महावीर पुनले डालसका दानवीरहरु संग अन्तरक्रिया गर्ने
डालस, टेक्सास । राष्ट्रिय अनुसन्धान केन्द्र निर्माणको लागि अहोरात्र खटिनु भएका सामाजिक अभियन्ता तथा म्यागासेसे पुरस्कार बाट पुरस्कृत ब्यक्तित्व महावीर पुन यतिबेला अमेरिकाको यात्रामा छन । त्यही मौका पारेर टेक्सासको अग्रणी नेपाली संस्था नेपाली समाज टेक्सासले पनि महावीर पुनसंग एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम घोषणा गरेको छ । भोली अर्थात डिसेम्बर १३ गते बेलुकी ६ बजे टेम्टेसन रेस्टुरेंटमा टेक्सासको नेपाली समाजका अग्रणी ब्यक्तित्वहरुसंग उक्त कार्यक्रम हुँदैछ । महावीर पुनले नेपाल र नेपालीको लागि गरेको योगदान अमूल्य छ । उनलाई सहयोग र समर्थन गर्नु हाम्रो कर्तब्य हो । आफुले प्रत्यक्ष रुपमा गर्न नसके पनि गर्न लागेकालाइ मद्धत गर्नु पनि एक प्रकारको सेवा नै हो ।
म्याग्दीको नागी गाउँमा जन्मेर नेपाल मै उच्च शिक्षा लिएर अमेरिकामा समेत शिक्षा हासिल गरेका महावीर पुन नेपाली समाजसेवाका एक उज्जवल नक्षत्र हुन । बढेर र पढेर बिदेश जाने र पैसा कमाउने सपना देख्ने पलायनबादी सोंच नेपाली युबाहरुमा ब्याप्त रहेको बर्तमान अबस्थामा महावीर एक उदाहरण हुन । म्याग्दी जिल्लामा ताररहित इन्टरनेट सुबिधाको लागि लामो समय काम गरेर सफलता प्राप्त गरेका पुन अहिले नेपालमा एउटा अन्तरराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र खोलेर नेपाली बैज्ञानिकहरुको सिप र क्षमता नेपाल मै उपयोग गर्ने अभियानमा छन । त्यसको लागि आबस्यक धेरै पुर्बाधार तयार भइसकेका छन भने बांकी कुरा पनि हुने प्रक्रियामा छन । छिटै त्यसको बिस्तृत बिबरण आउनेछ ।
त्यही कामको लागि सहयोग र समर्थन जुटाउन उनी अहिले अमेरिका आएका छन । आफु जान र केहि गर्नको लागि शारीरिक रुपमा उपस्थित हुन नसके पनि आर्थिक वा अन्य तरिकाले सहयोग गर्न सकिन्छ । त्यही तपाइँहरुको चाहना पूरा गर्न नेपाली समाज टेक्सासले यो अबसर जुटाएको कुरा नेपाली समाज टेक्सासका उपाध्यक्ष कमल सापकोटाले जानकारी गराउनु भएको छ ।