ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग
डालस, टेक्सास। पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपका चिफ अफ स्टाफ मार्क मेडोज र निजी वकिल रुडी जुलियानीमाथि एरिजोना राज्यमा २०२० को रास्ट्रपति चुनावमा नक्कली एलेक्टोर खडा गरी निर्बाचन उल्टाउन लागेको अभियोग लगाइएको छ। एरिजोना राज्यका कानुन मन्त्री (एटोर्नि जेनेरल) क्रिस मायसले बुधबार ११ जना नक्कली एलेक्टोर र त्यो जालसाँझीमा संलग्न अन्य थुप्रै व्यक्तिहरु माथि अभियोग लगाइएको जनाएका छन्। तर सबै व्यक्तिहरुको नाम भने सार्बजनिक गरिएको छैन।
“एरिजोना राज्यका सामान्य जनताहरुको ग्राण्ड जुरीले ती ११ जना नक्कली एलेक्टोर र अन्य त्यससंग सम्बन्धित व्यक्तिहरुलाई दोषी ठहराउदै आपराधिक अभियोगपत्र हस्तान्तरण गरेको छ” क्रिस मायसले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। तर यो आपराधिक कामको केन्द्रबिन्दुमा रहेका तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपलाइ भने ५८ पेज लामो अभियोजनपत्रमा “सह-षड्यन्त्रकारी १’ भनेर उल्लेख गरिए पनि अभियोग भने लगाइएको छैन।
अभियोगपत्रमा ट्रंप र उनका सहयोगीहरुले एरिजोनको जनताहरुलाई ढोका दिएको र जो बाइडेनको जितलाई उल्टाउन बिभिन्न प्रपन्च गरेको आरोप लगाइएको छ। मेडोज र जुलियानी संगै ट्रंप क्यापेनकी वकिल जेन्ना एलिस र अर्का वकिल जोन इस्ट्मेन बिरुद्ध पनि अभियोग लगाइएको छ।
स्मरण रहोस २०२० मा करिव ८ मिलियन भोटले भाइडेनसंग पराजित भए पनि ट्रंपले आफु जितेको र चुनाव आफूबाट चोरिएको भन्दै बिभिन्न राज्यमा निर्बाचन उल्टाउने प्रपन्च गरेका थिए। यहि खालको मुद्धा जर्जिया राज्यमा चल्दै छ भने कानुन मन्त्रालयबाट समेत चुनाव उल्टाउन खोजेको भन्दै ट्रंप बिरुद्ध मुद्धा दायर भै विचाराधीन अबस्थामा रहेको छ।