फ्लु सुइ सेवा सम्पन्न, नेपाली समाजले अर्को हप्ता आँखा शिबिर गर्ने
नोभेम्बर १३, आइतबार, दलस, टेक्सास । नेपाली समाज टेक्सासले पार्कर काउन्टी अस्पतालको सहयोगमा आज निशुल्क फ्लु सुइ सेवा सम्पन्न गर्यो । उक्त अबसरमा ७५ जना भन्दा बढी व्यक्तिहरुले सेवा लिनुभएको कुरा नेपाली समाज टेक्सासका कार्यकारिणी सदस्य प्रेम पाठकले जानकारी गराउनु भएको छ । उक्त सेवामा पार्कर काउन्टी अस्पताले मिशेललाइ आफ्नो तर्फबाट स्वास्थ्य सेविकाको रुपमा पठाएको थियो । उनले कुशलतापुर्बक आफ्नो भूमिकर निर्वाह गरेकी थिइन । १०० जना सम्मको सुइ लगाउन आबस्यक सामग्री उपलब्ध भए पनि जम्मा ७५ जनाले सुबिधा लिएका थिए ।
त्यसै गरि नेपाली समाज टेक्सास र डालस एभरेस्ट लायन्स क्लबको लायन्स साइट एंड टिस्यु फाउन्डेसनको आयोजनामा नोभम्बर २० आइतबारका दिन आँखाको निशुल्क परिक्षण हुने भएको छ । दिउसो एक देखि ५ बजेसम्म संचालन हुने उक्त आँखा शिविर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको हलमा सम्पन्न हुनेछ । नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने र डालस एभरेस्ट लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेले उक्त कुरा जानकारी गराउनु भएको हो ।
स्मरण रहोस, नेपाली समाज टेक्सासले स्थापना कालदेखि नै यस्ता खाले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपाली भाषालाइ यहाँका कलिला नानीहरु सम्म पुर्याउन नेपाली भाषा कक्षा, हाम्रो कला र संस्कृतिको जगेर्ना गर्न बिभिन्न चाडबाडहरुमा रमाइला कार्यक्रमहरुको संयोजन पनि गर्दै आएको छ । त्यस्तै नेपाली समुदायलाई बिभिन्न खाले समस्याहरुको समाधान कसरी गर्ने भनेर सुसुचित गर्ने काम समेत गर्दै आएको छ । त्यो मात्र नभएर नेपालमा हुने दुर्घटना, दैबी प्रकोप वा अन्य अप्ठेरा समयहरुमा काँधमा काँध मिलाउंदै आएको छ ।