नेपाल जर्नीको फंड रेजिंग डिनर भव्य रुपमा संपन्न
डिसेम्बर १०, डालस, टेक्सास। नेपाल जर्नीको फंड रेजिंग कार्यक्रम आज यहाँ भव्य रुपमा संपन्न भयो। नेपाल समाज टेक्सासको समेत प्रत्यक्ष संलग्नतामा भएको उक्त कार्यक्रम अपेक्षा गरे भन्दा बढ़ी मानिसहरुको उपस्थिति सहित संपन्न भएको छ। कार्यक्रममा लाइब्रेरी स्थापनार्थ सहयोगको अनुरोध गरिएको थियो जसमा १० हजार डलर भन्दा बढीको सहयोग घोषणा गरिएको थियो।
कार्यक्रममा जापानबाट आउनु भएका प्रमुख अतिथि भवन भट्टले समेत सहयोगको घोषणा गर्नुभएको थियो भने स्थानीय ब्यापारी र सर्बसाधारणले समेत आफ्नो इच्छा र क्षमता अनुसार सहयोग गर्नु भएको थियो। कार्यक्रमको उदघाटन प्रमुख अतिथि भवन भट्टले पानसमा बत्ती बालेर गर्नु भएको थियो । अतिथिहरुलाई स्वागत नेपाली समाज टेक्सासका अध्यक्षले गर्नु भएको थियो। सभापतिको आसनबाट बोल्दै नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेस्ठले नेपाल जर्नीले गरेका काम र हेटौंडामा बन्न लागेको सुविधा संपन्न लाइब्रेरीको स्थापनाको बिस्तृत बिबरण प्रस्तुत गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई ह्रदय देखि नै धन्यवाद दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष केशब पौडेल, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष भोला आचार्यले नेपाल जर्नीले गरेको कामको प्रशंशा गर्दै आफुहरुले पनि सकेजति सहयोग गर्ने कुरा उल्लेख गर्नु भएको थियो।
कार्यक्रम सांझ ७ बजे शुरू गर्ने भनिए पनि “नेपाली समय” को पालन गर्दै अलि ढीला शुरू भएको थियो। कार्यक्रममा सृस्टि घिमिरे र शार्दूला जोशीको टोलीको नांच प्रस्तुत गरिएको थियो। गौरब, भीम थापा, भीम चापागाईं र गुंजन उपाध्यायले आफ्नो मिठो गीतहरु प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता प्रेम बानियाँ र श्रद्धा श्रेस्ठले उत्कृष्ट तरिकाले गरेका थिए।
कार्यक्रमको अन्तिममा प्रमुख अतिथि भबन भट्ट, एनआरएन अमेरिकाका अध्यक्ष केशब पौडेललाइ मायाको चिनो प्रदान गरिएको थियो। साथै सहयोग गर्ने स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।