नेपाली समाज टेक्सासको दशैं सांस्कृतिक कार्यक्रम सार्बजनिक
यसपाली पनि दशैँ ढोकैमा आइपुग्यो । अक्टोबर ११ मंगलबार यस बर्षको दशैँ छ । तर यो उमेरमा र यो ठाउँमा दशैँ एउटा औपचारिकता मात्र भएको छ । दशैको महत्व सानोमा हुँदा निकै हुन्थ्यो । नयाँ लुगा लाउन पाइने, मिठो खान पाइने हुँदा दशैंको रौनक अर्कै हुन्थ्यो । मौसम पनि कति राम्रो हुन्थ्यो भने मन त्यसै रमाउँथ्यो । न वर्षा, न गर्मि न त जाडो नै । भने जस्तै अनि चाहे जस्तै ठिक्कको । त्यसमाथि स्कुल जान नपर्ने, एक दुइ भारि घाँस काटे पछि छुट्टी ।
त्यति बेला लाहुरेहरु पनि दशैँ मान्न भनेर भारतबाट घर आउंथे । उनीहरु आउँदा अर्कै रमाइलो हुन्थ्यो । उनीहरु कुरै पिच्छे अच्छा, लेकिन जस्ता शब्द प्रयोग गर्थे जसले हामीलाई उनीहरुको कुरा सुनुँ सुनुँ लाग्थ्यो । हामी चकलेटको लोभमा उनीहरुको घरमा जान्थ्यौं । बुढापाकाहरु बिंडीको आशमा उनीहरुकोमा पुग्थे । दशैँ भरि उनीहरुको चहल पहल हुन्थ्यो । अरुको घरमा भन्दा लाहुरे आएको घरमा बढी चहलपहल हुन्थ्यो ।
दशैंमा मामाघर जानु अर्को रमाइलो पक्ष थियो । हामीलाई पैसा देख्ने अवसर नै दशैँ हुन्थ्यो । घरमा त पैसा कहिल्यै पनि दिंदैनथे, केटाहरुलाई । “पैसा पाउन केटि भएर जन्मनु पर्छ” बुढाहरु प्वाक्क भन्थे । हामीलाई मनमनै रिस उठ्थ्यो तर केहि गर्न सकिंदैनथ्यो । दशैमा भने मामाघरमा त्यो पक्षपात हुँदैनथ्यो । भान्जा र भान्जीको उत्तिकै महत्व हुन्थ्यो । हजुरबाले नयाँ नोट साटेर ल्याउनु हुन्थ्यो । चलन त त्यतिबेला १ दुइका नोटको थियो तर हामी केटाहरुको पैसो देख्ने अवसर दशैं नै थियो । त्यसमाथि मामाघरमा बस्दा स्वर्ग जस्तो लाग्थ्यो किनभने मामाघरमा काम गर्नु पर्दैनथ्यो । बसी बसी सम्मानपुर्बक खान र खेल्न पाइन्थ्यो । खानेबेलामा पनि सबभन्दा पहिले हाम्रै पालो आउंथ्यो । सुत्ने बेलामा पनि अलि सुकिलो सिरक हाम्रै भागमा पर्थ्यो । त्यसो त अहिले मामाघरको त्यो आकर्षण घटिसकेको छ । अहिलेका धेरै आधुनिक मामाहरु शकुनी जस्ता भैसके ।
त्यस्तै रोटे पिङ्ग र लठे पिङ्ग पनि खेल्न पाइन्थ्यो । सबैसंग भेटघाट हुन्थ्यो । एक बर्षको लागि नबिकरण भएको महशुश हुन्थ्यो । दशैँ आउँदा जति खुशी हुन्थ्यौं, जाँदा त्यति नै नरमाइलो लाग्थ्यो । तर फेरी तिहारको कल्पनाले त्यो नरमाइलो पनि बिर्सिन्थ्यो ।
यी सम्झना मात्र हुन् । सम्झेर कतिबेला आनन्द लिने कुरा हुन् भने कतिबेला अहिलेको कुरा सुनेर दिक्क मान्ने कुरा हुन् । त्यसो त अहिले हाम्रै गाउँ पाखामा पनि यो स्थिति छैन । नयाँ कपडा लगाउन दशैँ कुर्नु पर्ने चलन चाइनाले अन्त्य गर्दीइसक्यो । बिज्ञान, प्रबिधि, सूचना र यातायातले गाउँ र शहर बीच त्यति धेरै फरक छैन । त्यसमाथि बिदेशमा दशैं कस्तो होला अनुमान लगाउन सजिलो छ । तर साँघुरिएको बिस्वमा बिभिन्न तरिकाले दशैं मनाइन्छ । काम छोड्न नपाए पनि छुट्टीको दिन सांस्कृतिक र अन्य कार्यक्रम गरेर दशैं मनाइन्छ । अमेरिकामा पनि त्यहि चलन छ, टेक्सासमा पनि त्यहि गरिन्छ । टेक्सासको डालस क्षेत्रमा पनि त्यहि हो । आफ्ना ती पुराना अनुभवलाई ताजा बनाउंदै समय अनुकुल, परिस्थिति अनुकुल आफ्नो धर्म र संस्कृतिलाइ जीवित राख्न नेपालीहरुका बिभिन्न संस्थाहरुले अमुल्य योगदान गर्दै आएका छन् ।
त्यहि पुनित उद्देश्यका साथ् नेपाली समाज टेक्सासले दशैको अवसर पारेर आगामी शनिबार अर्थात् अक्टोबर ८ गतेका दिन दशैँ बिशेष साँझ आयोजना गर्ने भएको छ । उक्त साँझमा नेपालबाट हाँस्य कलाकार सन्दिप क्षेत्रि पनि आउंदैछन् । गीत गाउन अमेरिकामा रहेका विभिन्न कलाकारहरु आउंदै छन् । नाच्नको लागि एक खुट्टाले नाचेर संसारलाइ चकित तुल्याउने रश्मि खरेल पनि तपाईंलाइ मनोरंजन दिन र उत्साह दिन उक्त कार्यक्रममा आउंदैछिन । लामो समय अमेरिका बसेका तर “खैरेनीमा गेट, अन्तै दिल बस्यो कि निरमायाँ हुनै छोड्यो भेट” भन्ने गीत गाएर चर्चित भएका लोक गायक भगवान भण्डारी र शान्ति भण्डारी आउंदैछन् ।
त्यति मात्र होइन, हाम्रो डालस नेपाली समाज स्थानीय प्रतिभाहरुले पनि भरिपूर्ण छ । उक्त कार्यक्रममा तपाईंलाइ नयाँ स्वाद पस्किन नृत्य निर्देशक शार्दुला जोशी रिहर्शलमा ब्यत हुनुन्छ । अहिले सम्मकै राम्रो नाच देखाउने तयारीमा शार्दुला जोशी हुनुहुन्छ भने तपाईंको जिउको बोंसो घटाउन डिजे ममले पनि तयारी गरेका छन् । राति २ बजे सम्म नाँच्ने र रमाइलो गर्ने व्यवस्था गरिएको कार्यक्रममा थुप्रै लोकप्रिय नेपाली गीत बजाउन डिजे ममले सबै गित मिक्सिंग गरिसकेका छन् । खाना सहित $२० प्रवेश शुल्क राखिएको यो कार्यक्रममा उपस्थित भएर दशैंको पुर्बसंध्या मनाउन नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले बिज्ञप्ति मार्फत अनुरोध गर्नु भएको छ ।