बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विशिष्ट युरोलोजी विशेषज्ञ सम्मेलन
इटहरी, ४ फागुन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वदेशी तथा विदेशी युरोलोजी विशेषज्ञको टोली आउने भएका छन् ।
प्रतिष्ठानको सर्जरी विभागअन्तर्गत युरोलोजी डिभिजनले यही फागुन ५ मा नेपाल एसोसियसनको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा ती विशेषज्ञ आउने भएका हुन् ।
प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रममा भारत, चीन, अमेरिका, टर्की, सिङ्गापुर, थाइल्याण्ड, म्यानमार, बङ्गलादेश, फिलिपिन्स र नेपालका अति विशिष्ट युरोलोजी विशेषज्ञले सम्मेलनमा सहभागिता रहने प्रतिष्ठानले जानकारी दिएको छ ।
उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट करिब २०० बढी विशेषज्ञ चिकित्सकको सहभागिता रहने डिभिजका अध्यक्ष प्रोफेसर डा सिएस अग्रवालले जानकारी दिनुभयो । प्रोफेसर डा अग्रवालका अनुसार बृहत् रूपमा हुन गइरहेको यस सम्मेलनमा ‘विश्वका विकासशील राष्ट्रमा एक्काइऔँ शताब्दीको युरोलोजी’ विषयमा सम्मेलन केन्द्रित हुने जानकारी दिइएको छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका युरोलोजी विशेषज्ञले युरोलोजीसँग सम्बन्धित लेप्रोस्कोपिक तथा इन्डोशल्यक्रिया विधिद्वारा गरिने विभिन्न शल्यक्रियाको प्रत्यक्ष प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि प्रोफेसर डा सिएस अग्रवालले बताउनु भयो । रासस