नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न
डालस, टेक्सास । सनिबार साँझ नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको चौथो बार्षिक भेटघाट तथा भोज कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका ब्यबसायी तथा अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रह्यो ।
नेपालिज अमेरिकन च्याबर्स अफ कमर्स स्थापनाको लागि लामो समय देखि चर्चामा रहे पनि २०१४ मा यसको बिधिबत स्थापना भयो । डालस वरपर रहेका नेपाली व्यापारीहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको शिप विकास गर्दै सफलतासम्म पुर्याउन सहयोग गर्ने उद्देस्यले यसको स्थापना गरिएको हो । यसको लागि आबस्यक साधन, श्रोत, सूचना, जानकारी र हौसला प्रदान गर्न यसले काम गर्दै आएको छ ।
सोहि उद्देस्य अनुरुप हिजोको कार्यक्रममा पनि केहि बक्ताहरु निम्त्याइएको थियो । उनीहरुका विचार सुन्ने र उनीहरुका संघर्षका कथाहरुबाट केहि सिक्ने उद्देस्यले एसबि इन्टरनेसनलका प्रमुख सतिस गुप्तालाई निम्त्याइएको थियो । एक सामान्य परिबारको पृष्ठभूमिमा भारतबाट अमेरिका आएको एक व्यक्तिले कस्ता चुनौती सामना गरेर एउटा अमेरिकाकै सम्बृद्ध कम्पनी निर्माण गर्न सफल भयो भन्ने आफ्नो करिव ४० बर्षे अमेरिकी यात्राको कथा उनले सुनाए । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका बोर्ड अफ ट्रस्टिका अध्यक्ष बिनय अर्यालले नेपाली मन्दिरको सन्क्षिप्त परिचय दिंदै प्रमुख अतिथि तथा बक्ता समेत रहेका सतिस गुप्तालाई दर्शकसामु परिचय गराउनु भएको थियो ।
कार्यक्रमको संचालन संस्थाका महासचिव बाल जोशीले गरेका थिए । छोटो, मिठो, रमाइलो र सुचनामुलक सामग्रीसाथ जोशीले कार्यक्रम संचालन गरे । कार्यक्रममा सम्पूर्ण आगन्तुकहरुलाई स्वागत अध्यक्ष मनोज सिग्देलले गरेका थिए । त्यस्तै संस्थापक अध्यक्ष बासुदेव भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापा, अमेरिका-भारत च्याम्बर्स अफ कमर्सकी अधय्क्ष नील गोनुगुण्टला, रिचल्याण्ड कलेजका निर्देशक बान ह्युन र एभरेस्ट फेडेरल युनियनको तर्फबाट बिराज रिजालले मन्तब्य व्यक्त गरेका थिए ।
अर्को बक्ताको रुपमा निम्त्याइएकी बिओके फाइनान्सलकी उपाध्यक्ष जोन्ना लेसीले बोलिद्वारा कसरी अरुसंग जोडिन सकिन्छ र बोलीले ब्यबसायमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुरा बैज्ञानिक तथ्यहरुद्वारा प्रस्ट पारेकी थिइन । खानपिनको कार्यक्रम संगसंगै प्रायोजकहरुलाई आफ्नो उत्पादन वा सेवाहरु बारे जानकारी दिन समय उपलब्ध गराइएको थियो । कार्यक्रम भव्य रुपमा सम्पन्न भए पनि जोन्ना लेसीले लामो समय लिएर बोले पछि कार्यक्रम तन्किन पुगेको थियो ।