नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?
आगामी नोभेम्बरमा अमेरिकामा रास्ट्रपतिको निर्बाचन हुँदैछ। असी बर्ष कटेका वर्तमान रास्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका ट्रंप गरी दुइ बृद्ध उम्मेदवारहरु अमेरिकी जनतास सामु बिकल्पको रुपमा उभिएका छन्। ६ महिना भित्र कुनै भवितव्य भएन भने यी दुइ मध्ये एकलाइ छान्नै पर्ने बाध्यता अमेरिकी मतदाताहरुलाई छ। करिव ७० प्रतिशत अमेरिकनहरुले नचाहेको बिकल्प हो यो।
तर दुइटामा एउटा रोज्नै पर्ने बिकल्प बाँकी रहंदा भने एकजनालाई रोज्नै पर्ने हुन्छ। दुवै बृद्ध भएकोले यिनीहरुले गरेका काम र प्रतिबद्धता जनाएका कुराहरुकै आधारमा छान्नु सजिलो हुनेछ। दुवै जनाले एक कार्यकाल काम गरिसकेको हुनाले काम गरेको रेकर्ड पनि छंदैछ। बजारी हावा र सामाजिक संजालको अतिरंजनापूर्ण बिषालु प्रतिक्रिया भन्दा तथ्य र डाटाहरु यी दुइ बिचका काम र भविस्यका योजनाहरु बारे फरक छुट्टाउने आधार हुनसक्छ।
मेक्सिको सिमा समस्या :
१९८६ मा रोनाल्ड रेगनले ऐतिहासिक अध्यागमन कानुन पास गरे पछि अमेरिकामा कुनै कानुन पास भएको छैन। करिव ४ दशकको यो अबधिमा उक्त कानुन भुत्ते भैसकेको छ। शरणार्थी सम्बन्धि कानुन पुराना हुँदा नयाँ परिस्थिति अनुसार शरणार्थीहरुको ब्यबस्थापन हुन सकेको छैन। कानुनमा सुधार नगरी सिमा नियन्त्रण हुन सक्दैन। तर सीमालाई राजनीतिक हतियार बनाउन यसलाई कहिल्यै समाधान गरिएको छैन।
बिशेष गरी रिपब्लिकन पार्टीले यसलाई बढी प्रयोग गर्ने गरेको छ। तर उनीहरुले आफु सत्तामा हुँदा कहिल्यै पनि यो समस्या स्थायी रुपमा समाधान गर्न चाहेनन्। सन् २०१६ देखि २०१८ सम्म प्रतिनिधिसभामा रिपब्लिकन पार्टीकै बहुमत थियो भने रास्ट्रपति पनि डोनाल्ड ट्रंप नै थिए। तर उनीहरुले त्यस तर्फ कुनै काम गरेनन। २०१६ को निर्बाचनमा सीमामा पर्खाल लगाउने र त्यो खर्च मेक्सिकोले तिर्ने भन्ने नारा लगाएका ट्रंपले न त पर्खाल निर्माण गरे न त त्यो खर्च मेक्सिकोलाई नै तिराए। भूमिगत ट्रेन्च निर्माण गरेर अमेरिका छिराउने दलालहरुलाई पर्खाल होइन अमेरिकमा दरिलो कानुन चाहिन्छ भन्ने सामान्य ज्ञान छैन भन्न नसकिए पनि यो नारा जीवित राखेर जनता बेबकुफ बनाएर चुनाव जित्ने रणनीति हो भन्नेमा कुनै दुइ मत छैन।
हालै मात्र अमेरिकाको माथिल्लो सदन सिनेटबाट रिपब्लिकन र डेमोक्र्याटहरुले संयुक्त रुपमा एउटा कानुन पास गरेर पास गर्न तल्लो सदनमा पठाए। तर पुर्ब रास्ट्रपति ट्रंपले यो कानुन पास भएमा आफुले एउटा चुनावी नारा गुमाउने भन्दै प्रतिनिधिसभाका सदस्यहरुलाई पास नगर्न दवाव दिए। सभामुख माइक जोन्सनले त्यॊ कानुनलाइ छलफलमा नै नल्याई तुहाइदिए। यो कानुन पास भएको भए सीमामा देखिएका धेरै समस्याहरु समाधान हुने थिए। अमेरिकाको शरणार्थी समस्या र सिमा समस्या हल हुने थियो तर रिपब्लिकन र ट्रंपले यसलाई नाराको रुपमा जीवित राखको लागि यो कानुन पास गरेनन।
अन्तररास्ट्रीय समबन्ध :
अहिलेको गाउँ जस्तो बन्दै गएको बिस्वमा अन्तररास्ट्रीय सम्बन्ध निकै महत्वपूर्ण हुन्छ। विस्वका जल्दा बल्दा समस्याहरुसंग जुध्न त्यसलाई गहिरो गरी बुझेको र हरेक राष्ट्रहरुका आन्तरिक अबस्थाहरुको बारेमा बुझ्न सक्ने नेतृत्व अमेरिकामा हुनुपर्छ। नेटो लगायत थुप्रै अन्तररास्ट्रीय संगठनहरु र बिभिन्न देशहरुसंग अमेरिका मात्र होइन बिस्वकै स्थिरताको लागि काम गर्न सक्ने बुद्धिमान नेतृत्व अहिलेको आबस्यकता हो। बिगत करिव ८० बर्ष देखिको बिस्वको स्थिरताको निरन्तरताको लागि अमेरिकाको सुझबुझ पूर्ण नेतृत्व प्रमुख हुन्छ।
ट्रंपका अभिव्यक्ति सुन्ने र त्यसलाई अलिकति पनि मनन गर्न सक्ने चेतना भएकाको लागि भने उनी यो स्तरको शक्तिको नेतृत्व गर्न सक्षम छैनन् भन्ने बुझ्न कठिन छैन। नेटो बिरोधी उनका अभिव्यक्ति र तानाशाहहरु प्रतिको उनको उदारताले उनी अमेरिकालाई स्वतन्त्र र खुल्ला बिस्वको रक्षकको र्रुपमा होइन तानाशाही बाटोमा लैजान चाहन्छन भन्ने प्रस्ट हुन्छ। देशहरु बीच हुने खटपटमा पनि ट्रंपको चेतनास्तर र प्रतिक्रियात्मक मनोदशा हेर्दा निकै सानो कुरामा पनि अमेरिका द्वन्दमा होमिने खतरा देखिन्छ। यति अस्थिर मनोदशा भएको व्यक्तिको हातमा न्युक्लियर हतियारको बटन हुनु खतरनाक हुनसक्छ।
यस हिसाबले हेर्दा वर्तमान रास्ट्रपति बाइडेन नै सहि पात्र हुनसक्छन। व्यक्तिको हैकमले भन्दा प्रणाली र राज्यका विभिन्न अंगहरुले काम गर्ने भएकोले उनको शान्त कुटनीतिक स्वभाव, अनुभव र बिस्व बुझेको व्यक्तिको रुपमा यस्ता अप्ठेरा अबस्थाहरुमा सहि निर्णय गर्न सक्छन। अफगानिस्तानको २० बर्ष लामी घातक युद्ध समाप्त गरेर उनले वर्तमान रास्ट्रपति जो बाइडेनले अनाहक युद्धहरुमा अमेरिकाको धेरै रगत बग्नबाट जोगाएका छन्। यसले अहिलेको निकै जटिल अन्तररास्ट्रीय परिवेशको लागि उपयुक्त पात्र हुन्।
मौलिक अधिकार र प्रजातन्त्र:
यतिबेला अमेरिका विभिन्न खाले अतिबादबाट गुज्रिरहेको छ। अति दक्षिणपन्थी अतिवादको नेतृत्व स्वयम् डोनाल्ड ट्रंपले गर्छन। आफुले जितेमा एकदिनको लागि तानाशाह हुने चाहना व्यक्त गरेका ट्रंपले आफ्ना बिरोधीहरुलाई जेल हाल्ने कुरा खुल्लमखुल्ला भनिरहेका छन्। अमेरिकी प्रजातन्त्रका खम्बाहरुलाइ डीप स्टेटको संज्ञा दिंदै आएका ट्रंपले ती एजेन्सीहरुलाई भत्काउने घोषणा गरिसकेका छन्। बहुसंख्यक गोराहरु र क्रिस्चियनहरुको आधिपत्य हुनुपर्ने धारणा गर्ने अतिबादी समुहहरुले ट्रंपलाइ समर्थन गरेका छन् भने ट्रंपले उनीहरुको आलोचना गर्दैनन्।
ट्रंपले नियुक्त गरेका सर्बोच्च अदालतका न्यायाधिशहरुले पचास बर्ष पुरानो रो र वेडको नजिर खारेज गर्दै गर्भपतनलाइ स्थानिय राज्यमा सुम्पे पछि गर्भपतनमा अभिभावक भन्दा नेता र सरकारी कर्मचारी हावी हुने अवस्था सिर्जना भएको छ। महिलाको ज्यान जोखिममा पर्दा होस् वा विकलांग बच्चा जन्मिने परिस्थितिमा पनि गर्भपतनलाइ गैर कानुनी बनाउने काम रिपब्लिकनले नेतृत्व गरिरहेका राज्यहरुमा भैरहेको जसमा ट्रंपले आफ्नो कारण भएको भनिरहेका छन्। यसले महिलाको आफ्नो बच्चाको, परिवारको र आफ्नो स्वास्थ्यको नियन्त्रण अरुलाई सुम्पनु पर्ने अवस्था सिर्जना भएको छ। त्यति मात्र नभएर निर्बाचन हार्दा पनि उनले सत्ता हस्तान्तरण गर्न नमानेको नजिर हामीसामु छंदैछ।
यस मामिलामा वर्तमान रास्ट्रपति जो बाइडेन निकै परिपक्क देखिन्छन। मानवाधिकार, अल्पमतको अधिकार बारेमा उनी निकै सकारात्मक छन्। महिलाले आफ्नो शरीरमाथि आफैले नियन्त्रण र नियमन गर्न पाउनु पर्छ भन्ने उनको दृढ विश्वास देखिन्छ। बाइडेनले जित वा हारलाइ सहजै स्वीकार गर्छन र शान्तिपूर्ण सत्ता हस्तान्तरणमा विश्वास गर्छन। प्रजातन्त्रको साँचो बाइडेनलाइ बुझाउन अप्ठेरो मान्नु पर्ने देखिन्न्न।
शालीनता, भद्रता र चरित्र :
अमेरिकाको नेतृत्व गर्ने व्यक्ति आदर्श हुनुपर्छ। उसमा अरु प्रति सहानुभूति र प्रेम हुनपर्छ। उसले आफुसंग असहमत हुनेहरु प्रति पनि मानवीय व्यवहार गर्नुपर्छ। सबै बाबु आमाले आफ्ना छोराछोरी वा सबै आफ्नो छोराछोरीले आफ्ना बाबु आमा अमेरिकाको रास्ट्रपति जस्तै शालीन, भद्र र चरित्रवान बनोस भन्ने उदाहरणीय व्यक्ति हुनुपर्छ। आफ्नो शिरमा सजाउने कुरा पक्कै शुद्ध र पवित्र हुनुपर्छ।
ट्रंपको हकमा यो लागु हुन सक्दैन। उनी चारित्रिक रुपमा भ्रस्ट, आर्थिक रुपमा भ्रस्ट र अभिव्यक्तिमा छुद्र छन्। साना कुराहरुमा प्रतिक्रिया दिइहाल्ने र निकै तल्लो स्तरको भाषा प्रयोग गर्ने ट्रंप कुनै बालबालिकाहरुका लागि आदर्श व्यक्ति बन्न लायक छैनन्। अरु प्रति सहानुभूतिको कुनै भावना उनीमा पाइन्न। पैसा हुनेले जे गरे पनि जायज हुन्छ भन्ने ट्रंप ९१ वटा विभिन्न आपराधिक मुद्धाहरु खेपिरहेका छन्। आफ्नी श्रीमती सुत्केरी भएको बेलामा पोर्न स्टारसंग सम्बन्ध राखेको र त्यसलाई लुकाउन प्रपन्च गरेको आरोपमा उनी बिरुद्ध लागेको मुद्धाको सुनुवाई अहिले न्यु योर्कमा भैरहेको छ।
तर वर्तमान रास्ट्रपति जो बाइडेन यसमा पनि उपयुक्त पात्र हुन्। युद्धमा आफ्नो छोरा गुमाएका बाइडेन दुख र सुख दुवै संग परिचित छन्। हुनेखानेको भन्दा भए खानेको पक्षमा उनी बढी गम्भीर छन्। गरिव र निमुखाहरुको पक्षमा उनले संधै आवाज उठाउँछन्। स्वास्थ्य बिमा सबैले सजिलो र सर्वसुलभ रुपमा पाउनु पर्छ र अमेरिका जस्तो देशमा उपचार नपाएर वा खान नपाएर मान्छे मर्न हुन्न भन्ने उनको भावना देखिन्छ। कर गरिव र मध्यमबर्गलाइ होइन धनीहरुलाई बढी लगाउनु पर्छ भन्ने बाइडेनको चाहना देखिन्छ। आप्रबासीहरुकै कारण अमेरिका बनेको र उनीहरुलाई सम्मान गर्नु पर्छ भन्ने बाइडेनको भनाइ छ। तर ट्रंपले आप्रबासीहरुलाई अमेरिकाको रगत बिष बनाएको र अमेरिकालाई अपराधीकरण गरेको आरोप लगाउने गरेका छन्।
यी र यस्ता धेरै कुराहरु छन् जसले आगामी निर्बाचनमा उम्मेदवार रोज्ने सजिलो आधार हुनेछ। बजारी हल्ला र आबेगमा कसैले पनि मतदान गर्नु आफ्नै खुट्टामा बन्चरो हाल्नु सरह हुनेछ। अमेरिका कसरी बन्यो र यो कसरी सम्बृद्ध बन्यो भन्ने इतिहास नहेरी “अमेरिका फस्ट” भन्ने नाराको भ्रममा परी मतदान गर्ने हो भने अमेरिका तानाशाही दिशामा झन् अघि बढ्ने र अन्तत यसले अमेरिका मात्र होइन बिस्वको अहिलेको सन्तुलन समेत भताभुङ्ग हुने अवस्था सिर्जना हुनेछ। त्यो गंजागोलमा को कहाँ पुग्छ भन्ने कुनै ग्यारेन्टी हुन्दैन।
त्यसैले आगामी नोभेम्बरको निर्बाचन निकै महत्वपूर्ण छ। यसमा बिबेक प्रयोग भयो भने मात्र अमेरिका र बिस्वकै आगामी यात्रा सहज हुनेछ। तर यसमा आवेग र हल्लाको पछि लागेर गलत ठाउंमा मतदान गरियो भने यहि भन्नु पर्ने हुन्छ,” भिर बाट लडेको गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न्न।
विचार विश्लेषण : लेखनाथ गौतम