मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको विश्वकपमा स्थान सुरक्षित
काठमाडौं, असोज २५ । ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे ।
खेलको सुरुमा इक्वेडरका रोमारियो इबोराले अर्जेन्टिनाविरूद्ध पहिलो गोल गरेका थिए। त्यसपछि मेसीले खेलको १२ औं मिनेटमा पहिलो गोल फर्काएर खेललाई बराबरमिा ल्याए भने खेलको २० औं मिनेटमा उनले दोस्रो गोल गरे। दोस्रो हाफको ६२ औं मिनेटमा मेसीले तेस्रो गोल गर्दै टोलीलाई विश्वकपमा पुर्याएका हुन् ।
यस खेलसँगै दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये सिधै विश्वकपमा छानिने सबै ४ टोलीको टुंगो लागेको छ । यो समूहमा ब्राजिल शीर्ष स्थानमा रहँदा उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलम्बिया चौथो स्थानमा रहँदै रुस विश्वकपमा स्थान बनाउन सफल भए ।
पाँचौ स्थानमा रहेको पेरुले प्ले अफ चरणमा ठाउँ बनाएको छ । पेरुले अब ओसियाना समुहको विजेता टोली न्युजिल्याण्डसँग विश्वकप छनोटका लागि अन्तिम प्ले अफ खेल्नेछ ।