्यक प्रविधि ल्याउन र जडान गर्नलगायत अत्यावश्यक कार्यका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पताल व्यवस्थापन समितिका नयाँ अध्यक्ष तीन दिनभित्र पठाएर यस अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न आफू तयार रहेकाले त्यहीअनुसार लाग्न उहाँले निर्देशन दिनुभयो ।