एनआरएन अमेरिकाको चुनाव स्थगन: कुकुर ब्याए पनि तुहिए पनि उस्तै
अन्तत: एनआरएन अमेरिकाको चुनाव स्थगित भएको छ । चुनाव आउन तीन दिन बाँकी रहंदा गरिएको चुनाव स्थगनको निर्णयले सच्चा एनआरएनका मित्रहरुलाई चोट पुगेको छ भने क्षणिक आत्मरतिमा रमाउने जमातले यो अबस्थामा पनि त्यो मनाउदै गर्ला । तर यो समग्र प्रक्रियामा दुवै तर्फबाट भए गरेका गतिबिधिहरु बिशेष गरी यो प्रक्रियाको बिरुद्धमा अदालत गइएको भन्ने हल्लाले धेरैलाई चिन्तित बनाएको छ । चुनावको स्थगन संगै अब के होला भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । सामाजिक संजालमा देखिएको गालीगलोज र तिब्र अतिरन्जित ध्रुविकरणले समाजलाई विभाजित गरेको छ ।
अब के होला ?
गौरी जोशी समुहले साम, दाम, दण्ड, भेद प्रयोग गरी निर्बाचन पर सार्न सफल भएपछी डाक्टर केशव पौडेल समूह रुस्ट हुने अनुमान गर्न गाह्रो छैन । अहिले सम्म चुनावी नारा र अन्य कुराहरुका कारण विभाजित अन्य खेलाडीहरु पनि निर्बाचन नहुने भए पछि यो लडाईमा सामेल हुनेछन । यो ध्रुविकरणमा क्षेत्रिय संयोजक सोनाम लामा, एसी शेर्पा, केशव पौडेल र निर्बाचन समिति समेत एकातिर हुनसक्ने देखिन्छ । अदालत गएको कारणले गौरी जोशीलाइ एकातर्फ संगठनको आन्तरिक मामिला अदालतमा पुर्याएको भनेर आक्रमण गरिनेछ । साथै चुनाव स्थगित भए पछि बाध्यकारी अबस्थामा बाहेक केशव पौडेल समूह चुनावनै नगरी बस्ने सम्भावना उत्तिकै छ । चुनाव गर्न बाध्य भैहाले पनि आफुलाई अनुकुल नहुने अबस्थामा उनले चुनाव गर्ने छैनन् । यसले चुनाव तत्कालै हुन नसक्ने सम्भावना देखिन्छ ।
अर्को तर्फ आन्तरिक रुपमा न्याय मिल्ने प्रशस्त अवसर हुँदा हुँदै र हुँदै नहुँदा पनि भविस्य उज्ज्वल हुँदा हुँदै अदालत जानु गौरी जोशी समुहको गम्भीर भुल हो । गौरी जोशी पनि यसमा तयार थिएनन । थुप्रै अबसरमा आफु कुनै हालतमा अदालत नजाने बचनबद्धता दोहोर्याएका जोशी केहि संकीर्ण व्यक्तिहरुको गलत प्रभावमा परी अदालतको ढोका सम्म पुगेका छन् । यसले जोशीको एनआरएनको यात्रा समाप्त प्राय हुनसक्ने देखिन्छ । एनआरएन अमेरिका हाँक्ने र भोलि आइसीसी सम्म पुग्न सक्ने छवि र चर्चा कमाएका जोशी यस्तो आत्मघाती निर्णयमा किन पुगे भन्ने कुरा अहिलेको चर्चाको बिषय हो । यसले क्षणिक रुपमा त उनलाई बदला लिएकोमा सुखद अनुभूति त होला तर भबिस्यको एनआरएन यात्राको बाटो भने दुरुह बनाइदिएको छ ।
अर्कोतर्फ केशव पौडेलको नेतृत्व पनि असफल सावित भएको छ । केहि महिना सम्म टेनीसी कोर्टमा धाउँदै गरेका पौडेल फेरी टेनीसी पुगेका छन् । आफ्नै सहकर्मिद्वारा बिरुद्धमा उम्मेद्वारी दिएर उनको नेतृत्वलाइ चुनौती दिइसकेको अबस्थामा उनको कार्यकालमा भए गरेका कामहरुको संगै बसेर काम गरेका साथीहरुले चर्को आलोचना गरेका छन् । गुटबन्दी गरेको, अति राजनीतिकरण गरेको, संगठनमा सामुहिक नेतृत्वको धारणालाइ लत्याएको जस्ता आरोप उनीमाथि उनकै सहकर्मीहरुले लगाएका छन् । एनआरएन र अमेरिकाको नेपाली समाज यति ध्रुविकरण हुँदा पनि त्यसलाई गम्भीर रुपमा नलिनु, निर्बाचन प्रक्रियामा अनाबस्यक हस्तक्षेप हुने बाताबरण निर्माण गर्नु र अन्तत्वगत्वा निर्बाचन समयमा सम्पन्न गर्न नसक्नु मात्र होइन अदालतमा संस्थालाई पुर्याउन कारकको रुपमा रहनु उनका असफलताका ज्वलन्त उदाहरणहरु हुन् ।
अमेरिकामा गरिखाने नेपालीहरुलाई यसको असर के पर्ला ?
दुनियाँलाइ थाहा छ यो जुँगाको लडाई हो । यो लडाइमा जसले जिते पनि वा हारे पनि आम नेपालीहरुलाई यसले रौँ जति पनि असर गर्दैन । काले आए पनि गोरे आए पनि दुख गरी खाने नेपालीहरुको समस्या यिनीहरुले टार्ने होइनन । यो अबस्थामा आइपुगेको लडाईमा एउटा पक्षले अर्को पक्षको बिरुद्धमा पक्कै जेहाद छेड्नेछन् । यो लडाई लम्बिदै गर्दा फाइदा हुने भनेको केहि सिमित व्यक्तिहरु हुन् जसले पैसा वा अन्य प्रभावमा परी उम्मेदवारहरुलाई उचाल्ने गर्छन । उनीहरुको दानापानीको गर्जो भने अरु केहि दिनको लागि टर्नेछ । हामी जस्ता नेपालीहरु जो आफ्नो र परिवारको भविस्यको लागि संघर्ष गरिरहेका र एनआरएन जस्तो संस्थाबाट केहि आधार पाउँला भन्नेहरुको लागि भने यो लडाईले कुनै अर्थ राख्दैन । आफ्नो क्षणिक स्वार्थ पूर्तिको लागि गरिने यी चलखेल प्रति कुनै स्तरको पनि चासो आम जनताहरुमा देखिँदैन । चुनाव भएको भए पनि यो कौवालाइ बेल पाके सरह हुने थियो भने चुनाव नहुँदा पनि कुकुर ब्याउनु र तुहिनु केहि फरक नभए जस्तै हो । तर दुवै तर्फका हनुमानहरुको सामाजिक संजालमा चुरीफुरी र गाँड कोराकोर हेरेर भने सबैले मनोरंजन प्राप्त गर्ने नै छन् ।