भाषा: अभिव्यक्तिको माध्यम कि योग्यताको आधार ?
आफ्नो मनको कुरा अरुलाई बुझाउन प्रयोग गरिने माध्यमलाइ भाषा भनिन्छ। शब्दकोशले त्यहि भन्छ। तपाईंले अरुलाई बुझाउन बोल्न मात्र पनि जरुरि छैन। हात, आँखा वा अन्य इशाराले पनि अरुलाई आफ्नो कुरा सुनाउन वा जानकारी दिन सकिन्छ। अरुलाई बुझाउन सजिलो होस भनेर नसुन्ने वा नदेख्नेहरुको लागि पनि त्यहि प्रकारको भाषा तयार गरिएको छ। उनीहरुले पनि त्यहि भाषाको प्रयोग द्वारा आफ्ना कुरा अभिव्यक्त गर्छन भने अरुका कुरा पनि त्यसरी नै प्राप्त गर्छन। बोल्न नसक्नेले लेखेर वा इशारा गरेर पनि आफ्नो कुरा अरुलाई बुझाउँछन्। खाली फरक भनेको तरिका मात्र हो। भाषाको खास उद्देश्य त्यहि नै हो।
अहिले संसारमा हज्जारौंको संख्यामा भाषाहरु छन्। चीनमा बोलिने मन्दरिन भाषा संसारमा प्रतिशतको हिसाबले सबभन्दा बढी मान्छेले बोल्छन जुन बिस्व जनसंख्याको १४% छ। सबभन्दा कम बोलिने भाषा अयापानेको हो जुन मेक्सिकोमा रहेको भाषा हो जुन जम्मा दुइ जनाले बोल्छन। भन्न खोजेको के हो भने जतिले बोले पनि भाषा भाषा नै हो। अंग्रेजी भाषा अहिले बिस्वब्यापी रुपमा बोलिन्छ। यसको विकास र विस्तार तिब्र रुपमा भैरहेको छ। संसार साँघुरिदै जाँदा एउटा साझा भाषाको आबस्यकता अंग्रेजीले पुरा गर्न खोजेको देखिन्छ । यद्यपि थुप्रै देशहरुमा आफ्ना आफ्नै भाषा बोलिन्छ र लेखिन्छ। अंग्रेजी भाषाको विकास र विस्तार संगै कतिपय भाषाहरु रक्षात्मक अबस्थामा पुगेका छन्।
नेपाल देश सानो भए पनि धेरै भाषाहरु बोलिन्छ । केन्द्रिय तथ्यांक बिभागको २०११ को रिपोर्ट अनुसार नेपालमा १२३ भाषाहरु बोलिन्छ। अधिकांश भाषाहरु बिलाउने खतरामा छन्। संस्कृत भाषा धार्मिक ग्रन्थहरुमा मात्र सिमित छ जुन भाषा नियमित जीवनमा बोल्ने मान्छे नै छैनन् भन्दा पनि हुन्छ। त्यस्तै खस भाषा पनि केहि मान्छे मात्र बोल्छन। अन्य धेरै भाषाहरु अहिले नेपालमा संकटमा छन्। ती भाषा बोल्नेहरुको संख्या दिनदिनै घट्दै छ। नेपालमा नेपाली भाषा अधिकांश अर्थात् लगभग ४७% को मातृभाषा हो भने राष्ट्रिय भाषा भएकोले बोल्नेहरुको संख्या लगभग ९५% भन्दा बढी छ। नेपालमा अहिले नेपाली भाषाको प्रयोग बढी भए पनि बढ्दो अन्तररास्ट्रीयकरणले यो भाषा माथि चौतर्फी आक्रमण शुरु भएको छ।
नेपालमा २०४६ सालको जनआन्दोलन पछि निजि बिद्यालयहरु तिब्र रुपमा खुले। शहर बजार देखि गाउँ घरसम्म निजि बिद्यालयको फेसन चल्यो। पाठ्यक्रम सरकारी र निजि स्कुलमा एउटै तर त्यसको पढाउने माध्यम फरक थियो र अहिले पनि त्यहि छ । सरकारी स्कुलमा एउटा अग्रेजी र बाँकी नेपालीमा पढाई हुन्छ भने निजि बिद्यालयहरुले एउटा नेपाली र अरु बिषय अंग्रेजीमा पढाउने गर्छन। जुनसुकै भाषामा सिके पनि सिक्ने कुरो एउटै हो। माध्यम मात्र फरक हो। त्यो फेसन झाङ्गिदै गर्दा अंग्रेजी नबोल्ने अनाडि हो र बोल्ने ठुलो मान्छे हो भने कुरीति पनि समाजमा ब्याप्त हुन थाल्यो। त्यहि अंग्रेजी सिकाउने नाममा सरकारी स्कुलका मास्टरहरुले समेत आफ्ना छोरा छोरी निजि स्कुलमा पठाउन थाले। रेडियो र टेलिभिजनका पर्दामा ठुटे अंग्रेजी जबर्जस्ति घुसाइयो । जानी नजानी नेपाली भाषी माथि अंग्रेजी थोपर्न शुरु गरियो। यो कसैको कसै माथि नियतबस गरिएको भन्दा पनि फेसनको रुपमा बिकसित भयो। पश्चिमा शैलीका कार्यक्रमहरु संचालनमा आउन थाले। पश्चिमा धर्म र संस्कृति नेपालीहरुलाई जबर्जस्ति घिचाउन शुरु गरियो।
हाम्रो युवा पिंढी पनि त्यसको शिकार बन्यो। कुनै पनि भाषा मान्छेको योग्यताको मापन गर्ने आधार हुन सक्दैन भन्ने न्युनतम जानकारी नराखी बिदेशी भाषाको नक्कल गर्न थालियो। भाषा आफ्नो मनको कुरा अरुलाई बुझाउने माध्यम मात्र हो भन्ने कुरा भुलेर अंग्रेजी बोले ठुलै मान्छे बनिन्छ भन्ने धारणाको विकास हुँदै गयो। बिस्तारै नेपाली भाषाका रेडियो र टेलिभिजनहरुमा अंग्रेजी नजानिँदो रुपमा हावी बन्यो। अहिले तपाईं रेडियो सुन्नु भयो वा टेलिभिजन हेर्नु भयो अधिकांश प्रस्तोताहरु अंग्रेजी बोल्छन। कताकति नेपाली अनि धेरै जसो अंग्रेजी बोल्छन। खच्चड तरिका अपनाउँछन्। उनीहरुलाई थाहा छ उनीहरुको कार्यक्रम सुन्ने सबै नभए पनि धेरै नेपाली राम्रो संग बुझ्ने छन् र अंग्रेजी धेरैले होइन थोरैले मात्र राम्रो संग बुझ्छन। तर कुन हावाले छोएको छ तिनलाई, पुरै नेपाली बोल्न तिनीहरु लाज मान्छन। अंग्रेजी बोल्यो भने राम्रो प्रस्तोता कहलिइन्छ भन्ने उनीहरुको सोंचाई रहेको देखिन्छ ।
म अंग्रेजी वा कुनै भाषाको बिरोधि होइन। तपाईंलाइ जुन भाषामा सजिलो लाग्छ त्यहि बोल्नु पर्छ। तर हेक्का राख्नु पर्ने कुरा के हो भने तपाईंले कुन भाषा प्रयोग गर्दा तपाईंको अघि बसेको वा तपाईंले कुरा गरिराखेको मान्छेले राम्रो संग बुझ्न सक्छ भन्ने ठम्याउन जरुरि छ। त्यति सामान्य ज्ञान तपाईंमा हुनै पर्छ। तपाईंसंग दुइ वटा भाषाको ज्ञान छ भने आफुले कुरा गरेको मान्छे जुन भाषामा पोख्त छ त्यहि प्रयोग गर्नु ठिक हो। अंग्रेजी बोलेर उसले धेरै बुझ्ने होइन। अर्थात् तपाईं नेपाली र अंग्रेजी बोल्न जान्नु हुन्छ भने र तपाईंले कुरा गर्दै गरेको मान्छे नेपालीमा राम्रो बुझ्छ भने नेपाली प्रयोग गर्दा ठिक हुन्छ। मलाई लाग्छ त्यहाँ भाषा के बोल्ने होइन कुन भाषामा कुरा गर्दा उसले राम्रो संग बुझ्छ भन्ने हो। आफुले कुरा गरिराखेको मान्छेलाइ तपाईंले बुझाउनु छ भने उसकै भाषा प्रयोग गर्नु बुद्धिमत्तापूर्ण हुन्छ।
नेपालमा हुने फेसन शो, सुन्दरी प्रतियोगितामा त्यो रोग झन् बढी छ। जानी नजानी अंग्रेजी बोल्नै पर्ने बाध्यता त्यहाँ भएको जस्तो देखिन्छ। केहि समय अघि नेपालको नाम चलेकी हिरोइनले बोलेको अंग्रेजी युट्युबमा निकै चर्चित भएको थियो। त्यस्तै नेपालकी एकजना मन्त्रीले संयुक्त राष्ट्र संघमा अंग्रेजीमा दिएको बक्तब्यले पनि राम्रै बजार तताएको थियो। आफुले कुन भाषामा राम्रो संग आफुलाई अभिव्यक्त गर्न सकिन्छ र आफुले सुनाउन खोजेको समुहले कुन भाषामा बढी बुझ्छ भनेर पर्गेल्न सकिएन भने त्यस्ता लाजमर्दो परिस्थितिहरु सिर्जना हुन सक्छन। यो नेपाली र अंग्रेजीको मात्र कुरा होइन, हरेक भाषा बोल्नेहरुको लागि लागु हुन्छ। बोल्दा सके सम्म एउटा भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। खच्चड भाषा प्रयोग गर्न जरुरत छैन। कुरो के भने तपाईं अंग्रजी नेपाली भन्दा राम्रो बोल्नु हुन्छ भने र तपाईंका श्रोताहरुले पनि अंग्रेजी राम्रोसंग बुझ्नु हुन्छ भने मज्जाले अंग्रेजी बोल्नुस किनभने त्यसले बोल्ने र सुन्नेको अधिकतम सम्पर्क हुन सक्छ। मलाई लाग्छ तपाईं जे कुरा बुझाउन कसरत गर्दै हुनुहुन्छ, उनीहरुले बुझ्ने भाषा प्रयोग गर्नु भयो भने तपाईंले दिन खोजेको कुरा उनीहरुसंग पुग्छ। होइन यसले अंग्रेजी जान्दछ भन्ने पार्न खोज्या हो भने अंग्रेजी नै हान्दा हुन्छ, अंग्रेजी मै बोल्दा तपाईंको उद्देस्य पुरा हुनसक्छ।
अमेरिकामा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा म समयले र खल्तिले भ्याए सम्म जाने गर्छु। नेपाली भएको नाताले नेपालबाट आउने कलाकारहरुलाई राम्रो सम्मान गर्छु। उनीहरुको देश भक्ति र आफ्नो भाषा र संकृति प्रतिको लगावको म उच्च मुल्यांकन गर्छु। अहिले लगभग सबै जसो कार्यक्रमहरुमा नेपाली गीत मै नाचिन्छ। गीत गाउन पनि नेपाली कलाकार नै आउँछन् र नेपाली गीत गाउँछन्। तर त्यो खच्चड भाषाको रोग यी कलाकारहरुमा पनि देखिन्छ।गीत नेपालीमा गाउनु हुन्छ, त्यसैमा सबै जना नाच्नु पनि हुन्छ तर गीत सके पछि ठुटे अंग्रेजी हान्न शुरु गर्नु हुन्छ। “आर यु इञ्जोइङ्ग, गाइज?” “हाउ वज दयाट” “लेटस डान्स” जस्ता मात्र होइन गीत बाहेक सबै अंग्रेजीमा हान्दिनु हुन्छ। नेपाली गीत बुझेर तपाईंको गीतमा नाँच्नेले पक्कै अरु पनि नेपाली बुझ्नु हुन्छ भन्ने कुरा उहाहरुले जोशमा बिर्सिदिनु हुन्छ। तपाईंको गीतलाइ नेपालीहरुको भावाना संग जोड्न नेपाली नै बोल्दा बढी प्रभावकारी हुन्न र ? जुन भाषामा गीत गाउनु हुन्छ त्यहि भाषामा बोल्दा तपाईं दर्शक श्रोता संग बढी नजिक हुनुहुन्छ नि, होइन र ?
अन्त्यमा,
भाषा एउटा अभिव्यक्तिको माध्यम हो। यो कसैको योग्यताको कडी वा अर्को भाषा नजान्नु अयोग्य हुनु होइन। जुनसुकै भाषामा जाने पनि ज्ञान हुन जरुरि छ। सकेसम्म धेरै भाषा जानेको राम्रो। आफ्ना कुरा धेरैलाई बुझाउनु छ भने धेरैले बुझ्ने भाषा सिकेको राम्रो, अनि आबश्यक पर्दा बोलेको राम्रो। तर एउटा भाषा बोल्दा तुच्छ भइन्छ र अर्को भाषा बोल्दा ठुलो भइन्छ भन्ने सोंच पनि त्यागेकै राम्रो। (ठाउं कुठाउँ अंग्रेजी बोल्ने र अंग्रेजी नै सभ्यता, सफलता र योग्यताको कडी हो भन्ने सज्जनहरुको नाममा ससम्मान समर्पित)