दुर्घटनाग्रस्त रसियाली विमानका यात्रु जीवित पाउने आशा क्षीण
मस्को (रसिया), १० पुस । रसियाली सेनाको आइतबार दिउँसो दुर्घटनाग्रस्त विमानमा यात्रारत सम्पूर्ण यात्रु जीवित पाउने आशा लगभग अन्त्य भएको छ ।
रसियाली रक्षा मन्त्रालयले सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको गहिराईमा भेटिएको बताएको छ ।
घटनास्थलबाट चार मृत शरीरको पनि उद्धार गरिएको र बाँकी यात्रुको खोजी भइरहेको बताइएको छ ।
घटनास्थलबाट कसैलाई पनि जीवित उद्धार गर्न सकिने सङ्केत नदेखिएको मन्त्रालयले जनाएको छ ।
विमान रसियाको दक्षिणी क्षेत्रमा अवस्थित सहर एडलरमा इन्धन भरेपछि उडेको दुई मिनेटपछि नै राडरसँगको सम्पर्क विच्छेद भएको थियो ।
विमान स्थानीय समयअनुसार बिहान ५ बजेर २५ मिनेट जाँदा विमानस्थलबाट सिरियाका लागि उडेको थियो ।
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय टेलिभिजनसँग कुरा गर्दै विमान दुर्घटनाबाट ज्यान गुमाउने सम्पूर्ण यात्रुप्रति दुःख व्यक्त गर्न सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको छ ।
विमानमा यात्रारत आठ चालक दलका सदस्यसहित रसियाली सेनामा विभिन्न पदमा कार्यरत कर्मचारी तथा सैनिक रहेका बताइएको छ । विमानमा नौ जना पत्रकार, एक चिकित्सक तथा मानव अधिकारकर्मी सहित केही अन्य रसियाली अधिकारी पनि रहेको रसियाली रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले बताउनुभयो ।
विमान रसियाबाट सेनको साङ्गीतिक टोली लिएर नयाँ वर्षको अवसरमा गरिने कार्यक्रमका लागि सिरियाको लाटकिया प्रान्तस्थित हमैमिम एयरबेसका लागि छुटेको थियो ।