धर्म, आमा र भाषाको अरुसंग तुलना हुन सक्दैन
October 9, 2016 | 4:56 am    
बिदेशमा बसेर आफ्नो भुमि, भाषा र धर्मको रक्षा एबम प्रबर्धनको लागि काम गर्ने मान्छे निकै कम भेटिन्छन। आफ्नै समुदाय भित्र रहेर बिभिन्न गतिबिधि गर्नेभन्दा सम्बन्धित देशको प्रणाली भित्र छिरेर आफ्नो भाषा र संस्कृतिलाई स्थापित गराउन त झन् कठिन कार्य हो। अमेरिकाको वाशिंगटन स्टेट निबासी एकजना व्यक्तित्व हुनुहुन्छ जसले लामो समय देखि नेपाल र नेपाली चिनाउने अभियान संचालन गर्दै अन्तत नेपाली भाषालाई मान्यता दिलाउन सफल हुनु भयो । सन् १९९३ मा अमेरिका आएपछि थुप्रै समस्याहरुको जन्जिर तोड्दै आज एक सफल ब्यापारी र वाशिंगटन राज्यको कमिस्नर समेत बन्न सफल मोहन गुरुङ संग युएस नेपाल डट कम का लागि लेखनाथ गौतमले गर्नु भएको सन्क्षिप्त कुरा कानी :
नेपाल देखि अमेरिकासम्मको आफ्नो छोटो पृष्ठभूमि बताइदिनुस न !
Mohan Gurung : photo from his facebook
म स्यांग्जा जिल्लाको पेल्कचौरमा जन्मेको हो । गाउँमा एसएलसी पास गरिसकेपछि काठमाडौँ आइयो।त्यतै पढें, अनि बिर अस्पतालमा स्वास्थ्य सेवकको रुपमा लामो समय सम्म काम गरें। अन्य जिल्ला तिर पनि काम गर्ने अवसर मिल्यो। बीर अस्पतालमा काम गर्दा एउटा रोचक घटना घटेको थियो। पदम ठकुराठीलाइ गोलि लगेर अस्पताल जाँदा त्यो गोलीको घाइते हो भनेर पहिचान गरेर प्रारम्भिक उपचार मैले नै गरेको थिएँ। त्यहि कारणले झन्डै म जेलमा सड्नु परेन। काम गर्दा गर्दै अमेरिका आइयो १९९३ मा।
त्यसपछि बिभिन्न उतारचढाव पार गर्दै अहिलेको अबस्थामा आइपुगेको छु।
अहिले तपाईं अमेरिकामा के गर्दै हुनुहुन्छ ?
वाशिंगटन राज्यमा स्टेट कमिस्नरको रुपमा काम गर्छु। आफ्नै ब्यबसाय छ एभरेस्ट किचेन, त्यसमा काम गर्छु। त्यस्तै समय निकालेर सामाजिक काम गर्छु।
वासिंगटन स्टेटमा नेपाली भाषाले मान्यता पायो भन्ने समाचार सुनिन्छ, खासमा कुरो के हो ? यो अभियानमा तपाईंको भूमिका कस्तो रह्यो ?
जसरि स्कुलमा अंग्रेजीको अलावा दोश्रो भाषा स्प्यानिस, फ्रेन्च वा अन्य भाषा लिएर पढ्नु पर्छ, त्यसमा नेपालीले पनि मान्यता पाएको छ। स्कुलमा नेपाली भाषा पढाउने सिक्षक नभएको अबस्थामा नेपाली भाषा पढ्न र लेख्न जान्ने मान्छेले भाषा कक्षा नलीइकन एउटा कक्षाको क्रेडिट लिन सकिन्छ। यो अभियान जारि छ र अन्य क्षेत्रमा पनि लागु गराउन हामी लागेका छौं।
म पहिला २०१० म इकोनोमिक डेव्लोप्मेन्ट कमिटिमा हुँदा, एसियामा नेपाल देश छुटेको देखे पछि, सच्याउन लगाएँ। त्यस्पछी एसियन काउन्स्लिङ्ग एन्ड रेफरल सर्विस मा नेपाली भाषा दर्ता भयो। म प्राय जसो एशिया सम्बन्धि हुने बैठक मैले छुट्टाउदैन्थे , नेपाली भाषी हरु बढ्दै गैरहेको कुराहरु गर्थे। गभर्नर , सियाटलको मेयर , काङ्रेस्म्यान सँग भेट्दा नेपाल र नेपालीको बढ्दो जनसंख्याको बारेमा र हरेक हरेक क्षेत्रमा नेपाली भाषीहरु बढीरहेको बारेमा कुरा गर्थे,सियाटलको मेयरलाई दसैंमा अतिथी बनाएर हाम्रो संस्कृतिको बारेमा अबलोकन गर्न लगाएँ। भु पू उप रास्ट्रपती अल गोर सँग सगरमाथा पग्ली रहेको कुरा गरें। धेरै पटक धेरै ठाउँमा नेपाल र नेपालीहरुको नाम जपे तर मलाई पनि थाहा थिएन यति छिटो हाम्रो भाषाले मान्यता पाउँछ भनेर। मलाई यो बारेमा मद्घत गर्ने मेरो भारतीय साथी म भन्दा सिनियर कमिसनर देवदत्त दाश हुनुहुन्थ्यो।
छोट्करिमा भन्दा झन्डै दुई दसकको समयमा नेपालसियाटल सोसाइटी स्थापना गर्नेदेखी लिएर, इमिग्रेसन रिफर्म देखी लिएर सबै काममा सहभागी हुन्थें।। म कुनै शक्तीवान होइन केवल भक्ती मात्र हुँ। मैले हामीलाई चाहियो भनेर माग्नु भन्दा यिनिहरुलाई चाहिन्छ भन्ने महसुस गराउन चाहन्थें। यहाँको गभर्नर , सिनेटर, काङ्रेसम्यान, लेजिस्लेचर र, मेयर, कमिसनर सबैले हाम्रो कुरा सुन्नु भो रनेपाल र नेपाली लाई माया गरिदिनु भो।
नेपाली भाषाले मान्यता पाउँदा के कस्तो सुबिधा पाउँछन त नेपाली भाषीले ?
पहिलो कुरो मान्यता पाउनु भनेको नै ठुलो हो। मान्यता नहुनु भनेको गैर कानून अथवा कुनै मुल्य नहुनु हो। बिना भाषा साच्चिकैकोसंस्कृतिको आस हुँदैन। नेपालीहरुको रोज्गार बाध्न सक्छ। अरुकुनै जातिले पनि नेपाली भाषा लिएर पढ्न सक्छ। हाम्रो परम्परा जोगिन सक्छ। भाषा नै संस्कृतिको पहिलो खुड्किलो हो। भाषा सकियो भने सबै सकिन्छ, नेपाली भन्ने जनाउने भनेकै नेपाली भाषाले हो। हामीले घरमा बोलेर मात्र नभएर यहाँको प्रणाली कै एउटा भाग बनाउन सकियो भने राम्रो हुन्छ भन्ने मेरो दृढ मान्यता छ। त्यहि सोंचेर मैले नेपाली भाषालाई मान्यता दिलाउन भरमग्दुर प्रयाश गरेको हो।
नयाँ ठाउं, अवसर र सुख सयलको खोजीमा विदेश आए पनि फेरी किन भाषा, धर्म,संस्कृति प्रति यति मोह हुन्छ होला ?
संसारमा राम्रो चिज भने पछि खोज्ने पर्दो रहेछ। हाम्रो र राम्रो चिज नखोजेर अरुको खोज्दै किन हिड्ने ? त्यो कुरा स्वदेशमा भन्दा बिदेशमा झन् बढी महत्वपूर्ण हुँदो रहेछ। त्यसमाथि देश र विदेश भनेको मान्छेले कोरेको सिमा हो। प्रकृति र पृथ्वी त एउटै हो। यो एउटा सिंगो पृथ्वी हो। तर जन्मभुमि, आमा, माता भन्ने शव्द चाहिं अरुसंग तुलना गर्न नसकिने रहेछ। अरुले लाख दिए पनि गरिव र जस्तो सुकै भए पनि आफ्नो आमाको न्यानो काख नै प्यारो हुँदो रहेछ। बिदेशमा पैसा कमाउँदैमा मान्छे खुसि नहुने रहेछ। खुसि भन्ने कुरा मनबाट आउँछ। आफ्नो देश, भेष, भाषा, संस्कृतिले नै हामीलाई साँचो खुसि दिने रहेछ।
भविस्यमा के गर्ने योजना बनाउनु भएको छ ?
योजना गरेको छैन तर सोचेको मात्रै छु। हामी यो भुमिमा पहिलो पुस्ता हो र हाम्रो बाँकी जीवन कहाँ र कसरी बिसाउने अनी हाम्रा आउने सन्ततिलाइ के दिने र के कुरा सिकाउने भन्ने प्रश्नमा अड्किरहेको छु।
अमेरिकामा बस्ने आम नेपाली र नेपाली समुदायका अगुवाहरुलाई केहि सुझाव छ कि ?
यहाँका सबैजना अगुवाहरु म भन्दा बढी शिक्षित तथा अनुभवी हुनुहुन्छ। त्यसैले नै उहाहरु, अगुवा हुनुभाको हो। उहाहरुको समय, मेहनत, तनमन धन लाई मा ठुलो आदर गर्दछु। अहिले सम्म कुनै पनि अगुवाले म नराम्रो गर्छु, नचाहिने काम गर्छु भनेर भनेको सुनेको छैन। तर कती सन्तुस्ट नभएको पनि सुनेको छु। मेरो सानो बिचारमा, जब सम्म सरकारसँग सुबिधा लिन सक्दैनौ तबसम्म हाम्रो समाजको कामहरु त्यतिको प्रभाबकारी नहुन सक्छ। जुन हामीले जे जस्तो गरी रहेका छौ यो त केवल हाम्रो माया र भावना सँग उब्जिएको सेन्टिमेट मात्र हो। वास्तविक दैनिक जीवन बास गास कपास देखी बिलसिताका चुचुरा सम्मा गासिएको छ। मेरो निबेदन के छ भने, टुटेर, फुटेर, जानुभन्दा जुटेर काम गरौ। सबैजनलाई आदर, गरौ कदर गरौ, अरुले गरेको राम्रो कामको लागि कृतज्ञ बन्दै आफुले पनि राम्रो गर्ने प्रण गरौँ।
अन्त्यमा अमेरिका बस्ने, नेपालमा बस्ने र संसारभरि छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदि बहिनीहरुलाई बिजय दशमी २०७३ सालको उपलक्षमा शान्ति, प्रगति र भाइचारा वृद्धिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु