एनआरएन अमेरिकाद्वारा गठित सदस्यता छानबिन समितिको निश्पक्षता माथि प्रश्न चिन्ह
March 21, 2017 | 8:25 am    
डालस, मार्च २० । आइतबार साँझ एनआरएन अमेरिकाको बैठक बस्यो । बैठकले सदस्यता बन्ने क्रममा केहि अनियमितता भएको हुन सक्ने र कतिपयले अनाधिकृत रुपमा सदस्यता लिएको हुन सक्ने भएकोले एउटा समिति गठन गर्यो । समितिमा वर्तमान कार्यसमितिका सदस्य हरिहर दाहाल, सिपि पौडेल, प्रमोद सिटौला, नवराज खड्का, बिनोद तिवारी, पासांग लामा रहेका छन् ।
सदस्यता निर्माणको क्रममा बिभिन्न खाले चलखेल भए । बिगतका एनआरएनको नेतृत्वको अकर्मण्यताका कारण एनआरएन अमेरिका प्रति कसैको चासो, विश्वास र भरोषा थिएन । सित्तैमा बन भन्दा पनि बन्न चाख नलाग्ने गरी एनआरएनको संगठन प्रति विकर्षणको अवस्था थियो । सित्तैमा सदस्य बन्न पनि हारगुहार गर्नु पर्ने परिस्थितिमा सदस्यता निर्माणमा पैसाको चलखेल शुरु भयो । कतिपय उम्मेदवारहरुले राम्रै धनराशी खर्च गरेर सदस्य बनाए । उनीहरुले बास्तविक व्यक्तिहरुको पहिचान सहित सदस्य निर्माण गरे । कतिपयले भने त्यसो गरेनन । काल्पनिक नाम, काल्पनिक इमेल प्रयोग गरेर सदस्य लिए । सदस्य बन्न कसैले आर्थिक सहयोग गर्नुलाई एक हदसम्म जायज मान्न सकिए पनि काल्पनिक नाम र इमेल ठेगाना प्रयोग गरेर सदस्यता वितरण हुनु नैतिक काम होइन । यसको लागि छानबिन गर्न समिति गठन गर्नु पर्थ्यो, गरियो ।
Photo Credit: Himalaykhabar
एनआरएन अमेरिकाको अघिल्लो चुनावमा पनि धाँधली भएको भन्दै एउटा पक्ष अदालत सम्म पुगेको थियो । अदालतले पनि केहि महिना अघि मात्र वर्तमान कार्यसमितिले जिकिर गरे भन्दा भिन्न रुपले आदेश जारी गरेको थियो । तर पदावधि सकिनै लागेको र नयाँ निर्बाचनको तयारी भैरहेको अबस्थामा धेरैले त्यसलाई उचालेर एनआरएन अमेरिकालाई बिखन्डन तिर लैजान चाहेनन् । अधिकांश मतदाता निस्क्रिय रहेको र एनआरएनको दैनिक दन्तबझान प्रति रुचि नभएको अबस्थामा यति ठुलो पराजयले पनि वर्तमान कार्यसमिति माथि ठुलो दवाव पर्न सकेन । एनआरएन जस्तो बिशुद्ध समाजसेवा गर्ने थलोमा पनि यति धेरै चासो र मरिहत्ते गरिनुलाई शंकाको दृस्टीकोणले हेरिए पनि हस्तक्षेपको तह सम्म जाने कसैलाई उत्साह थिएन ।
अब फेरी चुनाव आउन लागेको छ । साढे दुइ लाख भन्दा बढी नेपालीहरुको बसोबास रहेको अमेरिकामा बल्ल बल्ल गरेर १७ हजार पुगेको छ । ती मध्ये संस्था प्रति पटक्कै चासो नभएकाहरु नै धेरै छन् । चुनाव पछि अधिकांश सदस्यहरु निस्क्रिय हुनेछन । अनलाइन भोटिंगको तरिका अघिल्लो पटक पनि बिबादमा आइसकेको छ । अहिले के कसरि गरिने हो थाहा नभए पनि यसपाला पनि कतै अनियमितता त हुने होइन भन्ने प्रस्न धेरैको मनमा उठेको देखिन्छ । छानबिन समिति गठन गर्दा गरिएको मनोमानीले झन् उक्त शंकामा बल पुगेको छ ।
मनोमानी मात्र होइन यति गम्भीर बिषयमा छानबिन समिति गठन गर्दा पनि आबस्यक प्रक्रिया पुर्याउनु त कहाँ छ कहाँ यसबारेमा जानकार व्यक्तिहरु कुनै पनि राखिएन। त्यहाँ कुनै राजनीतिक दलका सक्रिय कार्यकर्ताहरुलाई राखियो। त्यसो गर्दा च्याप्टरहरुको चाहनालाइ ध्यान दिईएको देखिदैन। उम्मेदवारहरु पनि आस्चर्यचकित देखिन्छन। यस्तो खाले समिति कुन उद्देश्य पूर्तिका लागि गरियो भनेर अमेरिकाबासी नेपालीहरु आस्चर्यचकित परेका छन्। कार्यसमितिमै व्यक्तिहरु समेत यो कदमबाट सन्तुस्ट छैनन् र यो समितिको खारेजी र अलि धेरैलाई समेटेर अलि बढी जनशक्ति सहित छानबिन समिति गठन गर्नु पर्ने अवाज उठाउन थालेका छन्।
कार्यसमितिमा उपाध्यक्षको रुपमा कार्यरत रबिना थापाले यो समितिको निस्पक्षता प्रति आशंका गर्नुको साथै सम्पूर्ण प्रक्रियाको खारेजीको माग गर्नुभएको छ। युएसएंड नेपाल संगको सम्बादमा श्रीमती थापाले सदस्यता सम्बन्धमा रहेका समस्या समाधान गर्न गठित श्री पराजुलीको समितिलाई पंगु बनाउने तर राजनीतिक पृष्ठभूमिका व्यक्तिहरुलाई समितिमा ल्याएर कुन उद्देस्य पूर्ति गर्न खोजिएको हो, बुझ्न नसकेको भन्दै आस्चर्य प्रकट गर्नु भएको छ। आगामी निर्बाचनमा अध्यक्षको प्रत्यासी समेत रहेकी थापाले यस्ता कार्यहरुले एनआरएन अमेरिकालाइ क्षति पुग्ने बताउंदै अलि बढी सदस्य थपेर सक्षम खालको समिति गठन गर्नु पर्ने बताउनु भएको छ। प्रतिक्रियाको लागि अध्यक्ष पदका अर्का उम्मेदवार गौरी राज जोशी उपलब्ध हुन सकेनन। अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष राम पोख्रेलले यस्तो अपुरो र एकतर्फी समिति गठन भएकोमा आफु आश्चर्यचकित भएको र त्यो सच्चाउनु पर्ने आबस्यकता औंल्याउनु भएको छ।
समिति गठनको बिषयमा युएस एंड नेपाल संगको छोटो कुराकानीमा अध्यक्ष डाक्टर केशब पौडेलले भने आफु यसमा प्रत्यक्ष संलग्न नबनेको र कार्यसमितिमा आएका नामहरु नै प्रस्तावित गरिएकोले यसमाथि शंका नगर्न आग्रह गर्नु भएको थियो। सक्रिय रुपमा राजनीतिमा लागेकालाई यस्तो जिम्मेवारी दिंदा एनआरएन को स्वतन्त्र छविमा कस्तो असर पर्छ भनेर सोधिएको प्रश्नमा संस्थाकै महासचिवको अध्यक्षतामा समिति गठन भएकोले राजनीतिक रुपमा यो समिति प्रभावित नहुने जिकिर गर्नु भएको थियो।
समग्रमा यो समिति अपुरो र एकतर्फी देखिएको छ। एनआरएन अमेरिकालाई नेपालीहरुको साझा संस्था बनाउने हो भने यसलाई तत्काल खारेज गरेर अलि फारकिलो, सक्षम र निस्पक्ष व्यक्तिहरु सम्मिलित छानबिन समिति गठन गर्नु आबस्यक देखिन्छ। मनोमानी गरेर आफु नै उम्मेदवार भएको अबस्थामा आफ्नै मान्छे भरेर छानबिन समिति गठन गर्यो भन्ने आरोपको खण्डन गर्न समेत यो समितिको खारेज गर्न ढिला गर्नु हुन्न।