नोभेम्बर २४ आइतबार बिडीएको पहलमा रक्तदान कार्यक्रमहरु हुँदै
डालस, टेक्सास। ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाको पहल र संयोजन एबम अन्य बिभिन्न संस्थाहरुको अगुवाईमा डालस फोर्ट वर्थ क्षेत्रका बिभिन्न स्थानहरुमा नोभेबर २४ आइतबार रक्तदान कार्यक्रम हुने भएको छ। रक्तादाताहरुको सुबिधाको लागि तीन स्थानमा रक्तदान गर्न सकिने गरी स्थलहरु छनोट गरिएको छ।
प्रबासी नेपाली मंचको आयोजनामा युलेसको ठमेल बियर गार्डेनमा बिहान १० देखि ४ बजे सम्म, लायन्स क्लब २X डिस्ट्रिक्टको आयोजनामा ३७०० वेस्ट नर्थगेट ड्राइभ अर्भिंगमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म र लुम्बिनी सेवा समाजको आयोजनामा युलेसको नेपाली मन्दिरमा पनि सोहि समय बिहान १० बजे देखि ४ बजेसम्म रक्तदान कार्यक्रम संचालन गरिने छ। यो समय भित्र आफ्नो पायक परेको ठाउँमा रक्तदान गर्न योग्य व्यक्तिहरुले रक्तदान गर्न सक्नु हुनेछ।
बिगतमा जस्तै बिडीएले रक्तदान कार्यक्रम आयोजना गर्ने र सहयोग एबम सहजीकरण गर्दै यसपटक तीन ठाउँमा एकै पटक गर्न लागिएको संस्थाले जनाएको छ। संधै झैं यसपटक पनि नेपाली समुदायको सहयोग प्राप्त हुने आशा समेत संस्थाले व्यक्त गरेको छ।
दानहरु मध्ये रक्तदान सबभन्दा पुण्यको दान मानिन्छ। एकपटक रक्तदान गर्दा तीन जनाको सम्म जीवन बच्न सक्ने भएकोले यो निकै पुण्यको काम हो। हरेक तीन तीन महिनामा दिन सकिने, जति दिए पनि नसकिने र दिंदा झन् फाइदा हुने भएकोले यो दान सजिलो दान पनि हो। आफ्नो नसकिने तर अरुको ज्यान बच्ने यो भन्दा अर्को दान छैन।
आफु बसेको समुदायमा केहि योगदान गर्ने उद्धेस्यका साथ नेपालीहरुको पहल, सक्रियता र नेतृत्वमा ब्लड डोनर्स अफ अमेरिका गठन भै लामो समय देखि यस्तो पुण्य कर्म गरिरहेको छ। यसले नेपाली समुदायलाई अमेरिकाको मुलधारसंग जोड्न निकै मद्धत मिलेको बिडीएका भाइस प्रेसिडेन्ट शिव काफ्लेको अनुभव छ। आप्रबसिहरु प्रति अनुदार व्यक्तिहरु समेत यस्ता अभियानले प्रभावित हुने र उनीहरुप्रति सकारात्मक हुने धेरैको बुझाइ रहेको छ।
बिडीए अमेरिकाले स्टेट र क्षेत्रगत रुपमा बिभिन्न शाखाहरु गठन गर्दै सक्रिय रुपमा रक्त संकलन कार्यक्रमहरु गरिरहेको छ। सक्रिय मध्ये टेक्सास च्याप्टर अग्र पंक्तिमा पर्छ। टेक्सास च्याप्टर अध्यक्ष अजय बगालेले यहाँ हुने सबै रक्तदान कार्यक्रमहरुमा नेतृत्व, संयोजन र पहल गर्दै आउनु भएको छ।
आउनुहोस् हामी पनि हामी बसेको बसेको समुदायमा केहि योगदान गर्न आफ्नो तर्फबाट जतिसक्दो गरौँ। रक्तदान जीवनदान भन्ने नारालाई सार्थक बनाउन मिलेसम्म दान गरेर पुण्य आर्जन गरौँ।