संगीतकर्मी कल्याणकारी कोषमा गीतकारहरु शुनिल र रिन्जीद्धारा २० हजार सहयोग : गीतकार नारायण गौतम द्धारा २० हजार घोषणा
संगीतकर्मी कल्याणकारी कोषमा गीतकार रिन्जी सागर राई र गीतकार शुनिल उप्रेतीले सहयोग गर्नु भएको छ । गीतकार रिन्जी सागर राईले पुर्व प्रतिबद्धता अनुसार १५ हजार ५ को चेक संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गर्नु भएको हो । त्यसैगरी बिहिबार संगीत रोयल्टी संकलन समाज नेपालमा आयोजीत एक कार्यक्रममा गीतकार शुनिल उप्रेतीले नगद ५ हजार हस्तान्तरण गर्नु भएको हो । गीतकार राई र उप्रेतीले यो सहयोग आफूले आफ्नै लागि गरेको प्रतिकृया दिदै सबै गीतकारहरु लाई यो अभियानमा जोडिन आग्रह गर्नु भएको छ । यसैगरी आजै हेटौडा बसामडी घर भै हाल अमेरिका बस्ने गीतकार नारायण गौतमले कोषमा २० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । गीतकार गौतमले यस प्रकारको स्रष्टाको हित हुने अभियानमा आफनो सधै साथ र समर्थन हुने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट सहयोग गर्न पाएकोमा उहाँहरुले खुसी ब्यक्त गर्नु भएको छ ।
संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । भने यो महिना ५ लाख थपहुन सक्ने अनुमान गरिएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।