फिडेल क्यास्ट्रोको निधन: समाजबादी आन्दोलनको एक युगको समाप्ति
क्युबाका पुर्ब रास्ट्रपति फिडेल क्यास्ट्रोको हिजो ९० बर्षको उमेरमा स्वाभाविक निधन भएको छ। शुक्रबार वर्तमान रास्ट्रपति राउल क्यास्ट्रो अर्थात् उनका भाइले क्युबाको रास्ट्रिय टेलिभिजनबाट फिडेल क्यास्ट्रोको निधन भएको जानकारी गराएका हुन्। अमेरिका देखि जम्मा ९० माइल टाढाको दुरीमा रहेको क्युबा लामो समय अमेरिकासंग कुनै सम्बन्ध नरहनुमा फिडेल क्यास्ट्रोको समाजबादी चिन्तन र राष्ट्रिय अडान प्रमुख रहेको अबस्थामा उनको अबसान पछि क्युबले लिने बाटो कस्तो होला भन्ने अड्कलबाजी गर्न शुरु गर्न थालिएको छ। उनको जन्म क्युबाको ओरिएन्ते प्रान्तमा अगष्ट १३, १९२६ मा भएको थियो ।
१९५९ मा फिडेल क्यास्ट्रोको क्रान्तिकारी समुहले तत्कालिन तानाशाह फुल्जेंसियो बटिस्टाको सरकारलाई बर्खास्त गरेर सत्ता कब्जा गरेपछि क्युबामा क्यास्ट्रोको उदय भयो। उदय पछि उनले क्युबाको समाजबादी क्रान्तिको नेतृत्व गरे। चे ग्वेभाराका चेला फिडेलले अमेरिका बिरोधी ध्रुबको नेतृत्व गरे र लगभग ५० बर्षसम्म अमेरिकाको छेवैमा बसेर अमेरिकालाई जिस्काइरहे। उनले पश्चिमी गोलार्धमा बढ्दै गएको अमेरिकी प्रभुत्वलाइ चुनौती दिंदै लामो समय सम्म अमेरिका द्वारा लगाइएको आर्थिक नाकाबन्दी, कुटनीतिक नाकाबन्दी र अन्य अबरोधलाइ छिचोल्दै अघि बढ्न सफल भए। त्यति मात्र होइन दर्जनौं पटक अमेरिकी जासुसी संस्था सिआइएले हत्या गर्ने प्रयासबाट मात्र बचेनन उनलाई बर्खास्त गर्ने अनेक खाले आन्तरिक चलखेललाई पनि निस्तेज पारिदिए।
दोश्रो बिस्वयुद्ध पछि शुरु भएको शीतयुद्धमा फिडेल क्यास्ट्रोले रसियाको खुलेर समर्थन गरे । उनले साउथ अमेरिकामा भएका थुप्रै क्रान्तिकारी लडाईंहरुमा सहयोग गरे भने भेनेजुयलाका हुगो चाभेजका धर्म पिता जस्तै बने। १९६१ मा क्युबाको प्रजातान्त्रिक समूहसंग मिलेर सिआइएको प्रत्यक्ष संलग्नतामा क्यास्ट्रोलाई अपदस्त गर्ने प्रयास असफल पारे पछि उनले आफुलाई समाजबादी भनेर घोषणा गरे। त्यसपछि पटक पटक गरिएका हत्या प्रयासमा पनि उनि बच्न सफल भए । उनलाई अमेरिका जस्तो बिस्वको शक्ति सम्पन्न रास्ट्रको नजिक बसेर पनि आफ्नो अलग अस्तित्व र रास्ट्रिय अडानको लागि संसारभर उदाहरणको रुपमा लिने गरिन्छ । समाजबादी चिन्तकहरु फिडेल क्यास्ट्रोलाई एक सफल समाजबादी नेता भन्ने गर्छन ।
फिडेलका सम्झन लायक यी गुण जस्तै थुप्रै कमजोरीहरु थिए । उनले बटिस्टाको बिरुद्ध गरेको बिद्रोह पश्चात समाजबादी आन्दोलनलाई आफ्नो सत्ता लम्बाउने हतियारको रुपमा प्रयोग गरे। आफ्नो बिरोधीहरुलाई निर्वासनमा जान बाध्य पार्ने नीति उनले लिए। जब आफ्ना बिरोधी बढ्न थाल्थे उनले आफ्नो देशको ढोका खोलेर उनीहरुलाई अमेरिका पठाइदिन्थे। १९८० मा उनले एक लाख पच्चीस हजार क्युबनलाइ देश छोड्न अनुमति दिए जसमध्य धेरै क्युबाको जेलबाट छुटेका अपराधीहरु थिए। त्यसकै कारण फ्लोरिडामा ब्यापक हिँसा शुरुवात भएको थियो। अहिले पनि अमेरिकामा २० लाख भन्दा बढी क्युबनहरु निर्वासित छन् । आफु बिरामी परेपछि उनले आफ्नै भाइलाई रास्ट्रपति नियुक्त गरे । यी र यस्तै थुप्रै कमजोरीका बाबजुद फिडेल क्यास्ट्रो क्युबा र संसारको समाजबादी आन्दोलनका हस्तीको रुपमा संधै सम्झिरहिने छन् ।