छाडा र विकृत बन्दै तीजका गीतहरु : समाधान के ?

तीज आउन एक महिना बाँकी भए पनि तीजका गीतहरु बजारमा आइसके। पार्टी हलहरु देखि घरघरमा दिदीबहिनीहरुको चहलपहल शुरु भैसक्यो। प्रत्यक्ष गाउने चलन हराएर युट्युबमा राखिएका गीत बजाउने र त्यसैमा नै नाच्ने चलन बढेको छ। कहीं कतै प्रतियोगिताको नाममा प्रत्यक्ष गीत गाइए पनि अहिलेको समग्र गीत बजार युट्युब र सामाजिक संजालहरुले चलेको छ।
तीज एक सांस्कृतिक चाड हो। यसमा पार्वतीले महादेव पति पाउँ भनेर ब्रत बसेर त्यसकै फलस्वरूप महादेव पाएको विश्वास स्वरुप यो चाड मनाउन थालिएको मानिन्छ। बिबाहित महिलाहरुले पनि आफ्ना पतिको चिरायुको कामना गर्दै ब्रत बस्ने चलन छ। यो नेपाल र भारतका बिभिन्न ठाउँहरुमा आफ्नै तरिकाले मनाउने गरिन्छ।
यो चाड खाली नाच्ने र गाउने कुरासंग सम्बन्धित छैन। यसले धर्म, संस्कृति र परम्परालाइ पनि आत्मसात गरेको छ। नेपाली बिबाहित महिलाहरु तीजमा माइत जसरी पनि जाने चलन छ। घरमा भएका पिर व्यथाहरु गीत मार्फत आफ्ना माइतीलाई सुनाउने, आफ्ना पुराना साथीहरुसंग गाउँदै नाच्दै रमाइलो गर्ने परम्परा छ।
यसले माइतीसंगको सम्बन्ध सुमधुर हुने, घरका गुनासा सुनाउने मौका समेत दिन्छ। भेटघाट र नाचगानले एक बर्षको लागि महिलाहरुलाई उर्जा प्राप्त पनि हुने गर्दछ। यसका बहुआयामिक महत्वहरु छन्।


तीजका गीतहरुमा बिकृति


आफ्ना दुखसुख व्यक्त गर्ने गीतहरु युट्युब मार्फत संसारभर फैलिए पछि गीतहरुले लीक छोड्न थालेका छन्। मनोरंजन गर्न फरक शैली अपनाउनु वा परिवेशको परिवर्तन संगै गीतका बिषयबस्तु फेरिनु सामान्य भए पनि यतिबेला तीजका गीतहरुमा छाडा, दुइअर्थि शब्दहरुको ब्यापक प्रयोग हुन थालेको छ। युट्युबमा केहि भ्युज बढाउन, केहि पैसा कमाउन र चर्चित हुन संस्कृति माथि हमला शुरु गरिएको छ। लोकगीत विकृत पारे पछि अहिले यी व्यक्तिहरुको घ्यान तीज र अन्य सांस्कृतिक पर्बहरुमा गाइने गीतहरुमा गएको देखिन्छ।
संसारको कुनै पनि ठाउँमा आफ्नो सांस्कृतिक पर्वहरुको दुरुपयोग गरेर आफ्नो क्षणिक हितको लागि विकृत बनाइदैन। तर नेपालमा भने नाम मात्रको संस्कृति मन्त्रालय र नियामक संस्थाहरुको अकर्मण्यताले तीजका गीत सुन्न नसकिने गरी विकृत पारिएको छ। स्वतन्त्रताको दुरुपयोग गर्दै स्वच्छन्दता फ़ैलाइएको छ। यो कहिले सकिन्छ, कुनै टुंगो छैन।


केहि बर्ष अघि “के हुन्छ होला है बिहेको राती” भन्ने गीतमा पेटिकोट लगाएर नाचेको भिडियो सार्बजनिक भयो। त्यो गीत जति भद्धा भए पनि समाज पचाउन बाध्य भयो। गायिका र नाच्नेहरु पुरस्कृत नै भए। बिक्रि हुन्छ भने जे पनि बेचिन्छ भन्ने उनीहरुको तर्क रह्यो। छाडा, भद्धा र विकृत गीतहरुको शृंखला रोकिएन। तीजको गीतमा भने “पोइल जान पाम” भन्ने गीतबाट कोमल वलीले बिकृतिको शुरुवात गरेकी हुन्।
अघिल्ला बर्षहरुमा पनि दुइअर्थि गीतहरु बनाएर चाडलाइ विकृत बनाउने काम भएकै थियो। तर बर्ष भने यो कर्तुतले सिमा नाघेको छ। धर्म, संस्कार र संस्कृति समाजले गर्ब गर्ने कुराहरु हुन्। तीनलाई कसैलाई पैसा कमाउन, कसैलाई चर्चित हुन दुरुपयोग गर्न पाइन्न। कलाकारले त्यस्ता कुराहरुलाई आफ्नो संस्कारको रुपमा लिएर व्यवहार गर्नु पर्छ।


“बिहे अघि त दिन्न बरिलै” भन्ने सम्मको विकृत गीत बनाइयो र नाम चलेकी गायिकाले गाइन र अर्की उरनठेउलि नाचिन। भद्धा शब्द र अस्लिल प्रस्तुतिले यो गीत गन्हायो। यसले युट्युब र सामाजिक संजाल गन्हाउने बनायो। हाम्रो संस्कृति माथि यसले निर्मम हमला गर्यो। छाडा र विकृत मानसिकताका टिकटक प्रयोगकर्ताहरुलाई यस्ता तीजका गीतहरुले “कन्टेन्ट” उपलब्ध गराए।
तीजका गीत माइतीघरमा माइतीहरूसंगै बसेर गाउने गीत हुन्। तर अहिलेका तीज गीतहरु सुन्न हेड्सेट लाउने पर्ने वा एक्लै ढोका थुनेर सुन्न पर्ने अवस्था छ। तीजका गीत सुन्न र हेर्न अब लाज मान्नु पर्ने अवस्था आएको छ। यस्तै गीतहरुमा छाडा र अस्लिल नृत्य गर्ने होडबाजी चलेको छ। तीजका कार्यक्रम हेर्न जान पनि लाजमर्दो हुन पुगेको छ।


समाधान के होला ?
हरेक कुरामा आचारसंहिता लगाउन सकिन्न। आधारभूत मानबिय कुराहरु हरेक मान्छेले जान्नु पर्छ। कला प्रस्तुत गर्दा समाज, संस्कार र परिवेश थाहा पाउनु पर्छ भन्ने कुरा सामान्य नै हो। यति पनि सिमा थाहा नपाउने मान्छे कलाकार हुन सक्दैन। त्यसमाथि समाजमा बिकृति फैलाउने सामग्री प्रस्तुत गर्नु सभ्य समाजमा सुहाउने कुरा होइन। झन् संस्कृति र संस्कारसंग जोडिएका बिषयहरुमा मनपरी गर्न पाइन्न।
पहिलो समाधान भनेको कलाकार सचेत हुने नै हो। दोश्रो कानुन बमोजिमको कारबाही हो। तेश्रो भनेको आम श्रोता दर्शकहरु नै हुन्। “जे बिक्छ त्यहि बेचिन्छ” भन्नेहरुलाई दर्शकले जवाफ दिनुपर्छ। यी गीत नहेरेर, यस्ता गीत लेख्ने, गाउने र अभिनय गर्नेहरुलाई सबक सिकाउन आबस्यक हुन्छ। जति छाडा गीत गायो, त्यति माग बढ्ने र सम्मान बढ्ने भए पछि उनीहरु यसमा झन् उत्साहित हुन्छन। यस्तालाई तह लगाउने तरिका भनेकै आलोचना गर्ने, सजग गराउने र प्रश्रय नदिने नै हो।


त्यसैले यस्तो उत्ताउला, छाडा, विकृत गीतमा भूमिका खेल्नेहरुलाई समय मै सचेत बनाउन जरुरी छ। यदि यसलाई नरोक्ने हो भने अर्को बर्ष देखि तीजका गीतहरुको मात्र होइन तीज नै बदनाम हुनसक्छ। समयमै चेतना होस्। अस्तु : लेखनाथ गौतम।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?

सेप्टेम्बर १५ मा टेक्सासका चितवनवासीहरुको पिकनिक

छाडा र विकृत बन्दै तीजका गीतहरु : समाधान के ?

डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907