स्टिभ बनोनको नियुक्ति: ट्रंपको दक्षिणपन्थ यात्राको शुरुवात
अमेरिकी रास्ट्रपतिको निर्बाचन समाप्त भएर डोनाल्ड ट्रंप रास्ट्रपति निर्बाचित भैसकेका छन्। उनि व्हाइट हाउस वरिपरि रास्ट्रपतिको तालिम लिन ब्यस्त छन्। रास्ट्रपतिको रुपमा गर्नु पर्ने धेरै काममा उनि अनभिज्ञ भएकोले उनलाई ओबामाले मसिनो गरी सघाउँदै छन्। उनको सडकमा बिरोध जारी छ भने उनले आफ्नो मन्त्रीमंडल र सल्लाहकार नियुक्त गर्ने काम शुरु गरिसकेका छन्। नयाँ रास्ट्रपतिलाइ आफ्नो कार्ययोजना सफल बनाउन हज्जारौं पदहरु परिपूर्ति गर्नु पर्ने हुन्छ। ट्रंपले पनि केहि पद पूर्ति गर्न शुरु गरिसकेका छन्। रेन्स प्रिबस चिफ अफ स्टाफमा नियुक्त भैसकेका छन्। त्यस्तै प्रमुख योजनाकारमा स्टेफेन बनोन चुनिएका छन्। प्रिबस रिपब्लिकन पार्टीको राष्ट्रिय कमिटिको प्रमुख थिए। रिपब्लिकन पार्टीको संस्थापन पक्षसंग सम्बन्ध सुधार्न ट्रंपले यसो गरेको हुन सक्ने अनुमान गरिएको छ। तर बनोनको बारेमा ठुलो विवाद निस्केको छ। उनलाई राख्न हुन्न भन्ने दबाव चर्को रुपमा आएको छ। आखिरी किन त्यस्तो विवाद उठेको होला ? को हुन् बनोन ?
स्टिभ बनोन १९५३ मा जन्मेका हुन्। उनि एक उद्यमी मात्र होइनन मेडियाका हस्ती पनि हुन्। ब्रेइबार्ट न्युज भनिने परम्पराबादी सिद्धान्तलाइ प्रेरित गर्ने न्युस साइटका उनि अध्यक्ष हुन्। यो वेबसाइटले अलि दक्षिणपन्थी विचारको पक्षपोशण गर्ने गर्छ। उनले ब्रेइबार्ट लाइ २०१६ को शुरुमा चरम दक्षिणपन्थी बिचारको पक्षपोशण गर्ने स्थल भनेर घोषणा गरेका थिए। उनको नेतृत्वमा यो वेबसाइट चरम दक्षिणपन्थी र गोराहरुको सर्बसत्ताबादलाइ मलजल गर्ने गर्दै आएको छ। उनले गोरा रास्ट्रबादको पक्षमा आफ्नो आवाज मुकरित गरेका छन्। उनि जुविशहरुलाई घृणा गर्छन। उनि वर्तमान बिस्वमा बढ्दै गएको समबेशिता, समानताको बिरोधि हुन्। गोरा रास्ट्रबादले मात्र अहिलेको अमेरिकाको समस्या समाधान हुन सक्छ भन्ने उनको धारणा पाइन्छ।
यस्तो चरम दक्षिणपन्थी मुख्य योजनाकार बनेर आएपछि आफ्नो विजय सभामा सबैको बन्ने ट्रंपको घोषणामा प्रस्न चिन्ह लागेको छ। उनि के साँच्चै गोराहरुको प्रभुत्व स्थापना गरेर अल्पमतवालाहरुलाई नजरअन्दाज गर्छन त भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ। उनको चुनाबी अभियानको मुख्य नारा मुस्लिमहरुलाई अमेरिका प्रबेशमा अस्थायी रुपमा रोक लगाउनु थियो। अहिले उनले अमेरिका आउने मुस्लिम देशका मान्छेहरुको तथ्यांक लिने भन्ने कुरा अगाडी आएको छ। यसले अमेरिकाको संबिधानमा रहेको धार्मिक स्वतन्त्रताको खिल्ली उडाएको भनेर पनि आलोचना शुरु भएको छ। त्यसो त उनि कतिपय मुख्य मुद्धाहरुमा च्युत पनि भैसकेका छन् । यसबाट उनि योजनाबद्ध रुपमा भन्दा पनि लहड वा छोटो आबेगमा काम र कुरो गर्छन भन्ने प्रमाणित भएको छ।
अब ट्रंपको पदबहाली हुन दुइ महिना मात्र बाँकी छ। अमेरिकाको रास्ट्रपति जस्तो शक्तिशाली, संबेदनशील र जिम्मेवार स्थलमा ट्रंपले आफुलाई कसरी स्थापित गर्छन, त्यो हेर्न भने अरु दुइ चार महिना कुर्नै पर्ने भएको छ। उनको बिगत, बोलि, व्यवहार हेर्दा उनीबाट गतिलो कामको आशा गर्न नसकिए पनि अर्को बिकल्प नभएकोले पर्ख र हेर गर्नु नै अहिलेको बाध्यता हो। उनले आगामी दिनमा हुने नियुक्तिमा चरम दक्षिणपन्थी अनुहार थपे भने उनको आगामी कार्यकालको खाका प्रस्ट हुनेछ। बनोन जस्ता अरु कति नियुक्ति उनले गर्छन, त्यसैमा नै उनको र अमेरिकी जनताको भबिस्य निर्धारण हुनेछ।