हिलारीले इमेल काण्डमा सफाई पाइन्: डेमोक्रेटमा आशाको संचार
नोभेम्बर ६, आइतबार । ९ दिन लामो बिबाद, शंका र उपशंका पछि अन्त्यमा आज एफबिआइका निर्देशक जेम्स कोमीले कांग्रेसलाइ आइतबार चिट्ठी लेख्दै यतिबेला भेटाइएका इमेलले उनीमाथि कुनै खाले मुद्धा लगाउन नमिल्ने जनाएका छन्। हिलारी क्लिन्टनकि सहयोगी हुमा अबेडिनको कम्पुटरमा पाइएका भनिएका इमेल हेर्न लागेको जानकारी उनले त्यति बेला दिएका थिए जसलाई हिलारीको अलोकप्रियता बढ्नु र ट्रंप सर्बेक्षणहरुमा बलियो हुँदै जानुको कारण मानिएको थियो।
उनले कांग्रेसलाई लेखेको इमेलमा भनेका छन् ” मैले कांग्रेसलाई चिट्ठी लेखे पछि हाम्रो एफबीआइको टीमले यो केससंग असम्बन्धित अनुसन्धानमा रहेको अर्को केसको कम्प्युटरमा रहेका इमेलहरु चौबिसै घण्टा हेरिरहेको छ। त्यो अनुसन्धानको क्रममा हिलारीको कम्प्युटरमा र हिलारीको कम्प्युटरमा त्यो कम्प्युटरबाट आएका सम्पूर्ण इमेलहरु एकएक गरि हेर्यौं। हाम्रो अनुसन्धान पछि हिलारी क्लिन्टनको बारेमा हामीले जुलाईमा गरेको निर्क्यौलमा कुनै परिबर्तन नआएको जानकारी गराउन चाहन्छौं। यो समग्र अनुसन्धानको क्रममा रातदिन खटेर काम गर्ने हाम्रा कर्मचारीहरुलाई म हृदयदेखि नै धन्यबाद दिन चाहन्छु”।
कोमिको अक्टोबर २८ मा कांग्रेसलाई पठाइएको उक्त चिट्ठीलाइ “अक्टोबर आस्चर्य” नाम दिइएको थियो। रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार डोनाल्ड ट्रंपले यसलाई राम्रै मसलाको रुपमा प्रयोग गरेका थिए फलस्वरूप उनि राष्ट्र ब्यापी सर्बेक्षणहरुमा कहीं अघि त कहीं एकदम प्रतिस्पर्धात्मक अबस्थामा पुगेका थिए भने क्लिन्टन एकाएक सुरक्षात्मक अबस्थामा पुगेकी थिइन। कानुन मन्त्रालय र राष्ट्रपति बराक ओबामा समेत चुनावको बेलामा प्रयाप्त जानकारी बिना र स्पस्ट रुपमा अभियोग लाग्ने अबस्थामा बाहेक शंका वा उपशंकाको भरमा काम गर्न मिल्दैन भनेर असन्तुस्टी जाहेर गरेका थिए भने एफबीआइका पुराना धेरै अधिकारीहरुले कोमिको कदम राजनीति प्रेरित रहेको आरोप लागाएका थिए। उनलाई चुनाव अघिनै यस बारेमा ठोस जानकारी जनतालाई दिनुपर्ने चर्को दबाव थियो।
चुनाब हुन दुइ दिनमात्र बाँकी रहंदा आएको यो निर्णयले हिलारी र उनको क्याम्पेनलाइ भएको क्षति कसरि पूर्ति हुन सक्छ भन्न सकिन्न तर उनको इमेललाइ लिएर चिन्तित एउटा स्वतन्त्र तप्काले भने त्यसको उत्तर पाएको छ। जे होस् यसले हिलारीलाई भने ठुलो सास फेर्ने अवसर प्रदान गरेको छ।