एचडिएनपीले कार्टर ब्लड केयर संग मिलेर रक्तदान शिबिर चलाउने
फेब्रुअरी २८, डालस, टेक्सास । लामो समय देखि डालसको नेपाली समाज र स्थानिय समाजमा परिपकारी काम गर्दै आएको एचडिएनपीले आगामी शनिबार फेरी अर्को एक जीवनदान गर्न सकिने काम गर्न लागेको छ । मानिसलाइ बाँच्नको लागि हावा र रगत सबभन्दा महत्वपूर्ण कुराहरु हुन् । जसरी स्वासप्रस्वासको लागि हावा चाहिन्छ, मानिस जिउनको लागि रगतको त्यति नै आबस्यक हुन्छ । त्यहि गहिरो सत्यबोध गर्दै एचडिएनपीले घुम्ती रक्तदान क्याम्प संचालन गर्ने भएको छ । कार्टर रक्त स्याहारसंग मिलेर गर्न लागिएको उक्त रक्तदान शिविर ३१०० वेस्ट अर्कान्सास लेन, आर्लिंगटनमा हुनेछ । त्यसबारेमा केहि प्रश्न भएमा वा सम्पर्क गर्नु परेमा ८१७.३०८.९८३० मा सपर्क गर्न सकिने कुरा एचडिएनपीका प्रमुख देवी आचार्यले जानकारी गराउनु भएको छ ।
रगत दान जीवन दान पनि हो । समयमा रगत पाउन सकिएन वा समूह मिलेन भने तत्कालै मानिसको ज्यान जान्छ । अमेरिकामा प्रत्येक दुइ सेकेन्डमा जीवन र मरणको स्थितिमा रहेका बिरामीहरुको लागि रगत जरूरी पर्छ । हरेक दिन अमेरिकामा मात्र ३६ हजार युनिट रगत आबस्यक छ र त्यो परिपूर्ति गर्नु ठुलो चुनौती हो । रगत न त हाम्रो शरीरमा संग्रहित हुन्छ न त संग्रह गरेर लामो समय बाहिर राख्न नै सकिन्छ । ४२ दिन सम्म मात्र राख्न सकिने हुनाले रगत कतिपय अबस्थामा फाल्नु पर्ने अवस्था पनि हुन सक्छ भने कतिपय बेलामा नपुगेर अप्ठेरो हुन्छ । कहिले काँही कम पाइने रक्त समुहका बिरामीहरुलाई बचाउन यहि कारणले गाह्रो हुन्छ । यहि तत्वबोध गर्दै समाजसेवाको परिपुरक संस्था एचडिएनपीले यो घुम्ती रक्तदान शिबिर संचालन गर्न लागेको छ । आफ्नो शरीरमा खेर जाने रगतले कसैको जीवन बच्छ भने त्यसो किन नगर्ने ? आगामी शनिबार आर्लिंगटन किन नजाने ?
एचडिएनपी डालस क्षेत्रलाइ कर्म क्षेत्र बनाएर संसारभर परोपकारी काम गर्ने संस्था हो । अमेरिका जस्तो धनि मान्छेहरु बस्ने भनेर कहलिएको ठाउँमा पनि कोहि खान नपाउने होलान र भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । तर अचम्मको कुरा त्यसको उत्तर भने छन् भन्ने हो । यहाँ पनि खान नपाएका , मगन्ते, घर न घाटका मान्छेहरुको ठुलो संख्या छ । एचडिएनपीले यस्तै व्यक्तिहरुलाई लक्षित गरेर प्रत्येक ३/३ महिनामा निशुल्क भोजन गराउने गरेको छ । २०१२ को अक्टोबर मा स्थापना भएको यो संस्थाले नेपालमा समेत शाखा खोलेर सामाजिक काम गर्दै आएको छ । यसका संस्थापक देवी आचार्य हुनुहुन्छ भने यो संस्थामा अमेरिकी नागरिकहरु पनि संलग्न छन् ।