खरेल र अधिकारीलाई ‘लीलाध्वज साहित्य सम्मान’
काठमाडौँ, १० असार । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले गीतकारद्वय किरण खरेल र दिनेश अधिकारीलाई आज ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ ।
गीत रचनाको माध्यमबाट खरेल र अधिकारीले नेपाली साहित्यको क्षेत्रलाई फराकिलो बनाएकाले उहाँहरुको योगदानलाई कदर गरी प्रतिष्ठानले दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको संयोजकत्वमा गठित ‘लीलाध्वज साहित्य सम्मान’ छनोट समितिले खरेल र अधिकारीलाई सम्मानका लागि सिफारिस गरेको थियो । खरेल गीत लेखनमा सक्रिय हुनुहुन्छ भने निजामती सेवामा सचिवबाट अवकाश प्राप्त गर्नुभएका अधिकारीले पनि गीत रचना गर्दै आउनुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरेले उहाँहरुलाई सम्मान गर्दै स्रष्टाले मुलुकका विभिन्न भूभाग तथा जाति समुदायका यथार्थतालाई नजिकबाट बुझेर नेपाली समाजको सशक्तीकरणका लागि सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
गीतकार खरेलले विविधताले भरिएको नेपाली समाजमा साहित्यले मुलुकमा बस्ने नागरिककाबीच सहअस्तित्व तथा सामाजिक सद्भाव कायम गरी राष्ट्रलाई प्रगतितर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो ।
अर्का गीतकार अधिकारीले गीतकारले सबै समुदायका संस्कृतिलाई संरक्षण गर्न सकेमा त्यसले नेपाली समाजको एकता अभिवृद्धि हुने र राष्ट्रियता सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले साहित्यको माध्यमबाट समाजको विकासमा अग्रसर रहने स्रष्टालाई सम्मान तथा पुुरस्कृत गर्ने संस्थाको नीति रहेको बताउनुभयो ।