यति च्याबर्स अफ कमर्सले दोश्रो साधारण सभा सम्पन्न गर्यो
डालस, टेक्सास, मार्च १७, शुक्रबार। नेपाली उद्यमी ब्यबसायिहरु मिलेर डालसमा स्थापना गरिएको यति च्याप्म्बर्स अफ कमर्सको दोश्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ। बेडफोर्ड स्थित माछापुछ्रे रेस्टुरेण्टमा भएको उक्त साधारण सभामा च्याम्बर्सका पदाधिकारी एबम सदस्यहरुको राम्रो उपस्थिति थियो। साधारण सभा भनेपनि सभा, सभापति, मंच, माला र भाषणको यातना यसपालिको च्याम्बर्सको कार्यक्रममा कसैले पनिभोग्नु परेन।
कार्यक्रममा बोल्दै यति च्याम्बर्स अफ कमर्सका अध्यक्ष बासु भण्डारीले च्याम्बर्सले छोटो समयमा उल्लेखनीय काम गरेकोमा गर्व गर्दै कतिपय गर्न सकिने काम पनि हुन नसकेकोमा आफु र सम्पूर्ण संस्थाका सदस्यहरुको बराबरी कमजोरी रहेको स्वीकार गर्नु भएको थियो। “यति नेपाली ब्यापारीहरुको साझा फुलबारी हो” भन्दै भण्डारीले संस्था बलियो हुन यसमा संलग्न सदस्यहरुको सक्रियता महत्वपुर्ण रहेको पनि उल्लेख गर्नु भएको थियो। स्थापना गर्ने लामो प्रयास भए पनि स्थापनाको छोटो समयमै यसले केहि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको कुरा कार्यक्रम संचालक तथा संस्थाका महासचिव बाल जोशीले जानकारी गराउनु भएको थियो।
दोश्रो साधारण सभा सम्पन्न हुन लागेकोमा शुभकामना व्यक्त गर्दै नेपाली समाज टेक्सासका अध्यक्ष तथा यति च्याम्बर्स अफ कमर्सका सदस्य कृष्ण लामिछानेले छोटो अबधिमा यतिले गरेको उपलब्धिले यति च्याम्बर्स अफ कमर्स केहि समय मै टेक्सासमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको कुरा उल्लेख गर्नु भएको थियो । कार्यक्रममा समाजसेवी यमुना भट्टराईले पनि आफ्नो छोटो मिठो शुभकामना मन्तब्य दिनु भएको थियो भने कोशाध्यक्ष स्मृति कार्कीले संस्थाको गतबर्षको आय व्ययको छोटकरी विवरण प्रस्तुत गर्नु भएको थियो।
साधारण सभा आयोजना गर्न बिभिन्न व्यक्ति र संस्थाहरुले प्रायोजन गर्नु भएको थियो। प्रायोजकहरुमा कपिल अधिकारी, हरिबोल भण्डारी, स्मृति कार्की, ट्रेजर होलसेल, प्रेसिडेन्ट ट्रावल लगायतले गर्नु भएको थियो। निकै चुस्त, स्फुर्त र दुरुस्त आधिकारिक कार्यक्रम संचालन गरेका महासचिव बाल जोशीले त्यसपछि प्रश्नोत्तरको लागि फोरम खुल्ला गरेका थिए । प्रश्नोत्तर कार्यक्रममा प्रेमी सहिले कर सम्बन्धि, सुरेश बस्यालले जीवन बिमा सम्बन्धि र एकजना गोरेले घर र कार बिमा बारे जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो। कार्यक्रम छोटो तर मिठो थियो भने कार्यक्रम अबधिभर हल्का खाना र अन्त्यमा दरिलो खानाले पाहुनाहरुलाई स्वागत गरिएको कार्यक्रमा एनआरएन अमेरिकाको चुनावको समेत अनौपचारिक चर्चा परिचर्चा गरिएको थियो।