मे १४ का दुइ कार्यक्रम: दिक्षान्त समारोह र एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरु बिचको बहस
यो आइतबार ब्यस्त रह्यो दुइवटा जल्दा बल्दा कार्यक्रमको कारण। एउटा नेपाली समाज टेक्सासको कार्यक्रम थियो। जसमा नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाका बालबालिकाहरुको दिक्षान्त समारोह थियो अपरान्ह १ बजे। त्यसको लगत्तै नेपाल अमेरिका पत्रकार संघ द्वारा आयोजित र नेपाली समाज टेक्सास र एनआरएन टेक्सास च्याप्टरको सहयोगमा एनआरएनए अमेरिकाका अध्यक्ष पदका प्रत्यासीहरूको बहस थियो। दुबैको आफ्नो महत्व थियो। दुवै कार्यक्रममा नेपाली समाजको सकारात्मक परिवर्तन चाहने व्यक्तिहरुको उपस्थिति थियो। दुवै कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भए।
नेपाली पाठशालाका नानीबाबुहरुको दिक्षान्त समारोह
अपरान्ह एक बजे दिक्षान्त समारोह थियो। कार्यक्रमको तयारी गर्दै गर्दा मैले दुइ तीन जना नेपाली पाठशालाका बालबालिकाहरु संग भलाकुसारी गरेको थिएँ। स्कुल जानु आउनु ठुलो कुरा पक्कै होइन, त्यहाँ गएर के सिकिन्छ, त्यो ठुलो कुरा हो। मेरो चाहना उनीहरुले के सिक्छन, के सिक्न चाहन्छन वा नेपाली पाठशालामा के भए अझै राम्रो हुन्थ्यो भन्ने उनीहरुलाई प्रस्न गरेको थिएँ। त्यस मध्ये प्रिशा सिवाकोटी स्कुलमा नेपाली भाषाको पढाई होस् भन्ने चाहन्छिन, अरु धेरै नेपाली लेख्न, बोल्न र पढ्न मन पर्छ, स्कुलमा आए पछि पहिले भन्दा उनको नेपाली सुध्रेको छ र नैतिक सिक्षाको कारण आफुमा केहि सकारात्मक सांस्कृतिक परिबर्तन आएको उल्लेख गर्छिन। अमोन आचार्यलाइ सोधिएका प्रश्नहरुमा नथिंगको उत्तर मिल्यो।नीरव पोख्रेल भने खुलेरै बोले। नेपाली स्कुलमा के भए राम्रो हुन्छ भनेको प्रश्नमा गृह कार्य हुनुहुन्न, खेल्न पाउनु पर्छ, राम्रो राम्रो डकुमेन्ट्री देखाउनु पर्छ। डकुमेन्ट्री नेपाली भए झन् राम्रो लाग्छ। उनले आफ्नो नाम उल्लेख नगर्न भनेका थिए। किन भन्दा मलाई लोकप्रिय हुनु छैन, म जे छु ठिकै छु भन्ने जवाफ दिए। अर्की बिद्यार्थी दिव्याना भट्टराईले आफुलाई नेपाली स्कुल आउन मन पर्ने, नाचको कक्षा सबभन्दा मन पर्ने र नेपाली लेख्न सिक्न मन लागेको बताइन ।
प्रिशा, अमोन, नीरव र दिव्याना जस्तै थुप्रै बालबालिका हिजो दिक्षित भए। औपचारिक कार्यक्रम पनि सम्पन्न गरियो। अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रममा सम्बोधन गर्नु भयो । स्कुल संचालनमा आफ्नो निजी स्वार्थ नभएको स्पस्ट गर्नुभयो । हज्जारौं नेपाली भएको क्षेत्रमा बिद्यार्थी चाप कम भएकोमा नेपाली समाज टेक्सासको केहि कमजोरी छन् भने छलफल गरेर सच्च्याउन तयार रहेको उल्लेख गर्दै आफ्ना बालबालिकालाई अंग्रेजी सिकाउन भन्दा नेपाली सिकाउन बल गर्नु पर्ने धारणा राख्नु भयो। लामो समय देखि नेपाली पाठशाला निर्माण र संचालनमा अतुलनिय योगदान गर्दै आउनु भएका स्थानीय समाजसेवी मुरली अधिकारीले भाषा, संस्कृतिको महत्व के छ भन्ने बारेमा सारगर्वित मन्तब्य दिनु भएको थियो।
कार्यक्रमको संचालन महासचिव कमल सत्यालको साथमा आइषा ओझाले गरेकी थिइन । पाठशाला संचालन अबधिभर स्वयंसेवी भएर काम गर्ने देखि यसलाई सफलतापुर्बक सम्पन्न गर्न मद्धत गर्नेहरुलाई सम्मान पत्र समेत उक्त अबसरमा प्रदान गरिएको थियो । सबै बिद्यार्थीहरुलाई दिक्षित भएको प्रमाणपत्र प्रदान गरिएको थियो भने नृत्य प्रशिक्षक समेत रहेकी आइषा ओझाले समूह समूहमा विभाजित गरेर नेपाली भाषाका गीतहरुमा नृत्य प्रस्तुत गराएकी थिइन। हरेक कुरामा खोट लगाउने र उपस्थित हुन बहाना खोज्नेहरुले त जे पनि भन्न सक्छन तर मेरो बिचारमा यो कार्यक्रम हाम्रो समुदायमा हुने कुनै पनि कार्यक्रम भन्दा महत्वपूर्ण थियो।स्कुल संचालनमा कमजोरी छन् भन्ने स्वीकार गर्ने फराकिलो छाती नेपाली समाज टेक्सासका पदाधिकारीहरुलाई हुनुपर्छ भने कमजोरी सुधार्न के गर्न सकिन्छ भनेर उत्तम बिकल्प दिन अभिभावकहरु पनि पछि पर्नु हुन्न । यसको एउटा पाटो भएर त्यहाँ उपस्थित हुन पाउँदा मलाई गौरवको अनुभूति भयो।
नेजाको एनआरएनएमा अध्यक्ष पदका प्रत्याशीहरुसंगको बहस
मलाई लाग्छ, यो ठुलो कार्यक्रम थियो। अमेरिकाका बिभिन्न राज्यबाट ठुलो संख्यामा एनआरएनका व्यक्तित्वहरु उपस्थित थिए। न्यु योर्क देखि क्यालिफोर्नियासम्म बाट उम्मेदवारहरु, समर्थकहरु र सहभागीहरुको त्यहाँ उपस्थिति थियो। अहिले चर्चामा रहेका ६ जना उम्मेदवार मध्य ५ जना उपस्थित हुनुहुन्थ्यो। न्यु योर्क बाट कृष्ण पोख्रेल, केशव पौडेल देखि क्यालिफोर्निया बाट दिल्ली भट्टराई आउनु भएको थियो। समयाभावका कारण रबिना थापा उपस्थित हुन सक्नु भएन। त्यस्तै गरी टेक्सासका प्रत्याशीहरु राम पोख्रेल र गौरी जोशी उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा धेरै पदमा उम्मेदवार बन्न मन लागेका व्यक्तिहरु आउनु भएको थियो। झिना मसिना कुरा बाहेक कार्यक्रम सौहाद्रपूर्ण रुपमा सम्पन्न भयो भने बहस पनि सघन र सार्थक भयो। बहसका संयोजक तथा प्रस्तुत कर्ता बाल जोसीले आफ्नो कला प्रस्तुत गरे। उम्मेदवारहरुले पनि आफ्नो कुरा स्पस्ट गर्न पाएकोमा लामो यात्रा पनि बिर्सेको अनुभूति गरे।
बहसको अन्त्यमा अन्य पदमा उम्मेद्वारी दिएका व्यक्तिहरुलाई २ मिनेट समय दिएर बोल्न अवसर प्रदान गरिएको थियो। जसमा कृष्ण जिसी, स्वराज खाती, इन्दिरा त्रिपाठी, नवराज केसी, भानु खरेल, भुवन आचार्य, पुष्पलता भण्डारी, बिआर लामा, सुसिल रेग्मी, डाक्टर अर्जुन बन्जाडे लगायतले आफ्नो परिचय दिंदै उम्मेद्वारी दिनुको कारणको साथै त्यसलाई पुस्टि गर्न आफुले गरेका र गर्न सक्ने कामहरुको बारे छोटो मिठो बक्तब्य प्रदान गर्नु भएको थियो। कार्यक्रमको शुरुमा नेजाका अध्यक्ष भोला आचार्यले सहभागी सबैलाई नेजाको तर्फबाट स्वागत गर्दै उपस्थित सबै व्यक्तिहरुलाई धन्यवाद दिनुभएको थियो। त्यस्तै एनआरएन अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछाने र नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले पनि बहस कार्यक्रमको सफलताको कामना गर्दै यस्ता सार्बजनिक बहसहरूले मतदाताहरुलाई आफुले मतदान गर्न व्यक्ति चयनमा सजिलो हुने धारणा पेश गर्नु भएको थियो।