दशैंपछि बस्ने गरी डा केसीबाट आमरण अनसन एक्कासी स्थगित (विज्ञप्तिसहित)
काठमाडौं । चिकित्सा क्षेत्रको वेथिति रोक्न आमरण अनसन बसेका प्राडा गोविन्द केसीले एक्कासी आमरण अनसन तोडेका छन् ।
सरकारसंग भएका सहमति पालना नभए पनि चाडबाडलाई मध्यनजर गर्दैै डा केसीले १२ औं दिनको आमरण अनसनपछि शुक्रबार राति आमरण अनसन तोडेका हुन् ।
एक्कासी आमरण अनसन तोडेका उनले दशैंपछि पुनः आमरण अनसन बस्ने पनि बताएका छन् ।
डा. केसी नवौं पटक गत असोज ९ गतेदेखि आमरण अनसनमा थिए ।
सरकारले आमरण अनसन बसेको १२ औं दिनमा केसीसँग सरकारले अनौपचारिक वार्ता सुरु गरे पनि त्यो बिना कुनै उपलब्धि टुंगिएको छ । शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमाल र स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. पदमबहादुर चन्दले केसीका प्रतिनिधिसँग शुक्रबार अनौपचारिक भेटवार्ता गरे पनि त्यो बिना निष्कर्ष टुङ्गिएको थियो ।
केसीका प्रतिनिधिले वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति, पूर्व सम्झौताअनुसार शुल्क निर्धारण र त्रिवि, काठमाडौं र नेपाल मेडिकल काउन्सिलको सिट निर्धारण, परीक्षा सम्बन्धनलगायतमा भएका अनियमितता छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलाई तत्काल पूरा गर्न सकिने मागका रुपमा वार्तामा प्रस्ताव गरेका थिए ।
यसैबीच, डा केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ । डा. केसीमा मांसपेशी बाउँडिने, रिंगटा लाग्ने, छाती दुख्ने समस्या उनमा देखिएको छ । उनको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार हाल उनको रगतमा चिनीको मात्रा अत्यन्त न्यून भएको छ । उनको पिसाबमा किटोनको मात्रा पनि बढी देखिएको छ । रगतमा म्याग्नेसियम र क्याल्सियमको मात्रा कमी हुँदा मुटुसम्बन्धी समस्याको खतरा बढेको चिकित्सकले बताएका छन् ।
त्रिविविका डीन तीर्थ खनियाले अनावश्यक दुःख दिएकोसमेत आरोप डा केसीले लगाएका छन् । अबको आन्दोलन खनियाको बर्खास्तगीसमेत हुने बताएका छन् । उनले सरकार र शिक्षा मन्त्रालय अन्तर्गतको नेतृत्वले असहयोग गरेको आरोपसमेत लगाएका छन् ।
पूर्णिमाको दिन बिहान ४ बजे नै आमरण अनसन जारी राख्ने पनि उनले बताएका छन् । उक्त कुरा पत्रकार अजयबाबु सिवाकोटीले युएस एंड नेपाल अनलाइनलाइ जानकारी गराएका छन्।