युएनएको दोश्रो सम्मेलन सफल पार्न को को छन् पर्दा पछाडी ??
April 23, 2017 | 12:49 am    
आगामी मे महिनाको अन्तिम सप्ताहन्त अर्थात् मेमोरियल डे विकेन्डमा युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन सम्पन्न हुन गैराखेको छ । नेपाली युवाहरुमा समर्पित युएनएले गर्न लागेको यो डालसमा गर्न लागेको यो सम्मेलन धेरै कारणले बिशिस्ट महत्वको छ । अमेरिकामा नेपालीहरुको संख्या बढे संगै अमेरिकी समाजमा एकीकृत हुन चाहनेकोहरुको संख्या पनि बढ्दै गैरहेको छ । आफ्नो सिमित साधन र श्रोतको बाबजुद समुदायको सहयोगमा केहि योगदान पुर्याउने उद्देस्यले युएनएले युबा लक्षित कार्यक्रमहरु संचालन गर्दै छ । खेलकुद, सांस्कृतिक कार्यक्रम, साना साना बालबालिकाहरुको ट्यालेण्ट शो, ब्यबसायीहरुको लागि उत्प्रेरक बक्ताहरु लगायत थुप्रै जीवनोपयोगी तत्वहरुले भरिपूर्ण छ युएनए सम्मेलन ।
मे २६ शुक्रबार देखि आइतबार मे २८ सम्म संचालन हुने सम्मेलनमा बिशेष अतिथिको रुपमा नेपालको क्रिकेट टोलीका कप्तान पारस खड्का पनि आउंदै हुनुहुन्छ । अमेरिकामा ब्यबसाय गरेर बसेका र गर्ने चाहना भएकाहरुको लागि उत्प्रेरणा बिनोद चौधरीले प्रदान गर्नुहुनेछ भने पारस खड्काले नेपाली युबाहरुलाई खेल र अन्य माध्यमबाट सफलताको पर्खाइमा रहेका अमेरिकामा रहेका नेपाली किशोर किशोरीहरुलाई उत्प्रेरणा प्रदान गर्नुहुनेछ । सोनी राजभण्डारी र नग्मा श्रेष्ठ फेसन शो र अन्य युवा लक्षित प्रभावकारी कार्यक्रमहरु संचालन गर्न सहभागी हुँदै हुनुहुन्छ । यी र यस्तै कार्यक्रमका कारण यो एक भब्य अवसर हुनेछ भन्नेमा आयोजकहरु बिस्वस्त छन् ।
यो सम्मेलनको प्रमुख कमान्डर पासाङ्ग लामा हुनुहुन्छ । उहाँको नेतृत्वमा यो सम्मेलन आयोजना हुँदैछ । करिब २० बर्ष अघि बिद्यार्थी भिसामा अमेरिका प्रवेश गरेका पासांग टेक्सास र अमेरिका कै उदाहरणिय ब्यबसायी मानिनुहुन्छ । उहाँको सफलताको कथा जति चाखलाग्दो छ त्यति नै संघर्षपूर्ण पनि । “दुनियाँमा सफल हुन मिहिनेत र उच्च मनोबल सबभन्दा महत्वपुर्ण कुरा हुन् । त्यस्तै भाग्यले पनि साथ दिनु पर्छ” आफ्नो बिगत सम्झिँदै पासांग भन्नु हुन्छ । हरेक गर्ने काममा पहिलो हुन्छु भन्ने मनोबल राख्यो भने असम्भव केहि छैन । सफल ब्यबसायी मात्र होइन, लामा समाज सेवामा पनि लामो समय देखि सक्रिय हुनुहुन्छ । समाजमा भैपरी आउने हरेक अप्ठेराहरुमा दिल खोलेर सहयोग गर्ने लामाले युबालक्षित संस्थाहरुको अमेरिकामा अभाव महशुश गरेर २०१६ मा यो संस्थाको स्थापना गर्नु भएको हो । समाजमा सकारात्मक र गुणात्मक परिबर्तन ल्याउने हो भने युवालाई नै अघि बढाउनु पर्छ भन्ने उहाँको गहिरो विश्वास छ ।
यो सम्मेलन सफल पार्न गठन गरिएको समितिमा बिएन पन्त प्रमुख संयोजक हुनुहुन्छ । प्रस्ट बोली, उत्प्रेरक शव्द र काम प्रतिको लगाव उहाँका गुणहरु हुन् । अब्रोड आइटीका कार्यकारी प्रमुख पन्त आइटी बजारमा केहि गरौँ भन्ने भिजनका साथ लाग्नु भएको छ । युवा र बालबालिकाका हरेक कार्यक्रमलाइ अत्यन्त सहयोग गर्ने मात्र होइन आफै त्यस्ता धेरै कार्यक्रमहरु समेत आयोजना गर्नु भएको छ । डालस एभरेस्ट लायन्स क्लबका निर्बाचित सभापति पन्त उत्प्रेरक बक्ताको रुपमा पनि चिनिनु हुन्छ । काम शुरु गरे पछि सिद्धाउनु पर्छ भन्ने गहिरो मान्यता राख्ने पन्त आगामी युएनएको सम्मेलन नेपाली युबाहरुको लागि उपलब्धिपूर्ण हुनेमा उत्साहित हुनुहुन्छ । Kids Talent Show र अन्य महत्वपूर्ण फोरमहरुलाइ उपयोगी बनाउन उहाँ सक्रिय हुनुहुन्छ ।
युएनएको खास उद्देस्य नेपाली युवाहरुलाई अमेरिकाको मुलधारमा स्थापित गर्नु हो । त्यसको लागि खेलकुद एउटा महत्वपूर्ण क्षेत्र हो । युएनएको आगामी सम्मेलनको लागि खेलकुदको सम्पूर्ण व्यवस्था गर्ने जिम्मेवारी युवा राम भण्डारीले लिनु भएको छ । खेलकुद भने पछि हुरुक्क हुने र यसलाई अघि बढाउन हरेक पल सक्रिय रहने भण्डारी आफु भने बास्केटबाट, क्रिकेट र टेबल टेनिसमा बिशेस रुचि राख्नु हुन्छ । भण्डारी र उहाँको टीम मिलेर हरेक बर्ष टेक्सासमा ३x३ बास्केटबाट प्रतियोगिता आयोजना गर्दै आएको छ । २०१२ मा सम्पन्न एएनएको सम्मेलनमा समेत उहाँ खेलकुद संयोजकको रुपमा सफलतापुर्बक जिम्मेवारी पुरा गर्नु भएको छ । खेलकुदको दुतको रुपमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासंग नजिकमा रहेर समेत उहाँले काम गरिसक्नु भएको छ ।
युएनएको यो दोश्रो सम्मेलनको अर्को पाटो हाम्रो सांस्कृतिक पहिचानलाई समेत निरन्तरता दिनु हो। मानिस जति सुकै समृद्ध भए पनि सुसंस्कृत छैन भने त्यो सुगन्ध बिनाको फुल जस्तै हुन्छ। हाम्रो संस्कृतिमा मनोरंजन पनि एक पाटोको रुपमा रहिआएको छ। गीत र संगीत मार्फत हाम्रो संस्कृतिको प्रबर्धन हुन्छ। यहि मान्यता युवा भएर पनि रबिन कार्की अर्थात् रायन कार्कीमा प्रशस्त छ। डालसको हलिवुड टिभीमा कार्यरत रायन डालस क्षेत्रमा एक सक्रिय र चर्चित नाम हो। फेसन शो, सांस्कृतिक कार्यक्रम र अन्य मनोरंजन सम्बन्धि विधामा युएनएमा उहाँले नेतृत्व गर्दै हुनुहुन्छ। यी कुरा संग सम्बन्धित केहि जिज्ञासा वा प्रश्न भएमा उहाँसंग समन्वय गर्न सकिन्छ।
युएनए युवाहरु र भविस्यका युबाहरुको पनि प्रतिनिधि संस्था बन्न चाहन्छ। त्यसको लागि साना साना नानीबाबुहरुको रुचि, चाहना र क्षमता प्रति सजग हुँदै उनीहरुलाई लक्षित गरेर कार्यक्रम गर्नु पर्छ। यो समुहका बालबालिकाहरुको लागि आइशा ओझाले आबस्यक संयोजन गरिरहनु भएको छ। बक्तृत्वकला, हिज्जे प्रतियोगिता र ट्यालेण्ट शो आयोजना गरिएका छन् र त्यसमा आफ्ना बालबालिकाहरुलाई भाग लिन उत्प्रेरित गर्न आइषा संग सम्पर्क गर्न सकिन्छ। युवाहरुका थुप्रै कार्यक्रमहरु संचालन गर्दै आएकी आइषा डालस क्षेत्र की एक उदियमान नेपाली नक्षत्र हुन्।
युएनए मा यी बाहेक अर्जुन सुबेदी, निमा शेर्पा, प्रशान्त पौडेल, जुनियर ढकाल, कमल कडायत, भरत अर्याल जस्ता युवाहरु सक्रिय छन्। पक्कै पनि यस्ता युबाहरुको सक्रिय सहभागितामा हुन लागेको यो सम्मेलन अत्यन्त सफल हुनेमा कुनै शंका छैन।