इन्द्रेणी सांस्कृतिक संघको दशैँ तिहार शुभकामना कार्यक्रम सम्पन्न
डालस, टेक्सास। लामो समय देखि डालसको नेपाली समाजमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो। स्थापना काल देखि नै नेपाली संस्कृतिको जगेर्ना एबम प्रबर्धनमा सक्रिय यो संस्थाले हरेक बर्ष दशैँ र तिहारको अवसर पारेर समुदायका सदस्यहरुबीच अन्तरक्रिया एबम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ। सोहि कामलाई निरन्तरता दिन नेपाली मन्दिर अर्भिंगको सभा हलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको शुरुमा संस्थाका उपाध्यक्ष बेदनिधि दाहालले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने प्रबासी नेपाली मंचका सचिव कमल ओझा, डालस एभरेस्ट लायन्स क्लबका सुरेश बस्याल, नेजाका क्षेत्रिय सभापति किशन रेग्मी, यति च्याम्बर्स अफ कमर्सका उपाध्यक्ष गोकर्ण दाहाल, उत्तरी डालस नेपाली संघका अध्यक्ष बादल भुजेल, अनकनका अध्यक्ष प्रकाश गौतम, इन्द्रेणी संघका पूर्व अध्यक्ष नेत्र पाण्डे, प्रबासी नेपाली मंचका उपाध्यक्ष जीवन जोशी, प्रबासी नेपाली मंच टेक्सासका अध्यक्ष दीपक पाण्डेले आफ्नो आफ्नो संस्थाको तर्फबाट र व्यक्तिगत तर्फबाट सम्पूर्ण नेपाली समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको थियो।
सोहि अबसरमा बोल्दै पण्डित रामचन्द्र पाण्डेले दशैं र तिहारको धार्मिक, सामाजिक र अध्यात्मिक महत्व बारे प्रकाश पार्नु भएको थियो भने रक्तदाता संघका अध्यक्ष डाक्टर नन्द रेग्मीले नेपाली चाडबाडलाइ रक्तदानसंग जोड्नु पर्ने बताउंदै हाम्रा सांस्कृतिक चाडबाडमा रहेको आध्यात्मिक भावनाले रक्तदान जस्तो बिषयमा उदार हुनुपर्ने र यसले रक्तदातालाई हुने फाइदा बारे प्रकाश पार्नु भएको थियो। त्यस्तै नेपाली सांस्कृतिक तथा सांस्कृतिक केन्द्रका अध्यक्ष रमेश पोख्रेलले यस्ता कार्यक्रममा सबैले आफ्ना नानिबबुहरुलाई पनि सहभागी गराए मात्र निरन्तरता हुने नत्र अर्को पुस्तामा हाम्रो संस्कृति हस्तान्तरण नहुने आशंका व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा सभापतिको आसनबाट अध्यक्ष तारा प्रशाद भुसालले उपस्थित सम्पूर्णलाइ धन्यवाद दिंदै इन्द्रेणी सांस्कृति संघ र आफ्नो तर्फबाट बिजय दशमी, तिहार तथा छठको उपलक्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रमको संचालन यमुना भट्टराईले मिठो र छरितो तरिकाले गर्नु भएको थियो। कार्यक्रम निर्धारित समय भन्दा ढिला शुरु भए पनि बक्ताहरुको छोटो मिठो शुभकामना मन्तव्यको कारणले समयमै समापन भएको थियो।