नेपाल जर्नीको फंड रेजिंग डिनरको तयारी पुरा
डिसेम्बर १०, डालस, टेक्सास।नेपाल जर्नी र नेपाली समाज टेक्सासको संयुक्त आयोजनामा आज हुने फंड रेजिंग कार्यक्रमको तयारी पूरा भएको छ।कार्यक्रममा भाग लिन प्रमुख अतिथि भवन भट्ट डालस आइपुग्नु भएको छ भने कार्यक्रम सञ्चालन गर्न एटलान्टाबाट संचारकर्मी प्रेम बानियाँ पनि हिजै आइपुगेका छन। त्यस्तै एनआरएन अमेरिकाका अध्यक्ष केशब पौडेल लगायत अमेरिकाका बिभिन्न शहरहरुबाट सम्पूर्ण पाहुनाहरु समेत आइपुग्नु भएको छ।
त्यसै गरि स्थानीय कलाकारहरु आफ्नो प्रतिभा प्रस्तुत गर्न तयारी अबस्थामा रहेका छन भने हल, खाना र अन्य आबस्यक कुराहरु समेत ब्यबस्था भइसकेको जानकारी प्राप्त भएको छ। टिकेट बिक्री जारी रहेको र इच्छुक ब्यक्तिहरुले गेटमा समेत टिकेट खरीद गर्न सक्ने ब्यबस्था मिलाइएको आयोजकहरुले जानकारी दिएका छन। तयारीको अबस्था र टिकेट बिक्रीको हिसाबले हेर्दा जाड़ोको बाबजूद कार्यक्रम भब्य हुने संभावना देखिएको छ ।
सबैलाई थाहै छ, नेपाल जर्नीले हेटौंडामा लाइब्रेरी निर्माण गर्दैछ। ४५ लाखको लागतमा निर्माण हुन लागेको उक्त लाइब्रेरी निर्माण गर्न आजको यो फंड रेजिंग डिनर कार्यक्रम आयोजना गरिएको हो। नेपाल जर्नीको स्थापनाको एक बर्ष पुगेको उपलक्षमा लाइब्रेरी निर्माणको लागि फंड रेज गर्न यो कार्यक्रम गर्न लागिएको जनाइएको छ। उक्त कार्यमा लामो समय देखि डालसको नेपाली समाजमा अग्रणी भूमिका निर्बाह गरेको र नेपालमा हुने आपत बिपद लगायत अन्य सामजिक कार्यहरुमा सक्रिय नेपाली समाज टेक्सास समेत प्रत्यक्ष रुपमा संलग्न रहेको छ।
कार्यक्रमलाई डालस टेक्सासका थुप्रै नेपाली संघ संस्थाहरुले सहयोग गरेका छन भने धेरैले ब्यक्तिगत रुपमा र आफ्नो ब्यबसायको तर्फबाट प्रायोजन गरेका छन। डालसमा चिसो बढेको बेला हुन लागेको यो कार्यक्रमले नेपाली समाजमा भने अलिकति न्यानोपन थपिने बिस्वास गरिएको छ। आफ्नो सानो योगदानबाट लाइब्रेरी निर्माण जस्तो ठुलो काम हुने, देश बिदेशका पाहुनाहरुसंग भलाकुसारी गर्न पाइने, लिटिल नेपाल रेस्टुरेंटको मिठो खाना खान पाइने, स्थानीय कलाकारहरुका नाच हेर्न र गीत सुन्न पाइने र अन्त्यमा डीजे मोमोको डीजेमा रमाइलो गर्न पाइने यो अबसर जुटाइदिने नेपाल जर्नी र नेपाली समाज टेक्सासलाइ धन्यवाद भने दिनै पर्छ।