समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?
परेको बेलामा अर्कोको लागि बिना कुनै स्वार्थ गरिने सेवा समाजसेवा हो। जब त्यसमा पदको, प्रतिष्ठाको गन्ध आउँछ वा व्यक्तिगत स्वार्थको गन्ध आउँछ, त्यो समाजसेवा हुँदैन। त्यो त नितान्त आफ्नो स्वार्थको लागि गरेको काम हो जुन समाजसेवाको मुकुण्डो धारण गरेर गरिन्छ। आफ्नो ब्यापार वृद्धिको लागि गरिने देखावटी समाजसेवा त झन पाप नै हो।
अरु समाजमा समाजसेवा कसरी गरिन्छ, बिस्तृत जानकारी त छैन तर नेपालीहरुको समाजसेवाको प्रवृति भने यात्रा तत्र सर्बत्र देखिएकै छ। बिशेष गरी प्रबासमा व्यक्तिहरुलाई सेवाको आबस्यकता अत्यन्त हुने हुनाले समाजसेवा रुपी ब्यापार निकै फस्टाएको छ। तर रुपमा त्यो समाजसेवा देखिए पनि सारमा समाजसेवा भन्दा अरु कुनै कामहरु प्राथमिकतामा परेको देखिन्छ।
डालसको नेपाली समाज ठुलो छ र यहाँ समाजसेवीहरुको लर्को पनि निकै लामो छ। पद, प्रतिष्ठा र निजी व्यापार वृद्धिको लागि नै यहाँ धेरैले समाजसेवाको जप गरिरहेको पाइन्छ। चाहे सामाजिक संस्थाहरुमा होस् चाहे धार्मिक संस्थाहरुमा होस्, मुलभूत रुपमा समाजसेवा भन्दा व्यक्तिको कुण्ठा ब्यबस्थापनले बढी उर्जा खपत गरिरहेको हुन्छ। केहि लाइ छोडेर अधिकांश संस्थाहरु व्यक्ति र उनीहरुका कुण्ठा ब्यबस्थापन मै अल्झिरहेका छन्।
त्यस्तै यतिबेला अस्टिनको नेपाली समाजमा पनि त्यहि कन्तबिजोग चलिरहेको छ। त्यो पनि रुपमा अन्य कुराहरु देखिए पनि सारमा व्यक्तिहरुको कुण्ठा नै मुख्य कारण हो। सबै सेवा मात्र गर्ने मनसायले त्यहाँ जाने हो भने कहीं कतै समस्या आउँदैन। तर सेवा भन्दा पद, काम भन्दा प्रक्रिया र पद्दति भन्दा व्यक्तिलाई महत्व दिंदा यो जग हँसाउने काम भैरहेको छ।
हाम्रो मुख्य समस्या गुटबन्दी हो। एक बाट दुइ हुने बित्तिकै गुटबन्दी शुरु भैहाल्छ। फरक मत वा धारको आवरणमा व्यक्तिगत कुण्ठा शुरु हुन्छ। संस्थाको काम भन्दा पनि आफु माथि जान वा टिक्न अनेक तिकडम शुरु गरिन्छ। कामलाई होइन कसको पक्ष भन्ने चस्माले मुल्यांकन शुरु हुन्छ। सुधारको लागि गरिएका स्वस्थ आलोचनाहरु विरोधीको रुपमा र आफ्नो फाइदा लिन प्रशंशा गर्नेहरुलाई शुभचिन्तकको रुपमा लिइन्छ। समस्या यहीं बाट शुरु हुन्छ। संस्था चलाउनेहरु त्यो आलोचना र प्रशंशाको चक्रब्युह तोड्न नसक्दा त्यो संस्थाको उद्देश्य पुरा हुन सक्दैन।
कतिपय संस्थामा काम गरेकाहरुमा “मैले समय दिएको छु, समय नदिनेले आलोचना गर्न हुँदैन” भन्ने विचार रहेको पाइन्छ। “मन नपरे आफै आएर गर” भन्ने ठोसे जवाफ दिने गरेको समेत पाइन्छ। तर सबैले बुझ्नु पर्ने कुरा चाहिं के हो भने कुनै संस्थामा जान कसैलाई बाध्यता छैन। आफ्नै इच्छाले त्यहाँ गएको हो। संस्थाको बिधान अनुरुप समाजको लागि समय दिन सक्छु भनेर त्यहाँ गएको हो। संस्थाको उद्देश्य पूर्तिको लागि नै त्यहाँ बिभिन्न पद सिर्जना गरिएका छन् र त्यसका दायित्वहरु छन्। त्यो दायित्व पुरा गर्न सकिन्न भने नजाँदा राम्रो। पद ओगट्ने तर जिम्मेवारी नलिने गर्न पाइन्न।
त्यसो त समाजसेवा अन्तत व्यक्तिको सेवा नै हो। आफ्नो सम्पर्कमा आउने वा रहनेहरुलाई व्यक्तिगत रुपमा सहयोग गर्नु पनि समाजसेवा हो। त्यसको लागि संस्था खोल्न पर्दैन। एकै चोटी धेरैलाई र धेरैले सेवा गर्न सजिलो होस् भनेर संस्था निर्माण गर्ने हो। संगठित रुपमा सेवा गर्न संस्था खोल्ने चलन चलेको हो। तर नेपाली संस्थाहरुमा संस्थाहरु नै व्यक्तिगत र सामाजिक झगडाका कारक बन्दै आएका छन्।
एनआरएन को स्थापना नेपालीहरुलाई जोड्ने अभिप्रायले भएको हो तर यसमा पनि कुण्ठा ब्यबस्थापन नै चुनौती बन्दै आएको छ। एकार्कामा बोलचाल समेत बन्द छ केहि व्यक्तिहरुमा। यहाँ सम्म कि मन्दिर जस्तो पबित्र ठाउँमा पनि राजनीति, कुण्ठा र व्यक्ति ब्यबस्थापनले धेरै उर्जा खेर जाने गरेको छ। यति ठुलो समुदाय र मनकारी व्यक्तिहरु समाजमा हुँदा हुँदै पनि ब्यबस्थापकीय कमजोरी र “आफु केन्द्रित” रहने प्रवृतिका कारण धेरै चुनौतिहरु देखिंदै आएका छन्।
यसको समाधानको लागि सबैले सामाजिक सस्न्थामा सेवा गर्न जाँदा आफ्नो व्यक्तिगत स्वार्थ, कुण्ठा, पदको लोभ र गुटबन्दी त्यागेर जानु पर्छ। मसंग भएको समय, उर्जा र श्रोतहरु अरुको भलाइको लागि प्रयोग गर्छु भनेर जाने हो भने समस्या कहिल्यै पनि पैदा हुँदैन। अब मैले यति दिएँ, यो चाहियो भन्ने हो भने त ब्यापार गरेर बसे भैहाल्यो नि। संस्थाहरुले पनि पैसा दिनेहरुलाई “भगवानको अबतार” रुपमा प्रस्तुत गर्नु सहि होइन। अन्य मानिस सरह व्यवहार गर्नु पर्छ। समय दिने, विचार दिने र पैसा दिने सबैलाई समान रुपमा व्यवहार गर्नु पर्छ।
यदि व्यक्ति केन्द्रित नभई समाज र संस्था केन्द्रित हुने प्रण सबैले गर्ने हो भने कुनै संस्थामा पनि पद र प्रतिष्ठाको लडाई हुँदै हुँदैन। संस्थामा रहेका वा संस्था खोल्न तयारी गरेका सबैले “निस्वार्थ अरुको सेवा” लाइ नै मन्त्र मान्ने हो भने बल्ल हाम्रा संस्थाहरुले स्थापनाको उद्देश्य अनुरुपको काम गर्न सक्नेछन। नत्र यी संस्थाहरु केहि मान्छेहरुको “कुण्ठा ब्यबस्थापन” गर्ने साधन मात्र बन्नेछन।