विशाल जनप्रदर्शन
बुटवल, १७ मङ्सिर । सरकारले ५ नं प्रदेश विभाजन गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरुद्धमा आज बुटवलमा विशाल जनप्रदर्शन गरिएको छ ।
पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित अन्य दलका नेता कार्यकर्तादेखि आम जनसमुदायको विरोध प्रदर्शनमा सहभागिता रहेको थियो ।
कार्यक्रमको नेतृत्व एमालेका नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, काँग्रेस नेता चन्द्र भण्डारीसहितका विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले पार्टी अनुशासनभन्दा पनि माथि राष्ट्र र जनताका लागि ५ नंं प्रदेशको पक्षमा रहेको बताउनुभयो ।
काँग्रेस नेता तथा सांसद चन्द्र भण्डारीले यस प्रदेशमा विवाद नरहेका अवस्थामा विवाद सिर्जना गरिएको भन्दै विखण्डन हुन नदिन आन्दोलनमा होमिएको बताउनुभयो । उहाँले सङ्घीयताका विषयमा जनमत सङ्ग्रहबाट टुग््याउनुपर्ने धारणा राख्नु भयो ।
एमाले नेता विष्णु पौडेलले प्रदेशको विभाजन र षड्यन्त्रका विरुद्ध देशभक्त नागरिक एक भएर उभिएको बताउनुभयो । उहाँले प्रदेश मात्र नभएर राष्ट्रलाई विभाजन गर्ने षड्यन्त्र गरिएकाले आन्दोलनमा होमिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा एमाले नेता घनश्याम भुसालले आन्दोलनलाई टुङ्गोमा पु¥याएरै छाडिने बताउनुभयो । बृहत् जनसभामा एमाले सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, एमाले नेता बैजनाथ चौधरी, खिमलाल भट्टराई लगायतले बोल्नुभएको थियो।