उधौली पर्वको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि
नेपाल सानो देश र थोरै जनसंख्या भए पनि सास्कृतिक हिसाबले निकै धनी छ। यति सानो क्षेत्रफ़लमा सयौं जाती र भाषा हुनु असामान्य कुरा हो। यिनका फरक फरक दर्शन, संस्कृति, मान्यता र परम्पराहरु रहेका छन्। यति धेरै जातिहरु पनि एकअर्कामा नङ र मासु झैं मिलेर बस्नु अर्को असामान्य कुरा हो। नेपालको पुर्बी पहाडी इलाका, भारतको दार्जिलिङ्ग र सिक्किममा बस्ने किरांतहरु नेपालमा बसोबास गर्ने दर्जनौं जनजातिहरु मध्ये सांस्कृतिक रुपमा निकै सम्बृद्ध जाति हो। किरांत जाति सभ्यता र सांस्कृति हिसाबले निकै सम्पन्न मानिन्छ।
किरांतहरुको धार्मिक ग्रन्थलाई मुन्धुम भनिन्छ। किरांतहरु प्रकृति पुजक हुन् र मुन्धुम किरांतहरुको जीवनको शुत्र हो। आफ्नो जीवन कसरी चलाउने, कस्ता रिति रिवाजहरु मान्ने, कुन देवता पुज्ने, के भेषभुषा लगाउने जस्ता कुराहरुको वृतान्त मुन्धुममा शुत्रबद्ध गरिएको छ। हिन्दुहरुले बेदलाई जसरी ग्रहण गर्छन त्यसरी नै किरांतहरुले मुन्धुमलाइ मान्ने गर्छन। पहाडी क्षेत्रमा बसोबास गर्ने हुनाले उनीहरुका हरेक चाडबाड र संस्कारहरु प्रकृतिको नजिक रहेका पाइन्छन। मौसमको तापक्रम माथि लाग्दा उभौली र तल झर्दा उधौली पर्व मनाउने चलन किरांतहरुमा पाइन्छ।
जाडो बढ्ने भएकोले मङ्सिर महिनामा उधौली पर्व मनाउने गरिन्छ। मङ्सिर महिनाको पुर्णिमाको दिन यो पर्व मनाउने परम्परा किरांतहरुमा छ। अन्नपात भित्राए पछि जाडो शुरु भए पछि मनाइने यो उधौली पर्व प्रकृतिलाई धन्यवाद दिनको लागि मनाउने गरिन्छ। जाडो हुँदा चिसो छल्न बेशी झर्ने हुनाले उधौली र गर्मि चढे पछि खेतीपाती र घरपालुवा जनावर पालनको लागि लेकतिर लाग्ने हुनाले उभौली भनिएको पाइन्छ।
यो पर्वको बारेमा बिभिन्न किम्बदन्तीहरु पाइन्छ। स्वर्गमा बस्ने परुहांग(भगवान) ले एकपटक सुम्निमालाइ देख्छन। किरांत सुन्दरी सुम्निमालाई देखेर उनी प्रभावित हुन्छन। त्यसपछि उनीहरुको बिहे हुन्छ। बिहे पछि ४ वटा बच्चा जन्माएर परुहांग बेपत्ता हुन्छन। सुम्निमाले उनकै यादमा आफ्ना छोराछोरी हुर्काएर बस्छिन। एकदिन जंगलमा सुम्निमाले एउटा घिस्रिने बनस्पति फेला पार्छिन र त्यसलाई चाखे पछि त्यसमा मान्छेलाई शक्ति र खुशी दिनुको साथै साँचो बोल्न प्रेरित गर्ने शक्ति रहेको थाह पाइन्। उनले त्यसको बुटी बनाएर सबैलाई लगाउन दिइन। त्यसपछि पारुहांग पनि घर फर्के। सुम्निमाले पारुहांगलाइ पनि बुटी लगाइदिइन। पारुहांगले त्यत्रो लामो समय सगरमाथामा गएर तपस्या गरेको र ब्रह्माण्ड भ्रमण गरेको बताउछन। त्यसपछि पारुहांग सुम्निमासंगै बस्ने बाचा गरे पछि सुम्निमा खुशीले नाच्न थाल्छिन। त्यसै दिन देखि उधौली र उभौली पर्वमा नाच गर्ने चलन छ जसलाई साकेला नृत्य भनिन्छ।
यसको शुरुवातमा चुलो पुजा गरिन्छ। किराँती धर्मगुरुबाट चुलो पुजा सम्पन्न भए पछि कुनै पवित्र रुखमुनी बनाइएको “साकेला थान” माथि कुखुराको बलि दिइन्छ। त्यसपछि यी सबै प्रक्रिया समापन भएको जनाउन किराँती धर्मगुरु नाच्ने चलन छ र त्यसपछि नाच शुरु हुन्छ।
त्यसपछि एउटा घुमाउरो वृत्तमा यो नाच गरिन्छ। आफ्ना बाजागाजा, सांस्कृतिक पहिरन, गरगहनामा सजिएका किरांतहरु निकै रमाएर नाच्ने गर्छन। साना देखि ठुला सम्म, बाजे देखि नातिनातिनासम्म संगै नाचेर किराँतहरुले यो पर्वलाई धुमधामले मनाउने गर्छन। हिन्दुहरुका अनुसार पारुहांग अरु कोहि नभएर भगवान महादेव थिए भन्ने विश्वास गरिन्छ। यहि दिनलाई हिन्दुहरुले पनि कुलपूजा गर्ने दिनको रुपमा मनाउने गरिएको पाइन्छ।