डालसमा नेवारी बुद्धिस्ट समुदायको पंचदान चाड सम्पन्न
डालस, अगस्त १९ । दान गर्नु धर्म हो, यो कुरा सबैलाई थाहा छ तर दान गर्न गाह्रो कुरा पनि हो । आफ्नो लागी मात्र बाँच्ने र आफ्नो लागी मात्र सोंच्ने अहिलेको जमानामा अर्कालाई दिनु सहज होइन । दान गर्न ठुलो मन चाहिन्छ । हाम्रो धर्मले जहिले पनि दानलाइ एउटा धर्मको खम्बाको रुपमा मानेको छ । बुद्ध धर्ममा गरिने ८ सुकर्म मध्ये दान एक नम्बरमा पर्छ । यहि दान गर्न आफ्ना साना नानिबबुहरुलाई सिकाउन डालसको नेपाली मन्दिरमा पंचदान कार्यक्रम सम्पन्न गरियो । संस्कृतिको धनी नेवारी समुदायको पनि बज्राचार्य, शाक्य, महर्जन र तुलाधर लगायत अन्य केहिले बिशेष गरी काठमाडौँ र काठमाडौँ वरिपरिका शहरमा यो संस्कृतिलाई लामो समय देखि पालन गर्दै आएका छन् । सोहि संस्कृतिलाई अमेरिकामा समेत निरन्तरता दिन यहाँ उक्त कार्यक्रम गरियो ।
नेवारी बुद्धिस्ट समाजको आयोजना तथा महेन्द्र मानन्धरको नेतृत्वमा यो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको अन्य संयोजन शैलेन्द्र मानन्धर, मकर बज्राचार्य, स्वयम्भु शाक्य तथा प्रमेश श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा डालस वरपर रहेका नेवार बुद्धिस्ट समुदायका धेरै परिवारहरुको उपस्थिति थियो । उक्त अबसरमा गुरुहरुले यो दानको प्रचलनको कारण र त्यसको अहिलेको समयमा रहेको महत्व उल्लेख गर्दै अरुलाई दिने जस्तो पुण्यको काम अर्को पुस्तामा हस्तान्तरण गर्नु यस्ता कार्यक्रमहरुको मुख्य उद्देश्य रहेको उल्लेख गर्नु भएको थियो । बुद्ध धर्मको मुख्य लक्ष शान्ति र मोक्ष रहेकोले दान र समर्पणबाट यो लक्ष प्राप्ति हुन सक्ने कुरा उल्लेख गर्नु भएको थियो । पंचदान भन्नाले धान, चामल, नुन, दाल र पैसा पर्छन ।
अहिले समय अनुसार यो चलनमा केहि परिबर्तन पनि आएको छ । दान अहिले पुजारीहरुलाई दिने गरिन्छ भने पंचदान भनिए पनि आबस्यक सबै बस्तुहरु दिने गरिन्छ । कतिपय जोगीको रुपमा आफ्ना यजमानहरुको घरमा जाने चलन पनि छ । दान गर्नेहरुको जानेर वा नजानेर गरिएको पाप नस्ट हुन्छ भन्ने विश्वास यो समुदायमा पाइन्छ । यसको शुरवात कहिलेबाट भयो भन्ने यकिन तथ्यांक नभए पनि राजा सर्बानन्दको पालामा शुरु भएको विश्वास गरिन्छ ।
कथा अनुसार राजा सर्बानन्दले बुद्धलाई खानाको लागी निम्तो गरे । बुद्धले बाटोमा एकजना बृद्ध महिला भेट्नु भयो । ती बृद्धाले बुद्धलाई आफ्नो घरमा खाना खान आग्रह गरिन । बुद्धले उक्त कुरा स्वीकार गर्नु भयो । बृद्धाको घरमा खाना खाएर राजाकोमा निम्तो मान्न जाँदा ढिला भैसकेको थियो । त्यो देखेर राजा रिसाए । बुद्धले राजाले दिएको खाना उनले आफैले कमाएको नभएकोले खान नसक्ने कुरा बताउनु भयो । यो खाना राज्यको करबाट किनिएको जुन आम मानिसहरुसंग जबर्जस्ति संकलन गरिएको हुनसक्ने तर्क राख्नु भयो । त्यसबाट खिन्न भएका राजा आफै काम गर्न गए । आफ्नै हातले कमाएको पैसाले किनेको कुरा बुद्धलाई दान गरे । त्यसै दिनदेखि यो चलन शुरु भएको किम्बदन्ती छ ।