डालसमा वाक फर नेपाल नोभेम्बर ४ गते हुने
अक्टोबर ७, डालस । यसबर्ष डालसमा फेरी वाक फर नेपाल हुने भएको छ । आगामी नोभेम्बर ४ गते शनिबार हुने उक्त कार्यक्रम बाकम्यान ताल डालसमा हुनेछ । दिउसो १२ बजे देखि अपरान्ह ६ बजे सम्म ३५०० वेस्ट नर्थवेस्ट हाइवे, डालसमा आयोजना हुँदैछ । बिगत २०१२ देखि नै लगातार प्रत्येक बर्ष यो कार्यक्रम संचालन हुँदै आएको छ । अघिल्ला बर्षहरुमा युलेस र आर्लिङ्ग्टन सहरमा वाक फर नेपाल सम्पन्न गरिएको थियो भने यस बर्ष डालसमा सम्पन्न गरिंदैछ।
बिदेशमा नेपालीहरुको संख्या दिनदिनै बढ्दै छ। उनीहरुको कमाइ बढ्दै छ, दायरा बढ्दै छ। उनीहरुको संगठित प्रयासबाट मात्र नेपालमा रचनात्मक र गुणात्मक काम गर्न सकिन्छ। आफ्नो जन्मभुमी प्रतिको ऋण चुकाउन सबैलाई मन लाग्छ तर संगठित रुपमा काम गर्न नसक्दा त्यो चाहना पुरा हुन सक्दैन। त्यहि उद्देस्य पुरा गर्न शुरु गरिएको छ, वाक फर नेपाल। यो अमेरिका, नेपाल र बेलायतमा समेत सक्रिय छ। वाक फर नेपाललाइ “नेपालको युवा” संस्थाले संचालन गर्छ । यसले विस्वका कुनै कुनामा वाक फर नेपाल आयोजना गर्न क्षमता र आबस्यकता हेरी स्वीकृति दिने गर्छ । सोहि अनुसार अमेरिकाको बोस्टन, डालस मात्र होइन लन्डनमा समेत यस्तो कार्यक्रम संचालन भैसकेका छन् ।
अघिल्ला बर्षहरुमा पनि यसलाई उद्देस्यमुलक बनाउन केहि न केहि परियोजना अगाडी सारिन्थ्यो जसले दाताहरुलाई आफ्नो सहयोग कहाँ प्रयोग भैरहेको छ भन्ने जान्न सजिलो हुन्थ्यो। यसबर्ष पनि ३ वटा बिशेष परियोजनाहरुमा सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको छ। डालसमा आयोजना हुन लागेको उक्त कार्यक्रमका संयोजक प्रदिप गिरीका अनुसार “घर सित मुटु” House with Heart भन्ने संस्थालाइ सहयोग गर्नेछ । शिक्षाको अवसरबाट बन्चित बालबालिका र अप्ठेरोमा परेका महिलाहरुको लागी कार्यरत उक्त संस्थालाई शैक्षिक सामग्री लगायत अन्य भौतिक सहयोग गर्ने योजना रहेको छ।
त्यसै गरी समुदायमा पानी र सरसफाईको क्षेत्रमा सहयोग गर्ने नीति अनुरुप बारा जिल्लामा केहि सौचालय निर्माण अभियानमा सहयोग गर्ने यो संस्थाको उद्देस्य रहेको छ। लिभिङ्ग अर्थ इन्स्टिच्युट जुन वाक फर नेपालले हातेमालो गर्दैछ, बारा जिल्लाको रमपुरवा गाउँ विकास समितिलाई खुल्ला दिशापिसाब मुक्त क्षेत्र घोषणा गरेको थियो। यसले अहिले सम्म ८५० वटा शौचालय निर्माण गरिसकेको छ । नेपाल राइजिङ्ग भन्ने सियाटल आधारित नेपाली संस्थाको सहयोगमा $५००० को लागतमा २५ वटा शौचालय निर्माणमा वाक फर नेपाल डालस २०१७ आयोजना गरिएको हो।
त्यस्तै रिपिंग होम नामक संस्थाको बृद्ध बृद्धाहरुलाई सहयोग गर्ने परियोजनामा हातेमालो गर्नेछ। भिम ढुंगाका ८ जना बृद्ध बृद्धाहरुलाई सहयोग गर्ने उद्देस्यले स्थापित रिपिंग होपले अन्य जिल्लामा समेत सेवा विस्तार गर्दैछ।
यसरी प्रबासी सहयोगी मनहरुबाट उठेको रकम नेपालका बिपन्न र आधारभूत कुराहरुबाट बन्चित बालबालिका, महिला र बृद्धहरुलाई सहयोग गर्ने उद्धेश्य साथ आयोजना गरिएको “वाक फर नेपाल” मा सहभागी हुन बिगत ५ बर्षदेखि डालसमा आयोजना हुने “वाक फर नेपाल” को संयोजन गर्दै आएका संस्थाका सदस्य सुमन कार्कीले सबैमा सादर अनुरोध गरेका छन्।