संगीतकर्मी कल्याणकारी कोषमा अकोरवका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीद्धारा १५ हजार ५ सय १५ सहयोग गर्ने घोषणा
सामुदायीक रेडियो प्रसारक संघ अकोरवका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ५ सय १५ सहयोग गर्ने घोषणा गर्नु भएको छ । दाङ जिल्ला निवासी गिरी झण्डै २ दशक देखी पत्रकारीतामा सकृय हुनुहुन्छ । रेडियो तुल्सीपुरका स्टेशन म्यानेजर समेत रहेका गिरी यस अघिको कार्यकालमा पनि सामुदायीक रेडियो प्रसारक संघ अकोरवको जिम्मेवार पदमा रहेर कार्य सम्पादन गरि सक्नु भएको छ । गिरीले नेपालका सामुदायीक रेडियो र रेडियोकर्मीको क्षमता र दक्षता बिकासका लागि साथै रेडियोहरुको दिगोपनाका लागि अन्तराष्ट्रिय फोरममा आवाज उठाउदै आउनु भएको छ। प्रतिलिपी अधिकार र रोयल्टीका बिषयमा समेत चासो राख्ने गिरीले सामुदायिक रेडियोहरु स्रष्टालाई रोयल्टी दिनु पर्ने पक्षमा रहेको बताउनु भएको छ । उहाँले सामुदायिक रेडियोहरु रोयल्टीको मापदण्डका बारेमा गीत संगीतकर्मी हरुसंग छलफलमा बस्न चाहेको बताउनु भएको छ । आफू गीत संगीतको असल श्रोता भएको बताउने गिरीले संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा जोडिन पाउदा खुसी लागेको बताउनु भएको छ । बरिष्ठ उपाध्यक्ष गिरीले अर्को साता गीत संगीत संग सम्बन्धित संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्ने जानकारी दिनु भएको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । पौष सम्मको विबरण अनुसार कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५ जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।