निर्वाचन सुरक्षाको समीक्षा
काठमाडौँ, १ असोज (रासस)ः निर्वाचन आयोगमा आज बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा निकायबाट गरिएको सुरक्षा प्रबन्धका सम्बन्धमा समीक्षा गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा बसेको उक्त बैठकमा सुरक्षा निकायका प्रमुखबाट निर्वाचन कार्यक्रम पूर्णसुरक्षा प्रबन्धका साथ सञ्चालन गर्न सबै किसिमको तयारी मिलाइएको जानकारी प्रस्तुत भएको थियो ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त डा यादवले खुला सीमाना, जनघनत्व बढी भएको र केही समयअघिको बाढी, कटान तथा डुबानबाट अस्तव्यस्त भएको अवस्थामा हुन लागेको निर्वाचनमा जुनसुकै अवस्थामा पनि सुरक्षा चुनौति आउन सक्नेतर्फ सचेत र सजग रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “मतदानको कार्यक्रम, मतपेटिका ओसारपसार तथा मतगणना गरी परिणामको घोषणा हुने समयसम्म चुस्त सुरक्षा व्यवस्थाको आवश्यकता रहेको छ ।”
आयुक्त शाहले सुरक्षा विषयमा कोही कसैसँग सम्झौता हुन नसक्ने कुरालाई ध्यानमा राखी निर्भिकताका साथ सुरक्षा कार्यमा लागिरहनुपर्नेमा जोड दिनुभयो । बैठकमा रक्षा र गृह मन्त्रालयका उच्च पदस्थ अधिकृतका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको थियो ।