डालस एभरेस्ट लियो क्लबले डालसमा नेपालका लागि पदयात्रा गर्ने
January 23, 2017 | 11:35 am    
धेरै मान्छेले सोच्छन, धर्म गर्न र समाज सेवा गर्न बुढो हुनुपर्छ। सानो उमेरमा पढ्ने हो, त्यसपछि पैसा कमाउने र मोजमस्ती गर्ने हो र अन्त्यमा शरीर गले पछि धर्मकर्म तिर लाग्ने हो। जब खुट्टा चल्न छोड्छन तब जिब्रोले भगवानको नाम लिने हो। जब जागिर गर्न सकिन्न, थप पैसा कमाउन सकिन्न बल्ल अरुको भलो गर्ने हो। कुनै युवालाई समाजसेवामा देख्दा आम मान्छेले “पढ्नु पर्ने मान्छे यहाँ किन” ? भन्ने प्रश्न गर्ने कारण यहि हो। आम जनमत र सोंचाई यहि देखिन्छ। सरदर अर्थात् औसत मानिसको सोचाइ यस्तै हुन्छ ।
तर दुनियाँ सरदर वा औसत मान्छेको गुदिले मात्र चल्दैन । दुनियाँ अलि बढी काम गर्ने, अलि घेरा बाहिर सोंच्ने र सतहबाट माथि उठ्नेहरुको देन र योगदानले चल्छ। कुण्ठा, आवेग र अस्वस्थ प्रतिष्पर्धाको साँघुरो घेरा तोड्नेहरुले नै समाज र संसार हाक्ने गर्छन। दुनियाँ तिनीहरुकै वरिपरि घुम्छ। त्यसको लागि उनीहरुलाई उमेरको हद बाधक बाधक हुन सक्दैन। लिङ्ग, जात, स्थान वा रंगले उनीहरुलाई छुंदैन। यस्ता साँघुरा घेरहरुले उनीहरु भित्रको सच्चा मानबलाइ प्रभावित पार्न सक्दैन । सानै उमेरमा नेतृत्व गर्ने क्षमता हुन्छ। सानै उमेरमा अरुको लागि केहि गर्छु भन्ने उत्कट चाहना हुन्छ। आफ्नो जिउ मात्र धान्ने अभिलाषा उनीहरुलाई हुन्न।
डालस एभरेस्ट लायन्स क्लबको अभिभाबकत्वमा अलि बेग्लै तरिकाले दुनियाँ हेर्ने युवाहरुले २०१६ को समरमा लियो क्लब गठन गरे। डालस एभरेस्ट लियो क्लब नाम दिइएको उक्त क्लबमा ३४ जना जोशिला युबयुबती संगठित भए। आफ्ना अभिभावकहरुको असल कामको सिको गर्दै उनीहरुले पनि समाजलाइ केहि दिने योजना बनाए। “म सेवा गर्छु” मुलमन्त्र रहेको लायन्स क्लबको भगिनी संगठनको रुपमा लियो क्लबलाई अगाडी बढाउने योजना गरे।उनीहरु जस्तै १३ देखि १९ बर्ष सम्मका साथीभाईहरु रमाइलो र मोजमस्तीमा लाग्दा उनीहरु समाजमा हुने गतिविधिहरुमा स्वयंसेवा गर्ने जुटे। क्लब, मन्दिर, चर्च र अन्य सार्बजनिक स्थलमा सरसफाई मात्र होइन स्वयंसेवीको रुपमा समेत काम गर्न लागे । यसका अध्यक्ष अर्पण काफ्ले हुन् । अध्यक्ष अर्पण भए पनि काम सबैले मिलेरै गर्छन। यसमा धेरै नेपाली छन् भने अमेरिकन, अफ्रिकन, मेक्सिकन समेत सहभागी छन्।
केहि समय अघि नेपालमा ठुलो भुकम्प गएको थियो। त्यसमा हज्जारौंले मृत्युबरण गरे। लाखौँ घर भत्के। यी कलिला बालकहरुले आफ्ना अभिभावकहरुले कुरा गरेको सुन्थे। टिभी र अनलाइनमा त्यहाँका नराम्रा खबर थाहा पाउँथे। तर साधन श्रोत नहुँदा खिन्न हुन्थे। बिस्तारै उनीहरु सथाभाई बीच कुरा गर्न थाले। नेपालमा त्यस्तो बिचल्ली छ, लामो समय भयो भुकम्प पिडितहरुले केहि पाएका छैनन्। के हामीले अलिकति पनि केहि गर्न सकिन्न ? आफु आफु बीच छलफल गरे। आफ्ना अभिभावकहरुसंग जिज्ञाशा राखे। खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तै उनीहरुको सेवाभावको अघि चुनौतीका पहाडहरु एक एक गर्दै भत्के र लियो जन्म्यो।
हाँ संस्था जन्मिनु र बन्द हुनु अनौठो होइन। दुइजना मिलेर शुरु गरेका संस्थाहरु ३ जना नहुँदै चिरा परेको हामीले देखेका छौं । किन भने त्यहाँ स्वार्थ हुन्छ त्यहाँ टक्कर हुन्छ। जहाँ सेवा हुन्छ, त्यहाँ मिलाप हुन्छ। जहाँ सेवाको प्रतिष्पर्धा हुन्छ, त्यहाँ जालझेल हुन्न। नेपालमा गएको भूकम्पको पिडा सम्झेर उनीहरुले केहि गरौँ भनेर संस्था शुरु गरे। संस्था स्थापना देखि नै साना तिना कामहरु आफ्नै नेतृत्वमा गरे भने कतिपय काममा आफ्ना अभिभावकहरुलाई सहयोग गरे। अब भने उनीहरु आफ्नै नेतृत्वमा नेपाल र नेपालीको लागि केहि गर्ने निधो गरेका छन्। योजना बनाएका छन् र त्यसलाई पूर्ण सफल पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन्। आफ्नो नेटवर्क नेपालमा नभएकोले नेपालका लागि पुर्ब अमेरिकी राजदुत स्कट डेलिसीद्वारा स्थापित सोरवे फाउन्डेसन मार्फत नेपालमा केहि गर्ने जमर्को गरेका छन् ।
आगामी जनवरी २९ गते आइतबार युलेस स्थित बियर क्रिक पार्कमा एक भब्य फन्ड रेजिंग कार्यक्रम गर्दैछन। उक्त कार्यक्रमको नाम “भुकम्प सावधानी पदयात्रा” अर्थात् वाक फर अर्थ क्वेक अवेरनेस रहेको छ। बिहान १० देखि अपरान्ह ६ बजे सम्म संचालन हुने यो कार्यक्रमका हरेक गतिबिधि हाम्रा लियोका युवाहरुले नेतृत्व गर्नेछन। कार्यक्रमको शुरुवातमा यो अवेरनेस वाकको उद्देश्य बारे उपस्थित सम्पूर्ण समुदायलाई जानकारी गराउने कार्यक्रम रहेको छ। त्यसपछि आधा घण्टा प्लेकार्ड, ब्यानर, झन्डा, पन्चेबाजा र गीत गाउँदै पार्क वरिपरिको पैदल यात्रा गरिने छ। यसमा नेपाली परम्परागत पोशाक, बिभिन्न जातजातिका भेषभुषा, झाँकी सहित पदयात्रा गरिनेछ। यात्रा पछि परम्परागत नेपाली खानेकुरा खाने कार्यक्रम रहने छ। त्यसपछि खेलकुद शुरु हुनेछ जसमा मिनिसकर, बिङ्गो, चेस, नाच लगायत सम्भव भए सम्म रमाइला कार्यक्रम गरिनेछ। प्रवेश गर्न जम्मा $५ मात्र तिरेर दर्ता गर्न सकिनेछ भने आफ्नो इच्छा अनुसार जति पनि प्रदान गर्न सकिनेछ।
यो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सोरवे फाउन्डेसनका संस्थापक स्कट डेलिसी आफै आउंदै हुनुहुन्छ। त्यस्तै डालस वरपर रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुले सहयोग र सहभागिता जनाउने बिस्वास दिलाउनु भएको छ। नेपाली समाज टेक्सास, डालस एभेरस्ट लायन्स क्लब, इन्द्रेणी सांस्कृतिक संघ, अनकन, एचडिएनपी, यु टी एको बिद्यार्थी संगठन लगायत अन्य थुप्रै संस्थाहरुले सहभागिता जनाउनु हुनेछ र कलिला युबाहरुको मानवताको सेवा गर्ने यो पबित्र मनसुवामा होस्टेमा हैंसे गर्नु हुनेछ। अध्यक्ष अर्पण काफ्ले र उनको टीम यो कार्यक्रम सफल पार्न रातदिन नभनी काम गरेको छ। यो सप्ताहान्त भरि बिभिन्न खाले बैठक र छलफल सम्पन्न भए। “अग्रजहरुको मार्गनिर्देशन र सहयोगमा हामीहरु यो कार्यक्रम भब्य पारेरै छोड्छौं र यसमा डालस वरपर रहेको सम्पूर्ण नेपाली समुदायको सहयोग र उपस्थितिको लागि अनुरोध गर्दछौं” अर्पण भन्छन। यो हाम्रो पहिलो प्रयास जे जस्तो भए पनि हेरेर मुल्यांकन गरिदिनुहुन उनि सबैमा अनुरोध गर्छन।
लियो क्लबको यो कार्यक्रममा सक्रिय रुपमा सबै लागेका छन्। सबैका आफ्ना आफ्ना बिभाग छन् र सोहि अनुसार उनीहरु सक्रिय छन्। अर्पण काफ्ले सहित बिज्ञान देबकोटा, योशी फेताही, स्वेता गौतम, राउल रोबल्स , आयुषा भण्डारी, साक्षी श्रेष्ठ, कृतिका पन्त, अभिसेख बज्राचार्य, रोजन सत्याल, बिभुति पन्त, प्रतिक्षा अधिकारी, बेन्जामिन रोद्रिगेज, क्रिस्टोफर, समिक्षा थापा, जैर रेयेस, जयश शर्मा, स्वीकृति भट्टराई र दर्शन पटेल लगायतका युबाहरु यसमा दिलो ज्यान दिएर लागेका छन्। समुदायको सहयोग हुनेमा ढुक्क देखिएका यी युबाहरुको जोस कायम राख्न पनि त्यो दिन सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी उक्त वाक फर अर्थक्वेक अवेरनेसमा भाग लिनै पर्ने देखिन्छ। आगामी दिनहरुमा यिनै युबाहरुलाई नेतृत्व सुम्पिंदै उनीहरुलाई पछाडीबाट सहयोग र समर्थन गर्ने हो भने मात्र २१ औं शताब्दीको हाम्रो यात्रा फलदायी र सार्थक हुनेछ। आउनुहोस तपाईं हामी पनि उनीहरुको यो नेपाल प्रतिको माया र मानवता प्रतिको जिम्मेवारीबोधलाइ सलाम गर्दै आगामी जनवरी २९ आइतबारको दिन एउटा असल कामको लागि छुट्ट्याउ। यी युबाहरुको हौसला कायम राख्नु हाम्रो पनि परम कर्तब्य हो।