हिलारी र ट्रंप बीच कडा टक्कर: डेमोक्र्याट र अमेरिकी बजारमा चिन्ता
अमेरिकी रास्ट्रपतिको चुनाव आउन ५ दिन मात्र बाँकी रहंदा हिलारी क्लिन्टन र डोनाल्ड ट्रंप बीच कडा प्रतिस्पर्धा हुने पछिल्ला पोलहरुले देखाएका छन्। केहि हप्ता अघि सम्म सजिलै जित्ने अनुमान गरिएकी हिलारी क्लिन्टन इमेल काण्डले प्रतिरक्षात्मक अबस्थामा पुगेकी छिन। डोनाल्ड ट्रंपको बिली बुश एक्सेस हलीउड अडियो सार्बजनिक पछि उनको यात्रा समाप्त भएको अनुमान गरिंदै थियो तर त्यसको एक हप्ता नपुग्दै धेरै अमेरिकन हरुले त्यो बिर्सिसकेका छन् र हिलारीको इमेल काण्ड सतहमा आइपुगेको छ।
अमेरिकी जनताका लागि यी दुवै छनोट उपयुक्त होइनन। अधिकांश मतदाताहरु दुवै उम्मेदवारहरुलाई मन पराउँदैनन्। अहिलेको चुनावमा कसका बढी समर्थक छन् भनेर जितिने भन्दा पनि कसका बढी बिरोधि छन् उसले हार्ने स्थिति छ। पछिला पोलहरु हेर्दा डोनाल्डलाइ भन्दा हिलारीलाइ मन नपराउनेको संख्या बढी देखिन्छ। त्यहि कारणले होला डेमोक्र्याटमा भय शुरु भैसकेको देखिन्छ। त्यसको असर बिहिबारको वाल स्ट्रीटको शेयर बजारमा समेत देखिएको छ। डाउ र न्यास्ड्याक माइनस देखिएका छन्। धेरैलाई डर के छ भने डोनाल्ड ट्रंपले मनपरी गर्न सक्छन जसले कम्पनिहरु खतरामा पर्न सक्छन। अर्को तिर क्लिन्टन लामो समय वाशिंगटन वरिपरि रहेकोले बजार उनीसंग बढी आशाबादी देखिन्छ।
अमेरिकाका धेरै जसो राज्यहरु कि त रिपब्लिकनले जित्ने कि त डेमोक्र्याटले पक्का छन्। डेमोक्र्याटले जित्नेलाई निलो राज्य र रिपब्लिकनले जित्नेलाई रातो राज्यको दर्जा दिइएको छ। तर केहि राज्यहरु यस्ता छन् जुन यताउता भैरहन्छन। क्लोराड़ो, फ्लोरिडा, नेभादा, ओहायो, भर्जिनिया, आयोवा र न्यु ह्याम्सायरलाइ स्विंग स्टेट अर्थात् कहिले कसले त कहिले कसले जित्ने राज्यहरु हुन्। यी स्टेटहरुमा अहिले अधिकांशमा हिलारी अगाडी त छन् तर झिनो मतको अन्तरले। केहि हप्ता अघि निकै तल रहेका ट्रंप यतिबेला कि त नजिक आइपुगेका छन् कि त अगाडी पुगेका छन्। केहि हप्ता अघि असम्भव प्राय रहेको ट्रंपको व्हाइट हाउस यात्रा सम्भवमा बद्लिन थालेको छ । तर अहिले सम्मको लीड हिलारीले कायम राख्न सकिन भने र अर्को कुनै पहिरो गएन भने हिलारी नै रास्ट्रपति हुने सम्भावना बढी नै छ ।