अब स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था : शुरुवात पत्रकारबाट -१३२ जना पत्रकारको मृगौला परिक्षण :सवैलाइ मृगौला परिक्षण गर्न स्वास्थ्य मन्त्री थापाको आह्वान
स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मृगौला परिक्षण गर्न सवैलाई आह्वान गर्नु भएको छ ।
नेपाल प्रेस युनियनले काठमाडौमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मृगौला परिक्षणका लागि प्रयोग हुने डिपिस्टीक किट सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गर्नुभयो ।
हरेक ६÷६ महिनामा मृगौला परिक्षण गर्नु पर्ने भएपनि नेपालमा धेरैले परिक्षण नगरेकाले गाँउ गाँउमा परिक्षणको व्यवस्था गरिएको बताउनु भयो ।
स्वास्थ्यमन्त्री थापाले समयमा नै ध्यान नदिँदा क्यान्सर र मिर्गौला सम्बन्धि रोगबाट धेरैले ज्यान गुमाउन पुगेको भन्दै पत्रकारहरुले नै यस्तो कार्यक्रम गर्नाले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नु भयो । अहिले स्वास्थ्य मन्त्रालयमा दैनिकजसो मिर्गौला र क्यान्सर रोगका पीडितहरु सरकारसँग सहयोग माग्न आउने गरेको भन्दै बेलैमा उपचार नगराउँदा कतिपयले त ज्यानै गुमाउनु पर्ने अवस्था समेत रहेको बताउनु भयो । प्रेस युनियनले सधैंभरी कार्यक्षेत्रमा खटिने पत्रकारहरुको स्वास्थ्य परीक्षण आवश्यक रहेको ठहर गर्दै आफ्नो रजत जयन्तिको अवसरमा यस्तो कार्यक्रम गरेको थियो । युनियनले पहिलो पटक मिर्गाैला रोगको मात्रै परीक्षण गरिएको भएपनि आगामी दिनहरुमा यस्तै जोखिमपूर्ण रोगहरुको परीक्षण कार्यक्रम गर्दै जाने प्रंतिबद्धता व्यक्त गरेको प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनु भएको छ । मृगौला परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका स्वस्थ्यकर्मीहरु राजकुमार मिश्र, भोलानाथ पौडेल, रुपा बुढाथोकी र सहयोगी जानुका चालिसेले प्राविधिक सहयोग गरेका थिए ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाएको जनाएको छ ।
आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाई छ ।
चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सवै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था गएिको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकासँग समन्वय गरी स्वास्थ्य मन्त्रालयले अहिले राजधानीमा १० ठाउँमा ‘हेल्थ सेन्टर’ खोलेर निशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतना जगाउने कामगर्न लागिरहेको छ ।
गाँउ गाँउमा निःशुल्क मृगौला परिक्षणको व्यवस्थाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि आज नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
आज १३२ जना पत्रकारको मृगौला परिक्षण गरिएको र सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिईएको स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीको जानकारी दिनुभयो ।