उइघुर अल्पसंख्यक मुसलमान बिरुद्ध चीनको कारबाही: आतंकबाद बिरोधी कि पहिचान ?
चीनमा सबभन्दा बढी बुद्ध धर्माबलम्बीहरु छन् । त्यसपछि ताओबाद मान्नेहरु छन् । “लाओ जु” ले प्रतिस्थापन गरेको सिद्धान्त हो ताओबाद । त्यसका करिव एक करोड बिस लाख अनुयायीहरु छन् चीनमा । त्यसपछि कन्फ्युसियस धर्म, मुस्लिम धर्म र क्रिस्चियन धर्म मान्नेहरु चीनमा छन् । यद्यपि चीन कम्युनिस्ट देश हो, हालैका दशकहरुमा चीनले धार्मिक अतिबादको सामना गर्दैछ । कट्टरपन्थी मुसलमान यतिबेला चीनको टाउको दुखाइ बनेका छन् । चीनको सुदुर पश्चिम क्षेत्रमा रहेका अल्पसंख्यक उइघुर मुस्लिम समुदायलाई कसरी अतिबादी विचारबाट अलग गर्न सकिन्छ भन्ने चीनको लक्ष रहेको छ ।
चीनको सुदुर पश्चिमी प्रान्त जिन्जियांगको करिव २४ लाख जनसंख्यामा आधाभन्दा बढी उइघुर समुदायको बसोबास छ । २००९ मा त्यहाँको हान समुदाय र उइघुर बिचको हिंस्रक झडपमा १९७ जना मारिएका थिए जसमा अधिकांश हान समुदायका थिए । त्यसपछि चीनको केन्द्रिय सरकारले त्यहाँ बढी ध्यान दिन थाल्यो । चीनका अधिकारीहरु त्यसपछि चीनले लिएका निती र उइघान बिरुद्ध चालिएका कदमहरुले उक्त प्रान्तलाइ “चीनको सिरिया” हुन बाट जोगाएको तर्क गर्छन ।
२०१२ चीनमा जी जिनपिङ्ग सत्तामा आएपछि उइघुर समुदाय र क्रिस्चियन समुदायको बिरुद्ध अभियान चलाइएको राष्ट्रसंघले दावी गरेको छ । यतिबेला लाखौँको संख्यामा रहेका उइघुर र क्रिस्चियन समुदायका व्यक्तिहरुलाई “बिशेष कक्षा” मा सहभागी हुन बाध्य बनाइएको छ । यसको उद्देश्य उनीहरुलाई मुसलमान वा क्रिस्चियन धर्म छोड्न प्रेरित गरिन्छ । धेरै लामो दाह्री पाल्न र सार्बजनिक क्षेत्रमा बुर्का लगाउन प्रतिबन्धित छ । अधिकारबादीहरुले यसलाई मानव अधिकारको उल्लङ्घन भने पनि चीनले यसलाई अतिबादी चिन्तन बिरुद्धको कारबाही भनेको छ ।
तर त्यस्ता कक्षाहरुमा सहभागीहरुले त्यो “अतिबादी” बिरुद्धको कक्षा नभएर उइघुरको पहिचान बिरुद्धको कक्षा भएको बताउँछन् ।
२०१४ मा उत्कर्षमा पुगेको सरकार बिरोधी हिंसात्मक आन्दोलनले चीनलाइ झन् बढी झस्कायो । त्यसपछि उइघुर बिरुद्धको कारबाही झन् तिब्र पारियो । चीन सरकारले यसलाई सुधार अभियान भनेको छ जसमा उनीहरुलाई चिनिया कम्युनिस्ट पार्टीको सदस्य हुन लगाइन्छ ।
यतिबेला चीनको जिनजियाङ्ग प्रान्तमा अरबौं डलर खर्च गरेर उइघरहरुलाई आतंकबादी हुन बाट रोक्न ठुलो संरचना संचालित छ । हरेक ठाउंमा निरिक्षण क्यामेराहरू राखिएका छन् । यहाँ सम्म कि कतिपय शंकास्पदको घरमा समेत क्यामेरा राखिएका छन् । उनीहरुलाई किताव पढ्न र सार्बजनिक रुपमा पुजा गर्न प्रतिबद्ध लगाइएको छ । उइघर समुदायको पहिचान सम्बन्धित कुनै पुस्तक पढ्न त्यहाँ पाइदैन । महिनौ सम्म बिना कुनै आरोप प्रहरीको कब्जामा राख्ने गरिन्छ । यसले उइघर समुदाय पहिचानबिहिन हुने अबस्थामा पुगेको छ । उनीहरु बिस्तारै चीनबाट पलायन हुँदैछन् ।
बिस्वब्यापी रुपमा बढ्दो आतंकबादले चीनलाइ पनि आक्रान्त पार्न शुरु गरिसकेको थियो । २००९ र २०१४ का सरकार बिरोधी आन्दोलन र हिंसामा धेरैको ज्यान गए पछि चीनले कडा निती अनुसरण गरेको देखिन्छ । चीनले यो सबैलाई चिनियाहरुको आतंकबादी यात्रा रोक्ने अभियान भनेको छ । यसलाई जुनसुकै रंगमा मलजल गरे पनि अन्त्यमा यसले चीनलाई आक्रान्त पार्न सक्छ भनेर चालिएको कदम भन्दै अन्तररास्ट्रीय मंचहरुमा आफ्नो बचाउ गर्दै आएको छ ।