इन्द्रेणी सांस्कृतिक संघले मार्च ५ मा होली मनाउने
डालस, मार्च १, २०१७। नेपालीहरुको एक रंगिन र रमाइलो चाड होली आउनु भन्दा एक हप्ता अघि नै अमेरिकामा होली मनाइने भएको छ। डालसमा लामो समय देखि संस्कृतिको संरक्षण गर्दै आएको नेपालीहरुको संस्था इन्द्रेणी सांस्कृतिक संघले आउँदो आइतबार अर्थात् मार्च ५ गते होलीको अवसर पारेर होली बिशेष कार्यक्रम गर्ने भएको छ। होली आउन एक हप्ता बाँकी रहे पनि अमेरिकामा समय मिलाउनु पर्ने, ठाउं मिलाउनु पर्ने बाध्यताको कारण यस बर्ष पनि केहि दिन अघि नै रंगिनु पर्ने भएको छ। यसको लागि इन्द्रेणीले सम्पूर्ण तयारी गरेको कुरा इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा भुषालले जानकारी गराउनु भएको छ।
अध्यक्ष भुषालका अनुसार उक्त होली बिशेष कार्यक्रम आइतबार अपरान्ह १२ देखि साँझ ६ बजे सम्म अविच्छिन्न रुपमा चल्नेछ। प्रवेश निशुल्क रहेको उक्त कार्यक्रममा इच्छुक व्यक्तिहरुलाई शशुल्क हल्का खाना व्यवस्था गरिएको छ। हाम्रो डालस एरियामा चर्चित डिजे मोमोले सुपरहिट गीत घन्काएर मनोरंजन दिनेछन भने परम्परागत नेपाली पन्चे बाजा उक्त कार्यक्रमको प्रमुख आकर्षण हुनेछ। त्यस्तै इन्द्रेणी सांस्कृतिक संघका कलाकारहरुका विभिन्न नाचहरु र अन्य नाचको साथै साना नानीबाबुहरुको लागि खेलहरु संचालन गरिनेछ। सदा झैं ग्रेपभाइनको ठुलो तालको छेउमा हुने यो कार्यक्रम छुटाउनै नहुने कार्यक्रम भएको कुरा इन्द्रेणी सांस्कृतिक संघका महासचिव रुपेश न्यौपानेले बताएका छन्। आउनुहोस, तपाईं हामी पनि त्यो दिनको लागि बिदा मिलाउँ र रंगीबिरंगी बनेर रमाइलो गरौँ।