ट्रंपको उदय: स्वेत अतिबाद र संकीर्णतावादको विजय
हरेक ४/४ बर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव हिजो सकियो। चुनाव सकिए पनि यसले छोडेको प्रभाव भने अरु धेरै दशक रहिरहने छ।
करिव १८ महिना अघि डोनाल्ड ट्रंप रिपब्लिकन पार्टीको आन्तरिक प्रस्तिस्पर्धामा उत्रिंदा अधिकांश नागरिक, मेडिया र बुद्धिजिवीहरु उनीप्रति खासै गम्भीर बनेनन्। एउटा धनि मान्छे, पैसा छ, यसले रहर गर्यो भन्ने हिसाबले सबैले लिए। त्यहि पैसाको कारण उनि ठुला संचार माध्यमका डार्लिङ्ग बने। उनका उट्पटाङ्ग र मुर्ख भनाइहरुको मेडियामा ब्यापक चर्चा गरियो। रिपब्लिकनको आन्तरिक प्रस्तिस्पर्धामा उनले सबै उम्मेदवारलाई छानी छानी अपमानित गरे। मार्को रुबिओ, टेड क्रुज, जेव बुश सबैको शारीरिक कमजोरीको धज्जी उडाए। मार्को रुबिओलाइ सानो मान्छे भनेर बेइज्जत गरे भने टेड क्रुजलाइ ढटुवा त जेव बुशलाइ कम तागत भएको मान्छेको रुपमा पोलिसीका कुरा गर्नु पर्ने ठुला ठुला बहसहरुमा चित्रित गरे। रिपब्लिकन पार्टीले आफ्नो आधार व्यक्तिहरुमा बर्षौं देखि रोपेको घृणाको बिउ झांगियो। संस्थापन पक्षबाट अन्त्यमा उनलाई हराउन प्रयोग गरिएका सबै हथकण्डा असफल भए। ट्रंप घृणा, अपमान र कुण्ठाको जगमा रिपब्लिकन पार्टीको आधिकारिक उम्मेदवार बने।
अर्को तिर हिलारी क्लिन्टन र बर्नी स्याण्डर्स उम्मेदवार थिए। हिलारी लामो समय वाशिंगटन डिसीमा काम गरेकी र डेमोक्र्याटिक पार्टीमा संस्थापन पक्ष र मुलधारको मेडियाको डार्लिङ्ग थिइन। बर्नीले ल्याएका थुप्रै सामाजिक मुद्धाका बाबजुद उनले चुनाव हारे। क्लिन्टन जो धेरै अमेरिकीहरुले घृणा गर्थे, डेमोक्र्याटिक पार्टीको उम्मेदवार बनिन। डोनाल्ड ट्रंप जस्तो व्यक्ति सजिलै हराउन सकिन्छ भन्ने मान्यता उनीहरुमा देखियो। वाशिंटनको राजनीतिबाट दिक्क ठुलो जमात हिलारी जस्तो एकदम अलोकप्रिय महिलालाई ट्रंपको बिरुद्धमा भोट हाल्नेछन भन्ने आधारमा जित्ने दावी गर्दै आइयो। आगामी दिनमा यो परिणामका कारणहरु खोतल्ने काम हुँदै जाला, तर यसको प्रमुख कारण भने डेमोक्र्याटिक पार्टीको उम्मेदवार गतिलो नहुनु नै हो।
अमेरिकामा लामो समय देखि दुइ पार्टीको बिचमा ध्रुविकरण छ। सामाजिक मुद्धाहरुमा ठुलो खाडल छ दुइ पार्टी बीच। अन्तररास्ट्रिय सम्बन्धमा केहि फरक धारण भए पनि ट्रंपको भन्दा समकालीन राजनीतिमा ठुलो फरक देखिन्छ। शक्ति सन्तुलनको कारण धेरै काम गर्न सक्ने अवस्था छैन। त्यसैको कारण पनि जनतामा ठुलो निराशा थियो।
ओबामा रास्ट्रपति बनेपछि अमेरिकाको राजनीतिमा अल्पमतवालाहरु, प्रबाशिहरु, समानताको पक्षधरहरु बलियो हुँदै गएका थिए। अदालतमा सबैको प्रतिनिधित्व गर्नु पर्छ भन्ने मान्यता बोक्ने लिबरल न्यायाधिश नियुक्त गरिएका थिए। यस्ता कुराहरु कोरा गोरो जमातलाई मन परेको थिएन। उनीहरु आप्रबाशी संग डराउँथे। उनीहरु मुस्लिम संग डराउँथे। उनीहरु आफ्ना परम्परागत मान्यताहरु चेपुवामा परेको ठान्थे। फलस्वरूप मेक्सिकोसंगको सीमामा पर्खाल लगाउने, मुस्लिमलाइ अमेरिका प्रबेशमा अस्थायी रोक लगाउने जस्ता उनका नाराहरु अत्यन्त लोकप्रिय बन्न पुगे। त्यसको बिपरित डेमोक्र्याटिक पार्टीको क्याम्पमा कुनै उत्साह थिएन। ट्रंपलाइ घृणा गर्नेहरु जमात त्यहाँ थियो जसमा क्लिन्टनको रास्ट्रपतिय कार्यकाल प्रति उमंग र उर्जा थिएन।
यी र यस्ता थुप्रै कारणले गर्दा ट्रंपले अमेरिकाको रास्ट्रपति बन्ने मौका प्राप्त गरेका छन्। उनले जे जस्तो गरे पनि संसारभर त्रास छाएको छ। आशा गरौँ, उनले आफ्नो अनैतिक छविलाई अमेरिकाको लागि केहि राम्रो गरेर उज्यालो बनाउने प्रयास गर्ने छन्।