नेपाली समाज टेक्सासको कानुन ब्यबसायी बिनोद रोक्का संग अन्तरक्रिया सम्पन्न
डिसेम्बर ३, डालस, टेक्सास। गत बर्ष नेपालमा विनाशकारी भुकम्प गयो। हजारौंको ज्यान गयो, लाखौँ घाइते भए, लाखौँ घरबार बिहिन बने। बैशाख १२ २०७२ मा गएको उक्त विनाशकारी भुकम्प पछि संसार रोयो। सहायताको ओइरो लाग्यो। अमेरिकाले सोहि कारण सो समयमा अमेरिकामा रहेका नेपालीहरुको लागि एक बिशेष कार्यक्रमको घोषणा पनि गर्यो। घर फर्किन समस्या हुने वा घरमा ज्यानको जोखिम हुन सक्ने हुनाले सो अबधिमा अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थायी सुरक्षा अवस्था अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस प्रदान गर्ने निर्णय गर्यो। त्यसबाट थुप्रै नेपालीहरुले लाभ लिने अवसर प्राप्त गरे। बिशेष गरी गैर कानुनी रुपमा बसोबास गरेका, बिद्यार्थी भिसामा बसेका र भ्रमण भिसामा रहेका नेपालीहरुले त्यो सुबिधा उपयोग गर्ने अबसर प्राप्त गरे।
डेड बर्षको लागि प्रदान गरिएको उक्त अस्थायी सुरक्षा अबस्थालाई नेपालमा जारी समस्याको कारणले केहि अघि मात्र अमेरिकाले फेरी नबिकरण गर्ने निर्णय गर्यो। अघिल्लो पटक निबेदन दिएर उक्त सुबिधा प्राप्त गर्ने सुबिधा प्राप्त गरेका, उक्त निबेदन प्रक्रियामा रहेका र उपयुक्त कारणले निबेदन दिन असमर्थ नेपाली नागरिकलाई फेरी उक्त अनुमति नबिकरण गर्न डिसेम्बर २७ सम्मको फेरी म्याद थपिएको छ। यसमा रहेको अस्पस्टता हटाउन नेपाली समाज टेक्सासले आज अध्यागमन कानुन ब्यबसायी बिनोद रोक्का संग बिशेष अन्तरक्रियात्मक कार्यक्रम गर्यो।न्यु योर्कमा आफ्नो कर्म थलो बनाएका रोक्काले डिसेम्बर २ देखि बिधिबत रुपमा टेक्सासको आर्लिङ्ग्टनमा शाखा समेत खोलिसकेका छन् ।
अन्तरक्रियामा बोल्दै श्री बिनोद रोक्काले असजिलो अबस्थामा रहेका नेपालीहरुले यो सुबिधाबाट लाभ लिन सक्ने बताउंदै आफु आएको प्रक्रियामा पनि सम्पूर्ण कुराहरु पुरा गर्न जरुरी रहेको अन्यथा यहि मात्र बिकल्प रहने भन्दै बिशेष गरी बिद्यार्थीहरुलाई एफवान भिसाको लागि आबस्यक पूर्वाधार पनि कायमै राख्न सुझाव दिनुभएको थियो। अघिल्लो चोटी निबेदन नदिएका तर दिन योग्य व्यक्तिहरु सिमित रहेको कुरा ब्यक्त गर्दै यदि कसैले निबेदन नदिइ नेपाल गएको तर अहिले पनि आफ्नो पुरानो भिसाको अवस्था परिबर्तन भएको छैन भने निबेदन दिन सकिने कुरा उल्लेख गर्नु भयो। तर अघिल्लो पटक निबेदन नदिएका र नेपाल गएर फर्केका भ्रमण भिसामा रहेका व्यक्तिहरु भने यो प्रक्रिया शुरु गर्न अयोग्य हुने पनि जानकारी गराउनु भएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायका अध्यागमन सम्बन्धि प्रस्नको समेत श्री रोक्काले जवाफ दिनु भएको थियो।
बिनोद रोक्का नेपाली समाज टेक्सासका मानार्थ सदस्य हुनुहुन्छ। लामो समय देखि टेक्सासको नेपाली समाजलाई आबस्यक परेको बेला कानुनी परामर्श र सल्लाह दिने रोक्का एच डी एन पी भनिने कल्याणकारी संस्थाका बरिष्ठ संयोजक समेत हुनुहुन्छ। आजै एच डी एन पीले रक्तदान कार्यक्रम आयोजना आर्लिङ्ग्टनमा सम्पन्न गरेको थियो। सो अबसरमा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, एच डी एन पी इन्टरनेसनलका अध्यक्ष देवी आचार्यले आफ्ना कुरा राखु भएको थियो भने कार्यक्रम संचालन नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले गर्नु भएको थियो।
अन्त्यमा नेपालबाट आउनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद श्री बीर बहादुर बलायरले अमेरिकामा रहेको नेपाली समुदायको उर्जा देखेर आफु प्रभावित भएको उल्लेख गर्दै यहाँ जन्मेका नेपाली बालबालिकाको लागि समेत नेपाल आकर्षण बनाइरख्न र उनीहरुलाई नेपालसंग जोडी राख्न प्रयत्न गर्न सबैमा अनुरोध गर्नु भएको थियो । नेपालमा झट्ट हेर्दा बेथिति देखिए पनि त्यो छिट्टो ठिक हुने आशा व्यक्त गर्दै त्यस दिशातर्फ आफु लागिपरेको समेत उल्लेख गर्नु भएको थियो।
निशा कार्कीको आमालाई रकम प्रदान
सोहि अबसरमा नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले दुइ हप्ता अघि ओक्लाहोमामा मृत्यु भएकी नेपाली बिधार्थी निशा कार्कीको लागि गोफंडमी र अन्य तरिकाबाट संकलित रकम कर र अन्य दस्तुर कटाएर ३१ हजार २ सय सतसट्ठी डलर अर्थात् बत्तीस लाख चौबिस हजार तीन सय एकचालीस रुपैया मृतककी आमा कल्पना कार्कीको खातामा बैंक अफ अमेरिका मार्फत नेपाल पठाइएको जानकारी गराउनु भएको थियो। नेपाली समाज टेक्सास नेपालीहरुका यस्ता बिपत्तिमा स्थापनाकाल देखिने सक्रिय रहेको र आर्थिक कुरामा पारदर्शी रहेको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण चन्दादाता, समाज र पत्रकार सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।