नेजाद्वारा शोक व्यक्त
अमेरिका. नोभेम्बर ७ । अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले पत्रकार संजय न्यौपानेको असामयिक निधन प्रति शोक ब्यक्त गरेको छ। महासचिव तोया दाहालद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा न्यौपानेको उपचारको लागि संकलित रकम नेपाल पत्रकार महासंघ मार्फत उनका छोराछोरीको पठनपाठनमा खर्च गरिने समेत उल्लेख गरिएको छ। बिज्ञप्तिमा भनिएको छ :
नेपाली सञ्चारफाटका प्रतिभावान पत्रकार सञ्जय न्यौपानेको अल्पआयू मै शनिवार भएको निधनले देश भित्र र वाहिर रहेका संपुर्ण संचारकर्मीहरु अहिले मर्माहत र स्तब्ध भएका छौ । असामहिक निधनले निम्त्याएको असीम पिडाको यो घडीमा परिवारजन र आफन्तहरु प्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) समवेदना ब्यक्त गर्दछ । उहाँको निधनले समग्र पत्रकारिता क्षेत्रले एक सच्चा र इमान्दार पत्रकार गुमाएको छ । न्यौपानेको निधन आर्थिक पत्रकारिताका लागि अझ अपुरणिय क्षति हो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) शोक व्यक्त गर्दछ ।
उपचारकाक्रममा रहेका न्यौपानेको सहयोगका लागि नेजाले समिति नै गठन गरेर काम गरिरहेको अवगत नै छ । संकलित रकम न्यौपानेका छोरा छोरीको शिक्षाका लागि काठमाडौंको कुनै एक वाणिज्य बैंकमा खाता खोलेर राख्ने गरि नेजाले नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ । बैंक खाता छोरा, छोरीको नाममा हुनेछ भने न्यौपानेका श्रीमती संरक्षक रहनुहुनेछ ।
तोया दाहाल
महासचिव,नेपाल अमेरिका पत्रकार संघ (नेजा)