संशोधन विरुद्धको आन्दोलन सफल हुन्छ: अध्यक्ष ओली
काठमाडौँ, १८ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताउनुभएको छ ।
सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको पक्षमा स्वतःस्फुर्तरुपमा जनसमर्थन बढेकोले प्रस्ताव विफल हुने बताउनुभयो ।
पञ्चायती व्यवस्था ढाल्न झापा विद्रोह र आन्दोलनले प्रभावकारी भूमिका निर्वाह गरे झैँ सरकारका गलत कदमको विरोध र जनअपेक्षा र जागरणका पक्षमा एमाले कहिले पनि नथाक्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “त्यसबेला पनि पञ्चायती तानाशाहले आन्दोलन दबाउन कोसिस गरे तर हाम्रो झापा विद्रोहको धारले दमनलाई निस्तेज तुल्यायो । त्यसैले अहिले पनि हामी सफल हुन्छौँ । घाम र जुन रहुञ्जेल पञ्चायत रहन्छ भन्नेहरु हारेर गए, अब त घाम, जुन र धर्ती रहुञ्जेल एमाले रहिरहन्छ भन्ने दिन आएको छ ।”
कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानको स्मारिका ‘सुखानी’ को लोकार्पण पनि गर्नुभयो ।
तत्कालीन सरकारले विसं. २०२९ फागुन २१ गते वाम आन्दोलनमा लागेका चार युवा नेतालाई झापाको घनघोर जंगल सुखानीमा लगेर गोली हानी हत्या गरिएको थियो । तिनै सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेनसिंह राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा २०५६ सालमा प्रतिष्ठान स्थापना भएको थियो ।
कार्यक्रममा एमालेका नेताहरु अग्नि खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे र गोमा देवकोटाले पनि झापा आन्दोलनको बलिदानबारे चर्चा गर्नुभएको थियो । रासस