इजरायलले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने
जेरुसेलम, ६ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्नका लागि दुई दशकपछि पहिलो पटक बाटो खुलेको बताउनुभएको छ ।
यस वर्षमात्रै इजसरायली सर्वोच्च अदालतको निर्णयबमोजिम भत्काइएको एमोना क्षेत्रमा नयाँ बस्ती बसाल्ने योजना प्रधानमन्त्री नेतन्याहुले अघि सार्नुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आएपछि मध्यपूर्वका लागि अमेरिकी प्रतिनिधिको नियुक्त गर्नुभएको र उहाँ यस क्षेत्रमा आइपुगेपछि प्रधानमन्त्री नेतन्याहुले करिब दुई दशकदेखि रोकिँदै आएको नयाँ बस्ती निर्माणलाई अघि बढाउने योजना सार्वजनिक गर्नुभएकोे हो ।
प्रधानमन्त्रीले मङ्गलबार सञ्चारकर्मीसँग बोल्नुहुँदै अब नयाँ बस्ती बसाल्ने विशेषाधिकार प्राप्त गरेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा ट्रम्पले आफू अमेरिकी राष्ट्रपतिमा नियुक्त भएमा नयाँ बस्ती बसाउने इजरायलको योजनामा सहानुभूति राख्ने बताउनुभएको थियो ।
प्यालेस्टाइनले वेस्ट बैंकलाई सन् १९६७ मा इजरायलद्वारा कब्जामा लिइएको भविष्यको राज्य भन्दै बस्ती बसाल्ने कुराको विरोध गर्दै आएको छ । यसमा पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनकोे सहयोग रहँदै आएको थियो ।
ट्रम्पका उच्च सहयोगी तथा ज्वाई जारिद कुसनर र मध्यपूर्वका लागि अमेरिकी राजदूत जासन ग्रीनब्लाट यसै सातामात्र इजरायल पुग्नुभएको छ ।