नेपाली कांग्रेस समाजबादी पार्टी हो : रमेश रिजाल
October 17, 2016 | 1:50 am    
टेक्सास, अक्टोबर १६ । जनसम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरको आयोजनामा टेक्सासको स्टेफ़ेन्भिलमा चियापान तथा बिशेष भेटघाट समारोह आयोजना गरियो । २०३३ सालमा बिपी स्वदेश फर्केपछि दशैं तिहारको अवसर पारेर नेपाली कांग्रेसका सथिभाइहरुसंग भेटघाट तथा छलफल कार्यक्रम गर्ने प्रचलन शुरु गर्नु भएको थियो । त्यसलाई नेपाली कांग्रेसले पनि निरन्तरता दिंदै आएको छ । सोहि क्रममा बिदेशमा रहेका नेपाली कांग्रेसको प्रबाशी संगठन नेपाली जनसम्पर्क समितिले पनि आफ्नै तरिकाले उक्त भेटघाट तथा चियापान कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । जनसम्पर्क समिति टेक्सासको वेस्ट च्याप्टरले पनि यसलाई अघिल्लो बर्ष देखि आयोजना गर्दै आएको छ ।
जनसम्पर्क समिति टेक्सास वेस्ट च्याप्टरले अघिल्लो बर्ष माननीय सभासद दिपक गिरीको प्रमुख आतिथ्यमा नेपालको संविधानको बारेमा अन्तरक्रिया गरेको थियो । यो बर्ष भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यमा भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, यति च्याम्बर्सका अध्यक्ष बासु भण्डारी, एनआरएनका सल्लाहकार गौरी राज जोशी, जनसम्पर्क समितिको तर्फबाट अमृत सापकोटा, उपाध्यक्ष भगवान मैनाली, फिल्म निर्देशक शैलेश आचार्य, ओएन एफका जीवन जोशी, नेपाली समाज टेक्सासका संस्थापक महासचिव सुन्दर कर्माचार्यलगायतले शुभकामना मन्तब्य प्रदान गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले प्रबाशमा रहेर नेपालको विकास, उन्नति र प्रगतिमा नेपाली जनसम्पर्क समितिले पुर्याएको योगदानको प्रशंशा गर्नु भएको थियो । बीपीको समाजबादी चिन्तनबाट कांग्रेस क्षणिक रुपमा अलग्गिएको जस्तो लागे पनि नेपाली कांग्रेसको आधिकारिक नीति भनेको प्रजातान्त्रिक समाजबाद नै रहेको स्पस्ट पार्नु भएको थियो । नेपाली कांग्रेसले गरिब जनताको भलाइको लागि नै राजनीति गरेको तर २०४६ सालपछि रामशरण महत र महेश आचार्यले खुल्ला अर्थतन्त्र र उदारबादको नाममा कांगेसको सिद्धान्त बिपरित काम गरेको आरोप पनि लगाउनु भयो । नेपाली कांग्रेसले झुपडीमा बस्ने जनताको पक्षमा अघि बढ्ने बताउंदै नेपाली कांग्रेसले नै बर्तमान समस्या समाधान गर्न सक्ने कुरा उल्लेख गर्नु भएको थियो ।
अहिले नेपाल रेमिटेन्सबाट चलेको बताउंदै रिजालले प्रबासी नेपालीहरुको योगदान संधै रहिरहने बिस्वास ब्यक्त गर्नु भएको थियो । तपाईंहरुले जसरि बिगतमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्नु भएको थियो, त्यसरी नै आगामी दिनमा सामाजिक र आर्थिक रुपान्तरणमा भूमिका खेल्नु पर्छ भन्दै रिजालले जनसम्पर्क समितिहरु आफै बिबादित हुने होइन बरु नेपालमा रहेका विवाद हल गर्न पहल गर्नु पर्नेमा जोड दिनु भयो । तपाईंहरुलाई केहि कुराको लोभ छैन, बिशुद्ध रुपमा कांग्रेस पार्टी र नेपालको बारेमा बोल्नु भएको छ भने सानातिना कुरामा किन झगडा गरेको भन्दै आफुले जनसम्पर्क समितिको बिबाद मिलाउन पार्टीबाट म्यान्डेट लिएर आएको र त्यसलाई मिलाउन प्रयत्न गर्ने र त्यसमा सहयोग गर्न सबैलाई अपिल समेत गर्नु भएको थियो ।
कार्यक्रम जनसम्पर्क समिति टेक्सास च्याप्टरका सभापति हरिबोल भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापतिको आसनबाट बोल्दै भण्डारीले नेपाली जनसम्पर्क समितिको दशैं चियापान तथा भेटघाट कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिंदै जनसम्पर्कको बिबाद मिल्ने विश्वास व्यक्त गर्नु भएको थियो । भूकम्पको पैसा समयमा नपुगे पनि हिनामिना नभएको जनाउंदै त्यो नेपाली कांग्रेसले चाहेको बेला नेपाल पठाउन तयारी अबस्थामा रहेको स्पस्ट पार्नु भएको थियो । कार्यक्रममा डालस तथा स्टेफेनभिल क्षेत्रका विभिन्न संघ संस्था तथा सर्बसाधारण गरी करिब १५० जनाको उपस्थिति थियो । कार्यक्रमको संचालन पत्रकार केदार तिमिल्सिनाले गर्नु भएको थियो