अरु देशमा बर्षौं देखि झोंस्दै आएको विद्रोहको आगो पश्चिमी देश मै फैलिने खतरा
रास्ट्रपतिको चुनाव सकिएर सत्ता हस्तान्तरणको प्रक्रिया व्हाइट हाउसमा शुरु नहुँदै अमेरिकामा नव निर्बाचित रास्ट्रपति बिरुद्ध प्रदर्शन देशव्यापी बनेको छ। अमेरिकाका प्रमुख शहरहरुमा “तिमि मेरो रास्ट्रपति होइनौ” भन्ने नारा सहित नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंपका पुत्ला जलाइएको छ। त्यहि क्रममा ओरेगनको पोर्टल्याण्डमा तोडफोड समेत भएको छ। दर्जनौं गाडी, पसल र निजि सम्पतिमा क्षति पुगेको छ भने प्रहरीले उत्तेजक भिड तितर बितर पार्न अश्रु ग्याँस प्रहार गर्नु परेको छ भने दर्जनौंलाइ गिरफ्तार गरिएको छ।
हरेक रास्ट्रपतिय चुनावमा अमेरिकामा ब्यापक ध्रुविकरण हुन्छ। उम्मेदवारहरुले बिपक्षि उम्मेदवारको छाला काढ्ने गरी झिना मसिना कुरा निकालेर आलोचना गर्ने हुनाले दुवै उम्मेदवारहरु अर्को पक्षको लागि शैतान झैं प्रतित हुन्छन। अहिलेको चुनाव पछिल्ला चुनावहरुभन्दा झन् बढी विभाजनकारी थियो। दुबैले एक अर्कालाई रास्ट्रपति हुन अयोग्य भएको समेत आरोप लगाएका थिए। जनतामा दुवै उम्मेदवार अत्यन्त अलोकप्रिय थिए। दुवै क्याम्पका मान्छेहरु अर्को क्याम्प प्रति घृणा फैलाउने काम गर्थे। त्यसमाथि अहिले रास्ट्रपति निर्बाचित ट्रंप आफ्नै पार्टीको ठुलो जमातलाइ तल्लो स्तरका शव्द प्रयोग गरेर आलोचना गर्थे। जसले उनलाई समर्थन गर्दैनथ्यो, उनीहरु माथि ट्रंप अशोभनीय शैलीमा गालीगलौजमा उत्रिहाल्थे। सामाजिक संजालमा आएका झिना मसिना प्रतिक्रियामा पनि ट्रंपले प्रतिक्रिया जनाइहाल्थे। जसको कारण पछिल्ला दिनमा उनलाई उनकै चुनावी क्याम्पले ट्विटर प्रयोग गर्न बन्चित गर्नु परेको थियो।
चुनावी अभियानको क्रममा नबनिर्बाचित रास्ट्रपति ट्रंपले उत्तेजक भाषण गरेर समाजलाई अत्यन्त ध्रुविकृत गरे। फलस्वरूप उनलाई मन नपराउनेहरुको ठुलो तप्का तयार भयो। प्रदर्शन कै कुरालाई लिएर उनले केहि घन्टाको फरकमा दुइटा फरक खाले ट्विट गरे। खोसिएको ट्विटर खाता फिर्ता भए पछिको उनको ट्विटमा उनि बिरुद्धको प्रदर्शन स्वच्छ नभएको टिप्पणि गरे। फेरी त्यसको केहि क्षणमै अर्को ट्विट गर्दै प्रदर्शकारी थोरै भएको र उनीहरुले राम्रो गरेको भने। यसले उनि ससाना कुरामा अल्झिएर ठुलै बबण्डर मच्चाउन सक्छन भन्ने आशंका समेत पैदा भएको छ।
बर्षौं देखि ओबामालाई निम्न स्तरको गालि गरेर चर्चित बनेका ट्रंपलाइ ओबामाले भने सफल हुन आबस्यक सम्पूर्ण सहयोग गर्ने बाचा गरेका छन्। पराजित उम्मद्वार हिलारी क्लिन्टन देखि बर्नी स्याण्डर्स र एलिजाबेथ वारेनले पनि राम्रो योजना ल्याए सहयोग गर्ने बाचा गर्दै निर्बाचनको परिणामलाइ सम्पूर्ण रुपमा स्वीकारिसकेका छन्। कुल भोट हिलारीको बढी आए पनि इलिक्टोरल कलेज भनिने प्रणालीको आधारमा ट्रंप बिजयी भएका छन्। उनि आफैले पनि अहिले सम्म भन्दै आएका बकवास आफ्नो जितको भाषणमा दोहोर्याउने आँट गर्न सकेनन। अहिले सडकमा देखिएको असन्तुस्टी र त्यसको पटाक्षेप कसरि हुन्छ, त्यसले पनि ट्रंपको आगामी यात्रा तय हुनेछ। त्यसो त उनको मन्त्रीमंडलमा आउने भनेर चर्चामा आएका अनुहारहरु पहिले देखिनै वाशिंटनमा गन्हाएका पुराना अनुहार हुन जसले गर्दा उनले तानेको मध्यम र निम्न बर्गीय गोराहरुको चाहना पुरा हुने कुनै लक्षण देखिन्न।
जे होस् दशकौं देखि संसारका बिभिन्न देशमा प्रजातन्त्र र अन्य बिभिन्न नाममा खाली बिरोध गर्ने संस्कृति हुर्काएको अमेरिकाले आफ्नै भूमिमा त्यो स्वाद चाख्न थालेको छ। केहि महिना अघि यूरोपियन युनियनबाट अलग हुने ब्रिटेनको निर्बाचन र डोनाल्ड ट्रंपको उदय त्यहि बर्षौं देखि अरुको देशमा लगाएको आगोको फिलिंगोको रुपमा प्रवेश गरेको छ। त्यो फिलिंगो कसरी निभाइने छ वा ब्यबस्थापन गरिने छ, त्यसैको आधारमा पनि यसको दिशा निर्धारण हुने देखिन्छ। ट्रंपले जान्नु पर्ने कुरा के हो भने अमेरिकामा उनलाई समर्थन गर्ने भन्दा बिरोध गर्नेहरुको संख्या धेरै बढी छ। थोरै संख्या भनेर अपमानित गर्दै अघि बढे भने यो फिलिंगो ठुलो डढेलोमा रुपान्तरण हुन सक्छ। त्यसको लागि उनले उनीहरुको जायज कुराहरुलाई तुरुन्तै सम्बोधन गर्नु पर्छ।
धेरै मान्छेहरुमा आप्रबाशी र मुसलमान धर्म प्रति उनको रबैयालाइ लिएर ठुलो चिन्ता छ। त्यसलाई सम्बोधन गर्न उनले स्पस्ट खाका प्रस्तुत गरिहाल्नु पर्छ। महिला अधिकार, अल्पमतमा रहेको अफ्रिकन अमेरिकन समुदायलाइ आस्वस्त पार्न कामै नलाग्ने अमेरिकी कानुन बदल्ने हिम्मत गर्नु पर्छ। बैबाहिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रता जस्तामा उनले बोलेका उट्पट्याङ्ग कुराहरु बारे जनतालाई उनले स्पस्ट पार्नु पर्छ। महिला, आप्रबाशी, अपाङ्ग, मुस्लिम र अन्य जातिमाथि उनले गरेका अभद्र टिपाणिको लागि माफी माग्दै आगामी दिनमा सबैको रास्ट्रपति हुने बाचा गर्नु पर्छ। यी कुरा गरे मात्र उनि माथिको अविस्वासमा कमि आउने र प्रदर्शनहरु बिस्तारै कम्जोर हुँदै जाने छन्। होइन उनले अरु प्रतिको पुरानो असहिष्णु व्यवहार जारी राखे र आफ्ना पुराना बकवासहरुलाई सच्च्याएनन भने थोरै मान्छे भनेर हेपेका यी प्रदर्शनहरु दिनदिनै बढ्ने र दशकौं देखि अन्य मुलुकमा झोंसेर अस्थिर बनाउदै आएको विद्रोहको आगो अमेरिकामा पनि फैलिने संकेत देख्न पावर वाला चस्मा लगाउनु पक्कै पर्दैन।