समस्याको निकासका लागि सबै दल जिम्मेवार बन्नुपर्ने – नेता कोइराला
पोखरा, २८ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “देश समस्यामा रुमल्एिको छ, यसको निकासका लागि सबै दलको एकताबद्ध प्रयास आवश्यक छ ।”
केन्द्रीय सदस्य डा कोइरालाले एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुनेमा जोड दिँदै प्रतिपक्षी दल नेकपा (एमाले)लाई पनि सँगै लिएर समस्याको समाधान खोजिनु पर्दछ भन्नुभयो ।
संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावबाट मधेसी दल पनि सन्तुष्ट नरहेको तथा सीमाङ्कनलगायतका विषयमा अन्य सर्वसाधारण पनि सडकमा आएको विद्यमान संवेदनशील अवस्थालाई गम्भीरताका साथ लिन प्रमुख दललाई उहाँले आग्रह गर्नुभयो ।
सांसद यज्ञबहादुर थापा र बिन्दा रानाले देशलाई समस्याबाट निकास दिनु काँग्रेसको दायित्व भएको बताउँदै पछिल्ला समयमा विभिन्न राष्ट्रिय मुद्दामा पार्टी अलमलिए जस्तो बनेको विचार व्यक्त गर्नुभयो ।